काठमाडौँ महानगरपालिकाले आजदेखि अनधिकृत परिचय पाटी हटाउन सुरु गरेको छ। मापदण्डमै रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका वोर्ड हटाउन महानगरले असोज ७ गते ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो।
राजस्व विभागका प्रमुख डा.शिवराज अधिकारीका अनुसार तोकिएको समयसीमाभित्र नियमित नगर्नेहरुको परिचय पाटी आजबाट हटाइन सुरू गरिएकाे हाे।
‘पाटी हटाउँदा ख्याल गर्नुपर्ने केही बुँदा हामीले टोलीलाई सम्झाएका छौँ। यो विषय सर्वसाधारणलाई पनि थाहा हुन आवश्यक छ।’ उनले भने।
पाटी हटाउँदा ख्याल गर्नुपर्ने विषयका बारेमा डा. अधिकारीले भने, ‘३० बर्गफुटभन्दा धेरै आकार भएका सबै बोर्ड हटाइनेछ। प्रायोजकको वोर्ड पनि यही आकारभित्र हुनुपर्नेछ। मापदण्डभित्रका बोर्ड वडामा गएर राजस्व तिरेपछि राख्न सकिन्छ। अहिलेसम्म पनि नियमित भएका छैनन् भने तुरुन्तै वडामा सम्पर्क राख्न सकिन्छ। व्यवसायिक स्थलमा ३० वर्गफुटभित्र जुनसुकै आकारको भए पनि एउटाभन्दा धेरै बोर्ड हटाइनेछ। यस्तै सार्वजनिक स्थलमा रहेका झ्याल, ढोका छोपिने गरी राखिएका, छतमा राखिएका सबै वोर्ड हटाइनेछ।’
प्रकाशित: २८ कार्तिक २०७९ ०९:५७ सोमबार