२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकपको सफलताले सम्बन्ध सुधार हुने अपेक्षा

कतार विश्वकप २०२२ मा गरेको उत्कृष्ट प्रदर्शनपछि मोरक्कोले अरबका अन्य राष्ट्रसँगको कूटनीतिक सम्बन्धमा सुधार आउने अपेक्षा गरेको छ।

सन् २०२० मा इजरायलसँग पुनः सम्बन्ध विस्तार गरेको भन्दै अरबका अन्य राष्ट्र मोरक्कोबाट टाढिएका थिए। विजेता बन्दै समूहचरण पार गरेको मोरोक्कोले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। जहाँ मोरक्कोले फ्रान्सलाई नतिजा सुम्पिएको थियो। यससँगै मोरक्को विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गर्ने पहिलो अरब र अफ्रिकी मुलुक बनेको थियो। यसअघि सेनेगल, क्यामरुन र घानाले पनि क्वार्टरफाइनलसम्मको यात्रा तय गरे पनि त्योभन्दा अघि बढ्न सकेनन्। मोरक्कोको सबैभन्दा बढी समर्थनमा प्यालेस्टाइन उत्रिएको थियो। मोरक्कोको हरेक खेलमा प्यालेस्टाइनका समर्थक राष्ट्रिय झन्डासहित स्टेडियममा उपस्थित भएका थिए।  

जसले इजरायलसँग नजिक भएपछि मोरक्कोसँग सम्बन्ध बिग्रिएको प्यालेस्टाइनसँगको कूटनीतिक सम्बन्ध फुटबलको माध्यमबाट सुधार हुने संकेत मिलेको थियो। त्यस्तै अल्जेरिया पनि मोरक्कोको समर्थनमा देखिएको थियो। अल्जेरिया पनि मोरक्को इजरायलसँग नजिकिएपछि आक्रोशित बनेको थियो। दुई वर्षअघि मात्र इजरायलसँग सम्बन्ध विस्तार गरेपछि अरबका अन्य मुलुक मोरक्कोसँग कूटनीतिक रूपमा अलग भएका थिए। यद्यपि अन्तर्राष्ट्रिय सम्बन्धका जनकार ताजेडिने हुसैनी भने फुटबलको माध्यमबाट सम्बन्ध सुधारको संकेत मिले पनि त्यो दिगो नभएको बताउँछन्। ‘मोरक्कोले कतार विश्वकपमा हात पारेको सफलतामा अरबका अन्य मुलुकले पनि खुसीयाली मनाएका थिए। विशेष गरि प्यालेस्टाइनले,’उनले भने, ‘तर यो कूटनीतिक सम्बन्ध विस्तारको दिगो संकेत भने होइन।’  

‘मोरक्कोले आफ्नो सफलतासँगै अरब र अफ्रिकाका मुलुक पनि शीर्ष राष्ट्रसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने उदाहरण दिएको छ,’ खेलकुद–राजनीतिका विश्लेषक मोन्सेफ एल याङझीले भने, ‘जसले फुटबलको माध्यमबाटै मोरक्कोले अरबका अन्य मुलुकका फुटबल संघसँग सम्बन्ध विस्तारको प्रस्ताव अघि सारेको छ। त्यो सकारात्मक पहल हो।’त्यस्तै मोरक्कोको कतार यात्राको सफलतामा दक्षिण अफ्रिका र ट्युनिसिया पनि मिसिएका थिए। अल्जेरियाका समर्थकहरू मोरक्कोको समर्थनमा देखिए पनि त्यहाँको सरकारी टेलिभिजनले भने कतार विश्वकप २०२२ का अन्य खेलको समाचार प्रसारण गरे पनि मोरक्कोको खेल भने बहिष्कार गरेको थियो।  

फ्रान्सका इतिहासकार पियरी भेमेरेन मोरक्कोले कतारमा निकालेको अप्रत्याशित सफलताले सबैको ध्यान आकर्षित गरेको बताए। ‘यो अल्जेरियामाथि मोरक्कोको सांकेतिक जित हो। तर कूटनीतिक असहमति भने जारी छ,’ उनले भने, ‘मोरक्कोले दशकौं विश्वका शीर्ष राष्ट्रिविरुद्ध खेल्ने सपना देखेको थियो। जुन कतारमा पूरा भयो र मोरक्कोले बेल्जियम, स्पेन र पोर्चुगलजस्तो राष्ट्रलाई हराउन सफल भयो।’ मोरक्कोको सबैभन्दा ठूलो आर्थिक स्रोत भनेको पर्यटन व्यवसाय हो। जुन कोभिड १९ महामारीका कारण धराशयी बनेको थियो। विश्वकप सफलतापछि अरबका राष्ट्रसँग सम्बन्ध विस्तार हुँदा त्यसले पर्यटन व्यवसायमा सुधार आउने आशा गरेको छ।

प्रकाशित: १० पुस २०७९ ०२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App