१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

यौनिक तथा अल्पसंख्यकलाई विवाह गर्ने अधिकारबाट वञ्चित गर्नु नहुनेमा सरोकारवालाको जोड

सरोकारवालाहरुले यौनिक तथा अल्पसंख्यक व्यक्तिहरुलाई विवाह गर्ने अधिकारबाट वञ्चित गर्नु नहुने बताएका छन्। उनीहरुले संविधानमा महिला र पुरुषबीच मात्रै विवाह गर्ने कुरा उल्लेख गरिएकाले यौनिक तथा अल्पसंख्यक व्यक्तिहरुलाई विवाह गर्ने अधिकारबाट वञ्चित गरिएको बताएका हुन्।

नेपाल ल क्याम्पसकी उपप्राध्यापकसमेत रहेकी अधिवक्ता विष्णु बस्यालले राजनीतिक दलहरुले चुनावी घोषणापत्रमा यौनिक तथा अल्पसंख्यक व्यक्तिहरुको पक्षका बुँदाहरु विभिन्न तरिकाबाट समेट्ने गरेपनि कार्यान्वयन गर्ने बेलामा हात कमाउने गरेको बताइन्। उनले राज्यबाट दिने सेवा, सुविधामा पनि यौनिक तथा अल्पसंख्यक व्यक्तिहरुलाई समान अवसर दिनुपर्ने बताइन्।

उनले कानून (ड्राफ्ट) बनाउँदा व्यक्ति–व्यक्तिबीच विवाह गर्नेकुरा उल्लेख गरेर पठाएपनि कानून पास गर्दा भने महिला र पुरुषबीच मात्रै विवाह गर्ने उल्लेख हुँदा यौनिक तथा अल्पसंख्यक व्यक्तिहरु विवाह गर्ने, घर बसाउने र परिवार बनाउने अधिकारबाट नै कानूनले वञ्चित गरेको बताइन्।

अधिवक्ता बस्यालले नेपालको वर्तमान कानूनले ती वर्गलाई विवाह गर्ने अधिकारबाट वञ्चित गरेकाले आगामी दिनमा कानून निर्माण गर्दा समानताको आधारमा बनाइनुपर्ने बताइन्। यौनिक तथा अल्पसंख्यक व्यक्तिको विवाहको अधिकारलाई सुनिश्चित गर्न सर्वोच्च अदालतले विगतमा गरिसकेको सिद्धान्त प्रतिपादनको आधारमा कानून बन्नुपर्ने आवश्यक्ता औंल्याइन्।

उनले चुनावको बेला र राजनीतिक दलका नेतृत्वहरुको भाषणमा यौनिक तथा अल्पसंख्यकका विवाहका कुरा समेट्ने गरेपनि चुनाव जितेर कार्यान्वयन गर्ने तहमा पुग्दा चासो नदिने गरेको बताइन्। उनले कानून निर्माण गर्दा सबै पक्षलाई समानरुपमा हेर्नुपर्ने उल्लेख भएअनुसार कानून निर्माण गर्ने व्यक्तिहरुले नै कार्यान्वयन गर्न हिच्किचाएको बताइन्।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश सभातर्फ अल्पसंख्यक व्यक्तिहरुको उम्मेदवारी एउटा मात्रै परेको छ। अल्पसंख्यकमा नेपाल जनता पार्टीबाट सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभातर्फ २ मा महेन्द्र साह तेलीले उम्मेदवारी दिएका छन्।

त्यस्तै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मत हाल्ने यौनिक तथा अल्पसंख्यक व्यक्तिहरुको संख्या १८५ रहेको छ। यस पटकको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० जना कुल मतदाता रहेका छन्। जसमा ८८ लाख ४७ हजार ५७९ महिला र ९१ लाख ४० हजार ८०६ जना पुरुष मतदाता रहेका छन्।

प्रकाशित: २८ कार्तिक २०७९ ०८:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App