१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

फ्रान्सका महत्वपूर्ण खेलाडीलाई विश्राम दिने सम्भावना

डिडियर डेसच्याम्पले फ्रान्स विश्वकपको नकआउट चरणमा पुगिसकेकाले बुधबार हुने ट्युनिसियासँग समूहचरणको अन्तिम खेलमा आफ्ना महत्वपूर्ण खेलाडीलाई विश्राम दिन सक्छन्।

डिफेन्डिङ च्याम्पियन फ्रान्सले अस्ट्रेलिया र डेनमार्कमाथि जित निकाल्दै समूह ‘डी’ बाट नकआउट चरणमा प्रवेश पक्का गरिसकेको छ। त्यसैले डेसच्याम्पले बुधबार ट्युनिसियाविरुद्धको खेलमा आफ्ना महत्वपूर्ण खेलाडी किलियन एम्बाप्पे, ओलिभर जिरौड र एन्टोइन ग्रिजम्यानलाई विश्राम दिन सक्छन्। चोटका कारण विश्वकपअगाडि नै टोलीले पाउल पोग्बा, एनगोलो कान्टे, करिम बेन्जिमा र क्रिस्टोफर एनकुन्कुलाई गुमाउन पुगेको थियो। त्यसैले प्रशिक्षक डेसच्याम्प बाँकी खेलाडी गुमाउन चाहँदैनन् र यिनीहरूलाई नकआउट चरणका लागि तयार राख्ने योजनामा हुनेछन्।

यता, ट्युनिसियाले दुई खेलबाट मात्र एक अंक बटुलेको छ। ट्युनिसियाले जारी विश्वकपमा अहिलेसम्म गोल गर्न सकेको छैन। गत शनिबार अस्ट्रेलियासँग १–० ले स्तब्ध भएपछि ट्युनिसियाको नकआउट चरणको यात्रा कठिन बनेको थियो। अन्तिम खेलमा फ्रान्सलाई हराउनुको विकल्प ट्युनिसियासँग हुने छैन। ट्युनिसियाका प्रशिक्षक जालेल काद्रीले फ्रान्सविरुद्ध केही सुधार गर्दै महत्वपूर्ण खेलमा जित निकाल्ने विश्वास व्यक्त गरेका छन्।  

‘यो खेल हाम्रा लागि निकै महत्वपूर्ण छ। अन्तिम खेलमा जित निकाल्न कुनै कसर बाँकी राख्दैनौं। हामी शतप्रतिशत मिहिनेत गर्नेछौं,’ ट्युनिसियाका प्रशिक्षक काद्रीले भने, ‘हाम्रो प्रतिस्पर्धा निकै बलियो छ र तर पनि उनीहरूलाई हराउने विश्वास छ। हामीले पछिल्ला खेलको प्रदर्शनमा भएका गल्ती खोज्यौं र त्यसलाई सुधारको प्रयास गरिरहेका छौं।’ यस समूहका अन्तिम खेलहरू बुधबार राति ८ः४५ बजे हुँदै छन्, जहाँ दोस्रो खेलमा अस्ट्रेलिया र डेनमार्क बुधबार नै अन्तिम १६ को यात्रा तय गर्ने योजनासहित प्रतिस्पर्धा गर्दै छन्।

समान एक खेल बाँकी छँदा अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया तीनैको अन्तिम १६ को सम्भावना बाँकी छ। अस्ट्रेलियाको ३ अंक तथा डेनमार्क र ट्युनिसियाको समान १/१ अंक रहेकाले समूहका अन्तिम खेल निर्णायक भएका हुन्। सन् २०२० को युरो कप सेमिफाइनलिस्ट डेनमार्क अन्तिम खेलमा अस्ट्रेलियालाई हराउँदै कतार विश्वकपलाई यादगार बनाउने लक्ष्यमा छ। अर्को चरणमा पुग्न डेनमार्कसँग जितको विकल्प हुने छैन भने अस्ट्रेलियालाई बराबरी पनि पर्याप्त बन्नेछ।  

उक्त खेल अल जानौब स्टेडियममा हुनेछ। गत २०१८ को रसिया विश्वकपमा पनि अस्ट्रेलिया र डेनमार्क भिडेका थिए, जुन नतिजा १–१ को बराबरीमा सकिएको थियो। यस पटक महŒवपूर्ण खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यमा छन्। डेनमार्कका लिन्डस्ट्रोमले फ्रान्सविरुद्ध गोल गर्दै अग्रता दिलाएका थिए। तर, डेनिस टोलीले अग्रता जोगाउन सकेन। डेनमार्कको लगातार दोस्रो पटक विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्य छ। जुन यसअघि फ्रान्सले सन् १९९८ र २००२ मा प्राप्त गरेको थियो। यता, फ्रान्स भने ट्युनिसियालाई हराउँदै समूहविजेता बन्ने लक्ष्यमा छ।  

कमजोर मानिएको साउदी अरेबियाले पहिलो खेलमा नै दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाएपछि समूह ‘सी’ बाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्न अन्तिम खेल नै कुर्नुपरेको छ।  

अप्रत्याशित जितबाट कतार विश्वकप सुरुआत गरेको एसियन राष्ट्र साउदीले पोल्यान्डसँग दोस्रो खेल गुमाएपछि एक खेलअगावै नकआउट चरणमा पुग्ने अवसर पनि गुमाउन पुग्यो। बुधबार राति १२ः४५ बजे समूह ‘सी’ का दुई खेल हुँदै छन्। अर्जेन्टिना र पोल्यान्ड तथा मेक्सिको र साउदी अरेबिया भिड्नेछन्। यो समूहमा पोल्यान्डको चार अंक छ भने अर्जेन्टिना र साउदी अरेबियाको समान तीन अंक छ। मेक्सिकोको एक अंक छ। त्यसैले पोल्यान्डलाई बराबरीको नतिजा पनि दोस्रो चरणका लागि पर्याप्त हुन सक्छ।  

तीन टोलीलाई भने जितको विकल्प हुने छैन। लियोनल मेसीको टोली अर्जेन्टिना र रोबर्टो लेवान्डोवस्कीको टोली पोल्यान्ड जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छन्। यी दुवैका लागि यो विश्वकप अन्तिम बन्न सक्छ। पोल्यान्ड र अर्जेन्टिना यसअघि सन् १९७४ को विश्वकपमा भिडेका थिए, त्यो नतिजा ३–२ ले पोल्यान्डको पक्षमा रह्यो। यस विश्वकपमा पोल्यान्डले दुवै खेलमा क्लिन सिट राखेको छ। यो नतिजा जारी राख्दै पोल्यान्ड नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ।  

अर्जेन्टिनाले भने साउदीसँग दुई गोल बेहोर्दा मेक्सिकोविरुद्ध गोल बेहोरेन। अर्जेन्टिना पनि तेस्रो खेलमा जित निकाल्न चाहन्छ। यसै समूहको अर्को प्रतिस्पर्धामा साउदी अरेबिया मेक्सिकोमाथि जित निकाल्दै कतार विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो राष्ट्र बन्ने लक्ष्यमा छ। यी देश कुल पाँच पटक भेट भएका छन्। जसमा चार नतिजा मेक्सिकोको पक्षमा रह्यो भने एक खेल बराबरी भएको छ।  

सन् १९९९ मा भएको पछिल्लो भेटमा मेक्सिकोले साउदीमाथि ५–० को जित निकालेको थियो। तथापि, अहिलेको साउदीमा धेरै परिवर्तन भइसकेको छ। किनकि साउदीले दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई नै स्तब्ध बनाएकाले मेक्सिकोमाथि पनि सो नतिजा दोहो¥याउन सक्छ। साउदीका प्रशिक्षक हर्भे रेनार्डले जित निकाल्दै आफ्ना समर्थकलाई उपहार दिने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १४ मंसिर २०७९ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App