१९ औं माछापुच्छ्रे बैंक राष्ट्रिय खुल्ला तथा भेट्रान्स टेनिसको सेमिफाईनल समीकरण पुरा भएको छ। नेपालका शीर्ष बरियताका खेलाडी प्रदीप खड्काको जितसँगै सेमिफाईनल समीकरण पुरा भएको हो।
पोखरा रंगशाला टेनिस एरिनामा भएको प्रतिस्पर्धामा खड्काले पोखराकै सौगात विकलाई सोझो सेटमा पराजित गर्दै अन्तिमचारमा प्रवेश गरेका हुन्।
खड्काले सौगातलाई पहिलो सेटमो जित निकाल्न निकै कठिनाई व्यहोरे। पहिलो सेट ७–५ को स्थितिमा लिएका खड्कालाई सौगातले निकै चुनौति दिए। तर दोस्रो सेट भने सहजै खड्काले आफनो पक्षमा पारे। उनले दोस्रो सेट ६–३ ले लिएको प्रतियोगिताका निर्देशक राजन पौडेलले जनाए। खड्काले अब फाईनल प्रवेशको लागि बुटवलका ऋतिक रानासँग प्रतिस्पर्धा गर्ने छन्। अर्को सेमिफाईनल खेल अकिजुवेन रावत र प्रणव खनाल बीच हुने छ।
त्यसैगरी महिला तर्फको सेमिफाईनल प्रतिस्पर्धामा अभिलाषा विष्टले सोनिरा थापासँग प्रतिस्पर्धा गर्दा सर्वानी श्रेष्ठले प्रकृति श्रेष्ठसँग खेल्ने छन्। कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगितामा पुरुष एकल तथा महिला एकल तर्फका विजेताले नगद ८० हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यसैगरी उपविजेताले समान ४०/४० हजार रुपैयाँ प्राप्त गर्ने छन्। एकल तर्फ दुई सेमिफाईनलिष्ट महिला तथा पुरुषले १०÷१० हजार प्राप्त गर्ने छ।
प्रकाशित: १४ पुस २०७९ ०६:४३ बिहीबार