२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

हुम्लाको चामल नेपालगन्जमै थन्कियो

हुम्ला पठाउन तयार पारिएको चामल। यो चामल नेपालगन्जमै थन्किएको छ। तस्विरः नागरिक

नेपालगन्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगन्जमै थन्किएको छ। हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्ला चामल ढुवानी हुन नसकेको हो।  

सरकारले यस वर्ष नेपालगन्जबाट हुम्लामा तीन हजार पाँच सय क्विन्टल चामल पुर्‍याउने कोटा तोकेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट पुर्‍याउने भनिएको उक्त चामल भने ढुवानी हुन नसकी नेपालगन्जमै थन्किएको छ। सम्झौता गरिएको फर्मले चामल ढुवानी नगरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछाने बताउँछन्। तीन हजार पाँच सय क्विन्टलमध्ये दुई हजार क्विन्टल चामल हवाई मार्गबाट पुर्‍याउने लक्ष्य छ। त्यसका लागि भदौ १ गते खोलिएको टेण्डरमा कुनै पनि हवाई सेवा प्रदायकले मापदण्डअनुसार बोलपत्र नहालेको लामिछाने बताउँछन्।  

त्यसपछि पुनः टेण्डर आह्वान गर्दा प्रक्रियामै धेरै समय लागेको उनको भनाइ छ। दोस्रोपटक आह्वान गरिएको टेण्डरमा तारा एयरले ढुवानी गर्न पाउने ठेक्का परेको उनले जानकारी दिए। तर, तारा एयर सम्झौताका लागि आएको छैन। ‘सम्झौताको लागि तोकिएको समय अझै बाँकी छ। हामीले उहाँहरुलाई चाडोभन्दा चाडो सम्झौताका लागि आउन भनिरहेका छौँ,’ लामिछानेले भने। उनका अनुसार हवाई कम्पनीहरुले पछिल्लो समय इन्धनको मूल्य बढेको तर सरकारले ढुवानीका लागि मूल्य नबढाएकोले बढी मूल्य कबोल गरेर बोलपत्र हालेका थिए।  

सडकमार्गबाट एक हजार पाँच सय क्विन्टल चामल ढुवानी गर्ने जिम्मा भने एलबी सप्लायर्स हुम्लाले पाएको छ। तर, सडक मार्ग बिग्रेको भन्दै सप्लायर्सले ढुवानी गर्न मानिरहेको छैन। ‘हामीले पनि सडको स्थलगत निरीक्षण गर्‍र्यौँ। सडक वास्तवमै बिग्रिएको रहेछ। अब सडक पनि सुध्रिँदै छन्। आशा गरौँ चाडै नै ढुवानी सुरु हुनेछ,’ उनले भने। लामिछानेले निर्वाचन पछि नै ढुवानी सुरु हुने संकेत गरे।

प्रकाशित: ३० कार्तिक २०७९ ११:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App