१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

हतारमा छैनन् डेसच्याम्प्स

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले आफ्नो यात्रालाई निरन्तरता दिने वा नदिनेबारे हतारमा निर्णय नलिने बताएका छन्। उनले किलियन एम्बाप्पेको नेतृत्वमा रहेको फ्रान्सको युवा खेलाडीमा अझ विश्व फुटबलमा राज गर्ने क्षमता भएको पनि बताए। अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएसँगै फ्रान्स विश्वकपको उपाधि रक्षाको लक्ष्यबाट चुकेको थियो। यससँगै १९३० को दशकमा भिक्टोरिया पोजोपछि दुई पटक विश्वकपको उपाधि जिताउने प्रशिक्षकको कीर्तिमानबाट समेत डेसच्याम्प्स चुकेका थिए।

सन् २०१२ मा उनी फ्रान्सको प्रशिक्षकमा नियुक्त भएका थिए। कतार विश्वकपसँगै उनी र फ्रान्स फुटबल संघबीचको सम्झौता अन्त्य भएको छ। फ्रान्स फुटबल संघका अध्यक्ष नियोल ला ग्राइटले यसअघि नै डेसच्याम्प्सलाई नयाँ सम्झौताका लागि प्रस्ताव गरिने बताइसकेका छन्। सेमिफाइनलसम्मको यात्रा तय गरे पनि उनको सम्झौता थप्ने संघको तयारी थियो। फाइनलमा प्रवेश गरेकाले संघले उनीसामु छिट्टै नयाँ सम्झौता प्रस्ताव अघि सार्ने तयारी गरेको छ।

‘आज जितेको भए पनि म मेरो आगामी यात्राको बारेमा मौन नै बस्थें होला,’ उनले भने, ‘हार वा जितले मेरो निर्णय प्रभावित हुँदैन।आज हामी इतिहास रच्नबाट चुक्यौं। त्यसमा म दुखी छु। म जनवरी पहिलो साता अध्यक्षसँग भेट्छु। त्यसपछि मात्र म आगामी यात्राको बारेमा आफ्नो निर्णय सार्वजनिक गर्नेछु।’

मार्चमा नेदरल्यान्ड्सविरुद्धको खेलसँगै फ्रान्सले युरो कप २०२४ को छनोट चरणको यात्रा सुरु गर्नेछ। जर्मनीमा युरो कप सुरु हुन १८ महिना बाँकी रहँदा फ्रान्सले बिनाकठिनाइ छनोट चरण पार गर्ने अनुमान गरिएको छ। डेसच्याम्प्सको प्रशिक्षणमा फ्रान्सले युरो कप २०१६ को फाइनलसम्मको यात्रा तय गरेको थियो भने रूस विश्वकपको उपाधि जितेको थियो। २०१६ को युरो कपको फाइनलमा फ्रान्स पोर्चुगलसँग निराश भएको थियो। फ्रान्सले गत वर्ष युइएफए नेसन्स लिगसमेत जितेको थियो।

मिडफिल्डर पाउल पोग्बा र एनगोलो कान्टेसँगै स्ट्राइकर करिम बेन्जेमाको अनुपस्थितिले फ्रान्सको टोलीले विश्वकप उपाधि रक्षाको यात्रा कहाँसम्म लैजान्छ भन्ने चासो बनेको थियो।

उनीहरूको अनुपस्थितिमा एम्बाप्पेसँगै ओरेलिन चुवामेनी, थियो हर्नान्डेज, ज्युल्स कोन्डे र इब्राहिमा कोनाटेले आफ्नो क्षमता प्रमाणित गर्दै फ्रान्सलाई फाइनलसम्म डोर्‍याएको थिए।

‘युवा खेलाडीले आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्, जसको नेतृत्व एम्बाप्पेले गरेका छन्,’ उनले भने। 

प्रकाशित: ५ पुस २०७९ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App