९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

उपाधि रक्षाबाट दुई कदम टाढा

ओलिभर जिरौडले विश्वकप फुटबलमा शनिबार इङ्ल्यान्डविरुद्ध विजयी गोल गरेपछि फ्रान्स कतारमा जारी प्रतियोगिताको उपाधि रक्षा गर्न मात्र दुई खेल टाढा छ।

कतार विश्वकप २०२२ को सेमिफाइनलमा स्थान बनाउने क्रममा फ्रान्सले शनिबार इङ्ल्यान्डलाई २–१ ले स्तब्ध बनायो। ६० वर्षपछि विश्वकप उपाधिरक्षा गर्ने टोली बन्न फ्रान्सले दुई खेल जित्नुपर्नेछ। अन्तिम चारमा स्थान बनाउने क्रममा जिरौडले जारी विश्वकपमा चौथो गोल गरे। करिम बेन्जिमा चोटग्रस्त हुँदा विश्वकप गुमाएपछि अवसर पाएका जिरौडले अल वायत रंगशालामा टोलीका लागि ७८औं मिनेटमा दोस्रो गोल गर्न सफल भए।

दोहास्थित अल बायात रंगशालामा औरेलियन टिचुआमेनीको गोलमा साबिक विजेता फ्रान्सले १८औं मिनेटमा अग्रता लिएको थियो। जसमा जिरौडले समय सकिन १२ मिनेट बाँकी रहँदा कीर्तिमानी गोल गरेपछि फ्रान्स लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो। फ्रान्सका लागि विजयी गोल गरेका जिरौडले कतार विश्वकप २०२२ मा इङ्ल्यान्डविरुद्ध क्वार्टरफाइनलमा निकालेको जितलाई २०१८ को रूस विश्वकपको सेमिफाइनलमा बेल्जियममाथि निकालेको जितसँग तुलना गरे।

‘इङ्ल्यान्डविरुद्धको खेलले हामीले चार वर्षअघि विश्वकप सेमिफाइनलमा बेल्जियममाथि निकालेको जितको याद दिलाएको छ। बेल्जियमसँगको खेलमा हामीले निकै मिहिनेत गर्नुपरेको थियो। उक्त खेलमा बेल्जियम निकै आक्रामक थियो। हामीले भने काउन्टर अट्याकको रणनीति लिएका थियौं। सोही रणनीतिमा हामी सफल पनि भएका थियौं,’ जिरौडले भने, ‘आज इङ्ल्यान्डले पनि आक्रामक खेल्यो।

यद्यपि हामीले निकालेको सुुरुआती अग्रता अन्त्यसम्म कायम राख्न सफल भयौं। केनले पेनाल्टीको अवसर खेर फाल्दा हामी आज भाग्यमानी ठहरियौं। हामी २०१८ मा जुन मानसिकताका साथ मैदान उत्रिएका थियौं, अहिले पनि त्यही कायम छ। २०१८ मा हाम्रो लक्ष्य उपाधि जित्ने थियो भने यस पटक उपाधि रक्षा गर्ने रहेको छ।’

राष्ट्रिय टोलीका ५३ गोल गरेका जिरौड फ्रान्सका सर्वकालीन गोलकर्ता पनि बनेका छन्। यसअघि उनले यसै विश्वकपमा थिएरी हेनरीको कीर्तिमानलाई तोडेका हुन्। फ्रान्सलाई नतिजा सुम्पिने क्रममा कप्तान ह्यारी केनले अन्तिम समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन्। सोहीअवसर गुम्दा इङ्ल्यान्ड फेरि एक पटक विश्वकपको क्वार्टरफाइनलमा अभागी साबित भयो। फ्रान्सका थियो हर्नान्डेजले मैदानको मध्यभागबाट दिएको बल पछ्याइरहेको समयमा मेसन माउन्टलाई लडाएपछि भिडियो सहायक रेफ्री (भिएआर) मार्फत प्राप्त पेनाल्टीमा केन चुकेका हुन्। उनको प्रहार पोस्टभन्दा निकै माथिबाट बाहिरिएको थियो।

यसअघि ५४औं मिनेटमा केनले पेनाल्टीबाटै गोल गरेर खेल बराबरीको अवस्थामा ल्याएका थिए। बुकायो साकालाई औरेलियन टिचुआमेनीले लडाए बापत प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै केनले इङ्ल्यान्डको लगातार दोस्रो विश्वकपमा सेमिफाइनल पुग्ने आशा जीवित राखेका थिए। त्यही गोलसँगै केन इङ्ल्यान्डका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमानमा पूर्वकप्तान वायन रुनीसँग ५३ गोलका साथ बराबरी गर्न सफल भएका छन्।

यस पराजयसँगै अन्तिम आठबाट बाहिरिएको इङ्ल्यान्ड टोलीका प्रशिक्षक ग्यारेथ साउथगेटले प्रशिक्षण अवधिलाई निरन्तरता दिने वा नदिनेबारे तत्काल निर्णय नलिने बताएका छन्। रूस विश्वकप २०१८ को सेमिफाइनल र २०२० को युरोपियन च्याम्पियनसिपमा फाइनलसम्मको यात्रा तय गरेको इङ्ल्यान्ड कतार विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरिएपछि प्रशिक्षण अवधिको विषयमा सोचेर मात्र निर्णय लिने उनले बताएका हुन्। ‘कतार विश्वकपमा इङ्ल्यान्डको प्रदर्शनलाई लिएर म सन्तुष्ट छु। यद्यपि हामी क्वार्टरफाइनलबाट बाहिरियौं। यसको पीडा महसुस भइरकेको छ,’ साउथगेटले भने, ‘मेरो सम्झौता बाँकी नै छ। अहिले नै सम्झौता कायम राख्ने वा अन्त्य गर्ने भन्ने हतारको निर्णय लिने पक्षमा छैन। केही समयपछि मात्र म यसबाट औपचारिक धारणा सार्वजनिक गर्नेछु।’

साउथगेटको सम्झौता २०२४ को युरोपियन च्याम्पियनसिपसम्म कायम छ। अब रोमाञ्चक जितका अन्तिम चारमा प्रवेश गरेको फ्रान्सले फाइनल प्रवेशका मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। मोरक्कोले शनिबारै भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगललाई १-० ले हराएर अन्तिम चारमा प्रवेश गरेको हो। मोरक्को विश्वकप इतिहासमा पहिलो पटक अन्तिम चारमा प्रवेश गरेको हो। 

प्रकाशित: २६ मंसिर २०७९ ०१:५७ सोमबार

उपाधि रक्षाबाट दुई कदम टाढा कतार विश्वकप २०२२