नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्रको काम सुरु भएको छ। ३७ बर्ष पुरानो विमानस्थलको टावर, भवन निर्माण भएपछि अब विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने कामसुरु भइरहेको निर्माण कम्पनीले जनाएको छ।
लामो समयदेखि काम नहुँदा अन्यौलमा रहेको विमानस्थलले पछिल्लो समय गति लनि थालेको छ। विमानस्थलसम्म सडक नपुग्नु, विगतको सशस्त्र द्वन्द्व, कोभिड लगायतका कारणले विमानस्थलको काम कछुवा गतिमा भईरहेको थियो। यो आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समयसीमा दिएको छ।
धावनमार्ग ६ सय ९० मिटर लम्बाई र ६० मिटर चौडाई रहने स्टिमेट छ। श्रोतका अनुसार २०४२ साल यता ३९ करोड रकम विमानस्थल निर्माणमा अहिलेसम्म खर्च भइसकेको छ। कालिकोट सदरमुकाम मान्मबाट हिँडेर चार घण्टामा विमानस्थल पुगिन्छ। अहिले सडक पुगेको छ। तर, सडकको अवस्था निकै सकसपूर्ण रहेको छ। असार मसान्तसम्म विमानस्थल पूर्ण रुपमा निर्माण कार्य सकिने गरी काम भइरहेको विमानस्थल निर्माणमा खटिएका नेपाल नागरिक उड्डययन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले बताए।
विमानस्थलसम्म निर्माण सामग्री लैजान ठेकेदार कम्पनीहरुलाई सकसपूर्ण भएको जनाइएको छ।
‘कच्ची, अफ्ठ्यारो सडक भएकाले निर्माण सामग्री लिन निकै गाह्रो छ।’ गौरी पार्वती/श्याम एण्ड शंकर जेभीका प्रतिनिधि कलम केसीले भने, हामीले शुक्रबारबाट धावनमार्ग कालोपत्रे गर्ने कामसुरु गरेका छौं। असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।’
गौरी पार्वती श्याम एण्ड शंकर जेभीले पिच गर्ने,नाला,माटो काट्ने गरी १३ करोड ८१ लाख रुपैयाँ भ्याटसहित ठेक्का लिएको छ। त्यस्तै भवन र टावर निर्माणका लागि पिआर ईन्फ्रास्टक्चरले ३ करोड ४७ लाख ७४ भ्याटसहित ठेक्का लिएर काम सुरु गरिएको हो। २०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालिकोटले १ लाख रकम विनियोजन गरेर कामसुरु गरेको सुनथराली विमानस्थलको कालोपत्रेको काम ३७ बर्ष पछि सुरु भएको छ।
३५ जना मजदूरको ‘चिहान’
सुनथराली विमानस्थलको कथा फरक छ। सदरमुकाम मान्मादेखि पाँच घण्टा टाढाको यो बिमानस्थल बनाउँदा धेरैको रगत बगेको छ। ३५ जना मजदूरको ‘चिहान’ माथि ‘चिलगाडी’ बस्ने ठाउँ बनाउँदैछ। सशस्त्र द्वन्द्वका क्रममा विमानस्थल बनाइरहेका धादिङको जोगीमाराका १७ सहित ३५ जनालाई स्थानीय एक विष्टको घरको आँगनमा २०५८ सालमा सेनाले एउटै चिहान बनायोे। सेनाले स्थानीय प्रयोग गरेर अहिले बन्दै गरेको विमानस्थलभित्रै ३५ जनाको शव गाडिएको छ।
‘विमानस्थल कालिकोटका जनताको लागि सुविधाका लागि मात्रै होइन्, बिमानस्थलको रनवेभित्र गाडिएका ३५ जना मजदूरको आत्माको शान्तिका लागि पनि चाँडोभन्दा चाँडो सञ्चालनमा आउनुपर्छ भन्ने हाम्रो माग छ,’ सुनथराली बिमानस्थल सरोकार समाजका संयोजक धनराज वास्तविकले भने, ‘एउटा विमानस्थल बनाउन ३७ वर्ष समय लाग्नु लाजमर्दो विषय पनि हो।’
गणेश विष्टको घर विमानस्थलको छेवैमा छ। यो ३७ वर्षमा उनले विमानस्थलकै कारण धेरै सास्ती भोगे। सँगै काम गर्ने ३५ जना सहकर्मी गुमाए। सेनाको चरम यातना पाए। माओवादीको अत्याचार सहे। विमानस्थल निर्माणमा राज्यको चासो र चिन्ता नरहेको उनको भनाई छ। ‘सदरमुकाम नजिकै भइदिएको भए उहिल्यै काम सम्पन्न भएर विमानस्थल सञ्चालनमा आइसकेको हुन्थ्यो,’ विष्टले भने, ‘दुर्गमको विमानस्थलमा कसैको चासो र चिन्ता छैन्।’ अव विमानस्थलको कामले निरन्तरता पाउँछ भन्ने आशा छ।
फेरि आएन चिलगाडी
२०७३ माघ २९ गते सरकारले ३५ जनाको एउटै चिहान भएको विमानस्थलमा परीक्षण उडान ग¥यो। चिहानमाथि चिलगाडी अवतरण गर्दा स्थानीय गोविन्द गिरी को खुसीको सीमा थिएन। द्वन्द्वकालमा उनी विमानस्थलनजिकै मेडिकल चलाउँथे। विरामी जाँचिरहेको बेला सेनाले गिरीलाई ‘माओवादीलाई उपचार गर्ने’ भन्दै गोली हान्यो। गर्धन नजिकै गोली लागेका उनी ढले।
सेनाले पनि मर्यो भनेर फालिएका उनी जिउँदै थिए। ‘परीक्षण उडान सफल हुँदा पनि नियमित विमान नचल्दा निरास हुनुपरेको छ,’ गिरीले भने, ‘उतिबेला पर्यटनमन्त्रीका हैसियतले विमान ल्याएर आउने जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्री बन्नुभएको छ, विमानस्थल सञ्चालनमा आउनेमा आशावादी छौं।’
पुर्व वडाध्यक्ष प्रति विष्टले परीक्षण उडान भएको ६ वर्ष हुँदा पनि विमान फेरि नआएको बताए। ‘आँगनमै चिलगाडी आउँदा गाउँका सबै जना हेर्न गयौं,परीक्षण उडान सफल भएको ६ वर्ष पुग्यो,फेरि चिलगाडी फर्केर आएन,’उनले भने। विमानस्थल निर्माणमा खटिएका इन्जिनियर रत्नबहादुर श्रेष्ठले असार मसान्तसम्ममा विमानस्थल निर्माणको सबै काम सकिने बताए।
प्रकाशित: २९ कार्तिक २०७९ ०४:४६ मंगलबार