२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्गममा निर्वाचन सामग्री बोकेर चुनाव गराउन पुगे कर्मचारी

सडक सञ्जाल नजोडिएको उत्तरी गोरखामा चुनाव गराउन निर्वाचन सामग्रीसहित जाँदै गरेको टोली।

गोरखाको दुर्गम गाउँमा निर्वाचन गराउन कर्मचारी, सुरक्षाकर्मी सहितको टोली पुगेका छन्। सडक सञ्जाल नजोडिएको उत्तरी गोरखामा चारदिन अघिदेखि कर्मचारी त्यसतर्फ हिँडेका निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोईरालाले बताए।  

चुमनुब्रीका मतदान केन्द्रका लागि आइतबारै मतदान अधिकृतसहितको टोली प्रस्थान गरेका थिए भने धार्चेका लागि मंगलबार प्रस्थान गरेका कार्यालयले जनाएको छ। बुधबार अन्य केन्द्रका कर्मचारीले पनि सामग्री बुझिसकेको र मतदान केन्द्रतर्फ लागेका छन्। कर्मचारीले केहीदिन मनादन केन्द्रको ब्यवस्थापन सहितको तयारी गर्नेछन्।  

दुरीका हिसाबमा धेरै टाढा भएको र सडक सन्जालबाट बन्चित रहेकाले अन्य पालिकाको तुलनामा चुमनुब्रीमा पहिले नै कर्मचारी, सुरक्षाकर्मी सहित मतपेटिका पठाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कोइरालाले बताए। कात्तिक २७ गतेबाट चुमनब्रीमा मतपेटिका पठाउन थालिएको हो।  हालसम्म अधिकांश मतदान केन्द्रमा मतपेटिका सहित सुरक्षाकर्मी, कर्मचारी पुगिसकेको र केही मतदान केन्द्रमा टोली पुग्ने क्रममा रहेको उनले जानकारी दिए। बिहीबार बिहानसम्ममा सबै मतदान केन्द्रमा मतदान अधिकृत सहितको टोली पुगिसक्ने उनले जानकारी दिए।  

गोरखाबाट आइतबार हिडेको टोली मंगलबार बेलुका मतदान केन्द्रमा पुगेको जीवन सुर्खेतीले बताए।  उनी चुमनुब्री गाउँपालिका ७ चुम्लिङस्थित सिद्ध गणेश आधारभुत विद्यालय मतदान केन्द्रमा खटिएका हुन्। तीन दिन लगाएर मतदान अधिकृत सहितको सबै टिम बेलुका चुम्लिङ आइपुगेको उनले बताए। मतदान सामग्रीहरु पनि सबै मिलेर बोकेर ल्याएको उनको भनाइ छ।  

यसअघि चुमनुब्रीमा मतपेटिका लैजान र मतपेटिका ल्याउन निर्वाचन आयोगसँग हेलिको व्यवस्था गरिदिन माग गरिएको थियो। तर आयोगबाट स्वीकृति नपाएपछि निर्वाचनलागि चाहिने मतपेटिका, मतपत्र, स्वस्तिक छाप, शील अनुसूची, पर्चा, पम्पलेट लगायतका सामग्रीहरुसहितको सम्बन्धित मतदान अधिकृतलाई जिम्मा लगाएको कार्यालय जनाएको छ।  मतदानपछि मतपेटिका भने हेलीकप्टरबाट ल्याउन आयोगसँग पहल गरिरहेको उनले जानकारी दिए।  

निर्वाचन आयोगले अहिले हुम्ला र डोल्पाका दुर्गमकेन्द्रमा भने हेलिकप्टरबाट मतपेटिका, निर्वाचन सामग्री ढुवानी गरिएको निर्वाचन आयोगका प्रबक्ता शालिग्राम शर्मा पौडेलले बताए। गोरखामा निर्वाचन सामग्री ढुवानी गर्न हेलिकप्टरको ब्यवस्था भएन। मतपेटिका संकलनकालागि भने आयोगले हेलिकप्टर पठाउने संभावना छ। सदरमुकाम ल्याएर मत गणना गर्नुपर्ने भएकाले बोकाएर ल्याउँदा पाँच दिन सम्म लाग्ने हुँदा मतपेटिका संकलनकालागि हेलिकप्टरको ब्यवस्था हुने निर्वाचन आयोगका प्रबक्त पौडेलले बताए। गोरखा जस्तै केही जिल्लाको दुर्गम ठाउँमा मतपेटिका ल्याउन भने हेलिकप्टरको ब्यवस्था हुने उनले बताए।  

दुर्गम पालिका चुमनुब्रीमा २२ वटा मतदान केन्द्र रहेका छन्। मंसीर १ गते सम्ममा चुमनुब्री सहित जिल्लाका सबै पालिकाको मतदान केन्द्र निर्वाचन खटिने कर्मचारी सहित सबै सामग्री पुगिसक्ने निर्वाचन कार्यालयले जनाएको छ।  

गोरखाको चुमनुब्रीमा एक हप्ता अगाडि नै सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा पठाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताए। गोरखामा अति संवेदनशील मानिएका मतदान केन्द्रहरुलाई पनि सामान्य रुपमा सम्पन्न गर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए।

प्रकाशित: ३० कार्तिक २०७९ ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App