४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

अर्जेन्टिनाका लागि सहज छैन अस्ट्रेलिया

अभ्यासका क्रममा नेदरल्यान्ड्सका खेलाडी ।तस्बिर: एपी

कतार विश्वकपको समूहचरणमा नेदरल्यान्ड्सले विश्वमा आफूलाई चिनाउँदै आएको प्रदर्शन गर्न सकिरहेको छैन। तर पनि डच टोली समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भयो।

शनिबार सोही नेदरल्यान्ड्स अमेरिकालाई हराउँदै कतार विश्वकपको क्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा छ। कतार विश्वकपको यो पहिलो नकआउट चरणको प्रतिस्पर्धा पनि हो। लुइस भान गालको टोली नेदरल्यान्ड्सले समूहमा दुई जित र एक बराबरी सामना गरेको थियो। पेनाल्टी सुटआउटबाहेक डच टोलीको प्रशिक्षकका रूपमा भान गाल विश्वकपका १० खेलमा अपराजित छन्। अपराजितको यो सूचीमा उनीभन्दा अगाडि ब्राजिलियन प्रशिक्षक फिलिप स्कोलारी (१२) र मारियो जागालो (११) मात्र छन्। ७१ वर्षे भान गालकै प्रशिक्षणको डच टोली सन् २०१४ को ब्राजिल विश्वकपमा तेस्रो भएको थियो।  

त्यो विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग स्तब्ध भएको हो, उनको टोली। यस पटक भने डच टोली सो लयमा देखिएको छैन। त्यसैले डच मिडियाले भान गालको खेल शैलीलाई लिएर आलोचना गरिरहेका छन्। नेदरल्यान्ड्सले आक्रामक शैलीको खेल देखाउन नसकेको भन्दै आलोचना भइरहेको छ, जुन सन् १९७० मा डच टोलीले खेल्थ्यो। ‘यो खेलशैली सन् २०१४ को जस्तै हो। केही पनि फरक छैन। तर, गलत कुरा गरिँदै छ,’ भान गालले क्वार्टरफाइनल खेलअगाडि पत्रकार सम्मेलनमा भने, ‘मैले पुरानै शैली दोहो¥याएको छु। हामी बिस्तारै हाम्रो लक्ष्यमा अघि बढिरहेका छौं।’

अमेरिका पनि नेदरल्यान्ड्सजस्तै सन् २०१८ को विश्वकपमा छनोट हुन असफल टोली हो। समूहका खेलमा इङ्ल्यान्ड र वेल्सजस्ता टोलीलाई बराबरीमा रोक्दै इरानलाई हराएको अमेरिकाले पनि कतार विश्वकप यादगार बनाइरहेको छ। ‘अमेरिका उत्कृष्ट टोली हो। उनीहरूविरुद्ध हामी पूर्ण हाबी हुन सक्दैनौं,’ भान गालले भने, ‘त्यसैले क्वार्टरफाइनल प्रतिस्पर्धात्मक हुन्छ। किनकि हामी पनि उत्कृष्ट टोली हौं।’ यी दुईबीचको प्रतिस्पर्धा खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ, जुन खेलको नतिजा अतिरिक्त समय या पेनाल्टी सुटआउटसम्म जान सक्छ।

तर, पेनाल्टी सुटआउटका लागि भान गालसँग टिम क्रुल जस्ता गोलकिपर रिजर्भ छन्, जसको प्रेरणामा डच टोलीले सन् २०१४ को विश्वकपमा कोस्टारिकालाई स्तब्ध बनाएको थियो। डच टोली पछिल्ला पाँच विश्वकपमध्ये चार पटक क्वार्टरफाइनलमा पुगेको छ। सन् २००६ मा भने नेदरल्यान्ड्स अन्तिम १६ बाट नै बाहिरिएको थियो। यता अमेरिकाले भने विश्वकपको अन्तिम १६ का चारमध्ये तीन खेल गुमाएको छ। सन् २००२ मा मेक्सिकोविरुद्धको एक मात्र खेल जितेको हो।

नेदरल्यान्ड्सविरुद्ध पाँच भेटमा अमेरिकाले एक खेल मात्र जितेको छ। त्यो जित अमेरिकाले सन् २०१५ मा प्राप्त गरेको थियो। अमेरिकाको मिडफिल्ड निकै चुस्त देखिएको छ। टेलर एडम्स, युनुस मुसाह र वेस्टन म्याककेनी रहेको मिडफिल्डले फाइनल थर्डमा ७५ प्रतिशत पास खेलेको छ। जुन आँकडामा अमेरिका यस विश्वकपको सातौं स्थानमा छ। अमेरिकाभन्दा अगाडि स्पेन, अर्जेन्टिना, पोर्चुगल, फ्रान्स, जर्मनी र ब्राजिल छन्। त्यसैले अमेरिकाविरुद्ध १६ मा प्रतिस्पर्धा गर्न डच टोलीका लागि सहज हुने छैन।  

यस विश्वकपअन्तर्गत नकआउट चरणको दोस्रो खेलमा अस्ट्रेलिया र दुई पटकको विश्वविजेता अर्जेन्टिना भिड्दै छन्। कतारमा विश्वकपको सुरुआत अर्जेन्टिनाका लागि सुखद थिएन। तर, लियोनल मेसीको टोली अर्जेन्टिना कठिन अवस्थाबाट लयमा फर्कियो र नकआउट चरणमा पुग्न सफल भयो। पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध अर्जेन्टिना त्यसपछि लगातार दुई खेल जित्दै समूह ‘सी’ को विजेता बन्न सफल भएको हो। सोही अर्जेन्टिना क्वार्टरफाइनलमा पुग्ने लक्ष्यका साथ शनिबार एसियन प्रतिद्वन्द्वी अस्ट्रेलियासँग भिड्दै छ।

अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डे पाउलले राष्ट्रिय टोलीजस्तो भएर प्रदर्शन गर्दै अस्ट्रेलियाविरुद्ध जित निकाल्ने विश्वास व्यक्त गरेका छन्। साउदीसँग हारपछि उनले आत्मालोचना गर्दै राष्ट्रिय जर्सीप्रति गौरव र जन्मभूमिप्रति माया गरेर प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिएका थिए। त्यो हारपछि सबैले राम्रो पाठ सिकेको पनि उनको भनाइ छ। ‘हार हाम्रै कारणले थियो र त्यो हारबाट हामीले धेरै कुरा सिक्यौं,’ उनले भने। विश्वकपकै दाबेदारका रूपमा हेरिएको अर्जेन्टिना खराब सुरुआतका बावजुद लयमा फर्किसकेको छ।

यो लय अस्ट्रेलियाविरुद्ध पनि जारी राखे दक्षिण अमेरिकी टोली अर्जेन्टिना र करियर अन्त्यको संघारमा रहेका मेसीका लागि कतार विश्वकप यादगार बन्न सक्छ। तर, अर्जेन्टिना आपैmँले यो लयलाई जारी राख्न सक्छ त भन्ने अर्को प्रश्न छ। किनकि ३६ खेलसम्म अपराजित रहँदै कतार आएको अर्जेन्टिनाले साउदीसँग अप्रत्याशित हार बेहोरेको थियो। मेसीको पेनाल्टी गोलमार्पmत अग्रता लिए पनि अर्जेन्टिनाले अप्रत्याशित हार सामना गर्न पुगेको हो। त्यो हारपछि अर्जेन्टिना समूहचरणबाटै बाहिरिने आकलन गरिन थाल्यो।

तथापि, ती आकलनलाई गलत साबित गर्दै अर्जेन्टिना समूहविजेता नै बन्यो। मेसी विश्वकपको नकआउट चरणमा पहिलोपटक गोल गर्दै आफ्नो टोलीको यात्रा जारी राख्न चाहन्छन्। विश्वकपमा उनको ९ गोल नै समूहचरणको हो। तर, सन् २०१०, ०१४ र ०१८ को विश्वकपका नकआउट चरणमा भने उनले एसिस्ट गरेका छन्। अर्जेन्टिनाका लागि अस्ट्रेलिया सहज प्रतिद्वन्द्वी हुने छैन। किनकि विश्वविजेता फ्रान्स, डेनमार्क र ट्युनिसियाजस्ता बलिया टोली रहेको समूहबाट अस्ट्रेलिया नकटआउट चरणमा पुगेको हो।  

पेपरमा हेर्ने हो भने अर्जेन्टिना र अस्ट्रेलियाका सुरुआती ११ का खेलाडीमा धेरै फरक छ। डेनमार्कसँग खेल्दा अस्ट्रेलियाका ११ खेलाडीमध्ये चार जना युरोपको दोस्रो डिभिजनका क्लबमा खेल्छन्। स्ट्राइकर मिचेल डुक जापानिज लिगका खेलाडी हुन्। यता अर्जेन्टिनामा भने ११ खेलाडी शीर्ष पाँच युरोपियन लिगका स्टार हुन्। जहाँ सात पटक बालोन डी’ओर विजेता मेसी पनि छन्। सन्डरल्यान्डका डिफेन्डर बेली राइटले विश्वकपको डेब्युमा नै गोल गर्दा अस्ट्रेलियाले डेनमार्कविरुद्ध १–० को रोमाञ्चक जित निकालेको थियो। उनीजस्तै हरेक खेलाडी ठूलो टोलीविरुद्ध गोल गर्न सक्षम रहेको अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्ड बताउँछन्।

प्रकाशित: १७ मंसिर २०७९ ०२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App