उपाधि दाबेदार टोली ब्राजिलका स्ट्राइकर नेइमारले सोमबार स्विट्जरल्यान्डसँग खेल गुमाउने टिमका डाक्टर रोड्रिगो लासमारले बताएका छन्। बिहीबार राती सर्बियाविरुद्धको खेलमा कुर्कुच्चामा चोट बोकेका नेइमारले दोस्रो खेल गुमाउने भएका हुन्। पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेइमारले लिगामेन्ट च्यातिएपछि मैदान छाडेका थिए। रोड्रिगोले भिडियो एक्सरेमा लिगामेन्ट च्यातिएको अवस्था रहेको बताएका छन्। ब्राजिलले बिहीबार सर्बियासँग खेल्दै कतार विश्वकपको आरम्भ गरेको थियो।
रिचार्लिसनले दोस्रो हाफमा गरेका दुई गोलको सहयोगमा ब्राजिलले सुखद सुरुआत गर्दा नेइमारको चोट भने टोलीका लागि चिन्ताको विषय बनेको छ। अपेक्षा गरिएका स्ट्राइकरले चोट बोकेपछि ब्राजिलका प्रशिक्षक टिटे पनि चिन्तित छन्। नेइमारले पछिल्ला वर्षदेखि दायाँ खुट्टामा चोट बोक्दै आएका छन्। यसै कारण उनले २०१९ को कोपा अमेरिका गुमाउँदा २०२१ मा पनि धेरै साता आराम गर्नुपरेको थियो। सर्बियाविरुद्ध खेल्दा नेइमारमाथि ९ पटक फाउल भएको थियो।
उक्त फाउलमा चार पटक फ्रिकिक प्रदान गरिएको थियो। नेइमार यसअघि २०१४ को विश्वकपमा पनि घाइते भएका थिए। कोलम्बियाविरुद्धको क्वार्टरफाइनलमा ढाडको समस्या भएपछि उनले जर्मनीविरुद्धको खेल गुमाउन पुगेका थिए।
उक्त खेलमा ब्राजिल ७-१ को फराकिलो अन्तरले पराजित भएको थियो। सर्बियाविरुद्ध चोटग्रस्त हुँदा नेइमारले ११ मिनेटअगाडि मैदान छाड्नुपरेको थियो।
प्रकाशित: १० मंसिर २०७९ ०४:३९ शनिबार