४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

अफ्रिकन स्वाइनफिवरले भजनीमा मर्न थाले बंगुर

कैलालीको भजनीमा बंगुर प्रजातिमा लाग्ने अफ्रिकन स्वाइनफिवर देखा परेको छ।

भजनी नगरपालिका–३ कर्मदेवस्थित बडिमालिका कृषि प्रवद्र्धन केन्द्र प्रालिद्वारा सञ्चालित बंगुर फर्ममा फिवरले ठूलो संख्यामा बंगुर मरेका छन्।

फर्म सञ्चालक जयबहादुर बुढाले ४८२ बंगुर मध्ये ५५ जतिमात्रै बचेको बताए। उनले भदौ पहिलो सातादेखी बंगुर मर्न थालेको जानकारी दिए। उनले कात्तिक महिनामा ठूलो संख्यामा बंगुर मर्न थालेपछि जाँचका लागि धनगढी पठाएका थिए।

धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालाले थप जाँचका लागि केन्द्रिय प्रयोगशालामा पठाएको थियो। केन्द्रिय प्रयोगशालाले कात्तिक १५ गते अफ्रिकन स्वाइनफिवर भएको प्रमाणित गरेको थियो।  

पशु सेवा विभागका पशुचिकित्सकहरुको टोलीले बंगुर फर्मको स्थलगत अध्ययन गरेको छ। फिवर समुदायमा फैलिननदिन टोलीले बंगुर फर्म केही समयका लागि सिल गरेको छ। टोलीले भजनी नगरपालिकालाई फर्ममा रहेका बिरामी बंगुर नष्ट गर्ने र थप फैलिन नदिन सतर्कता अपनाउन भनेको छ।  

यो रोगबंगुर, सँुगुर र बदेलले एकापसमा सार्छन। यसका साथै मानिसबाट समेत रोग सर्ने पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मकुल उपाध्यायले जानकारी दिए। ‘मानिसले सार्ने मात्रै हो’ उनले भने –‘मानिसलाई भने यसले कुनै असर गर्दैन।’

बंगुरमाफिवर देखा परे मर्ने सम्भावना शतप्रतिशत रहेको डा. उपाध्यायले जानकारी दिए। उनले फिवर देखिएका बंगुरमा ज्वरो आउने, शरीरमा निलो दाग देखिने, खाना नखाने, झोक्राउने लगायतका लक्षण देखा पर्ने बताए।

यो रोग काठमाण्डौं उपत्यकाका तीन जिल्ला लगायत दर्जन बढी जिल्लामा देखा परेको छ। डा. उपाध्यायका अनुसार अति तिक्ष्ण, तिक्ष्ण र सामान्य गरी तीन किसिमको संक्रमण देखिएको बताए। उनले नेपालमा अति तिक्ष्ण खालको संक्रमण देखिएको जानकारी दिए।  

ठूलो संख्यामा बंगुर मरेपछि फर्म सञ्चालक बुढाले आर्थिक संकट व्यहोर्नु परेको बताए। उनले झण्डै एक करोड बराबरको क्षति भएको जानकारी दिए। उनले फिवरले बंगुर मरेपछि ऋण तिर्ने समस्याले पिरोलेको बताए। उनले ६५ लाख ऋण लिएर फर्म सञ्चालन गरेको जानकारी दिए।  

‘बैंकको ऋण कसरी तिर्ने होला’ उनले भने–‘कतैबाट राहतपाएको भए केही सहजहुन्थ्यो।’ स्थानीयका अनुसार गाउँघरमा समेत बंगुर मर्न थालेका छन। बंगुर फर्मबाटै गाउँघरमा संक्रमण फैलिएको आशंका गरिएको छ।  

प्रकाशित: २६ कार्तिक २०७९ १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App