४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

शंकाको घेरामा सात खेलाडी

 केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रारम्भिक अनुसन्धानले काठमाडौमा जारी नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको र कमर्सियल अधिकार प्राप्त गरेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको भूमिका नै शंकास्पद रहेको देखाएको छ।

आइसिसीको एन्टी करप्सन युनिट (एसियु) का अधिकारीले बुझाएको रिपोर्ट र आशंका गरिएका केही घटनाका बारेमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव प्रशान्तविक्रम मल्लले शुक्रबार लिखित रूपमै सिआइबीमा जानकारी गराएका थिए। ‘प्रतियोगिता सुरु हुनुभन्दा एक साताअघि नै एसियु र सिआइबीले काम गिरहेका थिए,’ मल्लले भने, ‘खेल सञ्चालन हुँदा केही खेलाडीले शंकास्पद घटनाका बारेमा जानकारी गराएका थिए। सोही जानकारीलाई हामीले सिआइबीमा लिखित रूपमै बुझाएका हांै।’  

आइतबार सिआइबीले प्रारस्भिक अनुसन्धानमा केही खेलाडी स्पट फिक्सिङमा संलंग्न भएको उल्लेख गरेको हो। विश्वका चर्चित क्रिकेटर सहभागी हुने दुबईमा सम्पन्न छैटौं संस्करणको टी टेन लिगमा पनि फिक्सिङ आरोप लागिरहेको बेला नेपालमा पनि प्रारम्भिक अनुसन्धानले फिक्सिङको शंका गरेपछि व्यावसायिक फ्रेन्चाइज क्रिकेट दिन प्रतिदिन बदनाम बन्दै गएको छ। गत डिसेम्बर ४ मा सम्पन्न टी–१० लिगमा भ्रष्टाचारबारे आइसिसीको इन्टी करप्सन युनिटले छानबिन पनि गरिरहेको छ।  

उक्त लिगमा सहभागी आठ टोलीको नै प्रायोजक बेटिङ कम्पनी रहेको आरोप लागिरहेको छ। नेपालमा पनि यसअघि सिआइबीले गत महिना कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाल र युएईबीचको शृंखलामा ५० भन्दा बढी भारतीय नागरिकलाई बेटिङको आरोपमा पक्राउ गरेको थियो। जुन घटना जारी फ्रेन्चाइज लिगमा पनि दोहोरियो। पुस ९ गतेबाट सुरु भएको लिगमा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई स्पट फिक्सिङको प्रस्ताव आएको पत्रकार सम्मेलनमा नै सार्वजनिक गरेका थिए।  

लिगमा स्पट फिक्सिङ भएको आशंका गरिएको छ भन्ने पत्रकारको प्रश्नमा उनले आफ्ना एक खेलाडीलाई प्रस्ताव आएको र त्यसबारे क्यान तथा एसियुलाई जनकारी गराइसकेको बताएका थिए। गत मंगलबार नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङका बारेमा अनुसन्धान गर्न सिआइबीलाई निर्देशन दिएका थिए। त्यसयता सिआइबीले शंकाको घेरामा रहेका नेपाली तथा विदेशी खेलाडीका साथै क्यानका केही पदाधिकारीसँग बयान लिएको थियो।  

‘हामीले शंकाको घेरामा रहेका केही नेपाली र विदेशी खेलाडीसँग बयान लिएका थियौं,’ सिआइबीका प्रमुख डिआइजी उत्तम सुवेदीले भने, ‘हाम्रो प्रारम्भिक अनुसन्धानले तीन नेपाली र चार विदेशी खेलाडी स्पट फिक्सिङमा संलग्न रहेको देखाएको छ। कमर्सियल अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको भूमिका पनि शंकास्पद देखिएको छ। खेलाडीलाई फिक्सिङका लागि मोटो रकमको प्रस्ताव गरिएको पनि अनुसन्धानमा देखिएको छ। हामी अहिले पनि अनुसन्धानको प्रक्रियामै छौं।’

खेलाडीको पारिश्रमिक तथा स्पट फिक्सिङका बारेमा अनुसन्धान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बोर्ड सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। स्पट फिक्सिङको आरोप लागे लगत्तै आइसिसीको दुई सदस्यीय छानबिन टोली पनि गत बिहीबार काठमाडांै आइपुगेको थियो। टोलीले बिहीबार नै राखेपका सदस्यसचिव टंकलाल घिसिङसँग भेटघाट गर्दै अनुसन्धानमा सहयोग गर्न तयार रहेको जनाएको थियो।

प्रकाशित: २५ पुस २०७९ ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App