सर्बियालाई हराउँदै स्विट्जरल्यान्ड फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ।
शुक्रबार राति स्टेडियम ९७४ मा समूह चरण अन्तर्गतको खेलमा सर्बियालाई ३-२ गोल अन्तरले हराउँदै स्विट्जरल्यान्ड राउण्ड अफ १६ मा पुगेको हो।
खेलको २० औं मिनेटमा शेरदान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै त्यसको ६ मिनेटपछि एलेक्सजेन्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई १-१ गोलको बराबरीमा ल्याए। ३५ औं मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै सर्बियालाई २-१ को अग्रता दिलाए।
तर, खेलको ४४ औं मिनेटमा ब्रेल इम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई २-२ को बराबरीमा ल्याए।त्यसपछि खेलको ४८ औं मिनेटमा रिमो फ्रयूलेरले गोल गर्दै स्विट्जरल्यान्डलाई३-२ को जित दिलाए।
यस जितसँगै स्विट्जरल्यान्ड ६ अंकका साथ समूह (जी)को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।
त्यस्तै सोही समूहबाट ब्राजिल विजेता बन्दै अन्तिम १६ मा पुगिसकेको छ। गएराति भएको खेलमा क्यामरुनसँग ब्राजिल १-० गोल अन्तरले पराजित भएको थियो।
प्रकाशित: १७ मंसिर २०७९ ००:१२ शनिबार