२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रोनाल्डोको व्यावसायिक करियर साउदीमा

विश्व चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डो शुक्रबार साउदी अरेबियाको प्रो लिग क्लब अल नासरमा अनुबन्धित भएका छन्।

३७ वर्षे पोर्चुगिच स्ट्राइकर रोनाल्डो सन् २०२५ जुनसम्म अल नासरमै रहनेछन्। कतार विश्वकप २०२२ अघि नेदरल्यान्ड्सको एक टेलिभिजनलाई दिएको अन्तर्वार्ताका कारण विवादमा तानिएपछि रोनाल्डो र म्यानचेस्टर युनाइटेड दुवै पक्ष सम्झौता रद्द गर्न सहमत भएका थिए। रोनाल्डो दुई सिजनअघि ओल्ड ट्राफोर्डमा फर्किएका थिए। रोनाल्डोले ओल्ड ट्राफोर्डमा आफ्नो बसाइँप्रति प्रशिक्षक इरिक टेन हाग र अन्य पदाधिकारी खुसी नभएको र उनीहरूले आफूलाई सम्मान पनि नगरेको लगायत आरोप लगाएका थिए।

युनाइटेडले सम्झौता रद्द गरेसँगै उनी कतार विश्वकप २०२२ को दौरान क्लबविहीन हुन पुगे। रोनाल्डोका एजेन्टले विश्वकपकै दौरान अल नासरका पदाधिकारीलाई भेटेको र विश्वकप पछि सम्झौता गर्ने खबर सार्वजनिक भइरहेको थियो। तर, रोनाल्डोले भने त्यसको खण्डन गर्दै आएका थिए। ‘म नयाँ देशमा नयाँ लिगको अनुभव लिन आतुर छु, ’रोनाल्डोले भने, ‘म सधैं युवा खेलाडीबाट प्रेरित हुने गर्दछु।

यहाँ पनि युवा खेलाडी नै मेरो प्रेरणाका स्रोत हुनेछन्। टोलीको सफलताको लक्ष्यलाई सार्थकता प्रदान गर्न म सक्छु भन्नेमा आशावादी छु।’ अल नासरले ट्विट गर्दै रोनाल्डोसँग सम्झौता भएको पुष्टी गरेको छ।

अल नासर नौ पटक साउदी अरेबियन लिग विजेता हो। अल नासरले पछिल्लो पटक सन् २०१९ मा साउदी प्रो लिगको उपाधि जितेको थियो। ‘यो विशेष उपलब्धि हो। आज इतिहास रचिएको छ। यसले हाम्रो क्लबको मात्र मनोबल बढेको छैन। यसले सारा लिगकै मनोबल बढाएको छ। अझ भनौं साउदी अरेबिया नै रोनाल्डोको आगमनको खबरले उत्साही छ। आशा छ, उनको आगमन यहाँका युवा खेलाडीका लागि ठूलो प्रेरणा बन्नेछ। तिमीलाई घरमा स्वागत छ, क्रिस्टियानो रोनाल्डो,’अल नासरले ट्विट गरेको छ। विश्वकप दौरान दक्षिण कोरियाविरुद्धको खेलमा मैदान बाहिर निकालिएको भन्दै रोनाल्डो आक्रोसित बनेका थिए।

त्यसको नतिजा स्वरूप पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले स्विट्जरल्यान्डविरुद्धको अन्तिम १६ र मोरक्कोविरुद्धको क्वार्टरफाइनलको खेलमा रोनाल्डोलाई पहिलो रोजाइमा राखेका थिएनन्। पोर्चुगल क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित भएको थियो। त्यससँगै रोनाल्डोको पनि विश्वकप जित्ने सपना अधुरै रह्यो। रोनाल्डो विश्वकपको पाँच संस्करणमा गोल गर्ने एक मात्र खेलाडी हुन्। 

प्रकाशित: १७ पुस २०७९ ००:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App