२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

पत्रकारितामा शुद्धीकरण आवश्यक छ: अध्यक्ष पोखरेल

पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले पत्रकारितामा शुद्धीकरणको आवश्यकता रहेको बताएका छन। नेपाल पत्रकार महासंघ रुपन्देहीको बुटवलमा सम्पन्न साधरणसभालाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले पत्रकार महासंघले सदस्यता शुद्धिकरणका लागि निर्देशन जारी गरेको बताए।  

पत्रकारिता पेशा छाडेका, विस्थापित भएका र अन्य पेशामा गइसकेकाहरुलाई बिदाई गर्न सुरु गर्न महासंघले निर्देशन जारी गरिसकेको उनले बताए। निर्वाचन नजिकै आइसकेकाले पत्रकारिताको आलोचनात्मक चेतलाई मर्न नदिइ तटस्थता कायम गर्दै कलम चलाउन अध्यक्ष पोखरेलले पत्रकारहरुलाइ आग्रह गरे। स्वतन्त्र,निश्पक्ष र मर्यादित पत्रकारिताका लागि पत्रकार स्वयमले पनि आत्मसमिक्षा गर्दै करेक्सन हुनु पर्नेमा उनले जोड दिए।  

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा पत्रकारिताको अध्ययनका लागि उपमहानगरले सहकार्य गर्न तयार रहेको बताए। पत्रकारिताको गुणस्तर वृद्धि गर्दै बुटवललाइ नगरलाइ मिडीया मैत्री बनाउन महासंघसंगको सहकार्यमा नीति नियम बनाइ अगाडी बढ्ने प्रतिवद्धता जनाए। पत्रकारिताको मर्म र धर्मभित्र रहेर बिना पुर्वाग्रह सूचना प्रवाह गर्न सके त्यसले समाज र राज्यलाइ नै बलियो बनाउने उनले बताए।  

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले लोकतन्त्र र मिडिया एक अर्काको परिपुरक भएकाले सत्यतथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न आग्रह गरे।  सिद्धार्थनगर नगरपालिका प्रमुख ईस्तियाक अहमद खानले पत्रकारहरुले देश बिकासमा पत्रकारको भुमिका निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै सत्य समाचार  निडरताको साथ प्रकाशन गर्न आग्रह गरे।  

साधरणसभाको उद्घाटन सत्रमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरत पाण्डेले पत्रकारिता क्षेत्रको बिकासको लागि स्थानीय प्रशासन साथमा रहेको बताए। पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेले समाजले गरेको प्रश्नको जवाफ दिनेगरी काम गर्न पत्रकारलाई आग्रह गरे। उनले निर्वाचनको समयमा राजनीतिक दलले प्रयोग गर्न खोज्ने भएपनी पत्रकारितालाई जिवन्त राख्नुपर्नेमा जोड दिए।  

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्काले संगठन सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए। पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव सल्लाहकार डा. बालकृष्ण चापागाईंले महासंघ सबै पत्रकारलाई जोड्ने सस्था रहेको बताउँदै नयां पुस्ताको क्षमता अभिबृद्धीमा ध्यान दिन आग्रह गरे।  

महासंघका पूर्व अध्यक्षहरु दिपक ज्ञवाली, शेर बहादुर केसि, निर्वतमान अध्यक्ष यानेन्द्र जिसी,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनाल, अध्यक्ष रामराज पोख्रेल, निवर्तमान अध्यक्ष यानेन्द्र जिसि, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधिराम खरेल, उपाध्यक्षहरु विश्वास ढकाल, अमृता अनमोल,सचिव विनोद परियार लगायतले बोल्दै सञ्चार क्षेत्र बलियो भए लोकतन्त्र बलियो हुने भएकाले महासंंघले पत्रकारहरुको क्षमता विकास, स्थायीत्व र सुरक्षाको प्रत्याभूतिका लागि महत्वपुर्ण भुमिका खेल्नुपर्नेमा जोड दिए।  

साधारण सभाको बन्दसत्रले सचिव बिनोद परियारको सांगठनिक र  कोषाध्यक्ष सञ्जय सौगातको आर्थिक प्रतिवेदन पारित गर्यो।  साधरणसभाले १२ बुदे प्रस्ताव समेत पारित गरेको छ। सदस्यता शुद्धिकरण अभियान सञ्चालन गर्ने, पत्रकार र सञ्चार संस्था र समग्र सचार क्षेत्रको सबलीकरण, दुर्घटना बिमा, पत्रकारिता तथा आमसञ्चार बिषयमा बुटवलमै उच्च तहको शिक्षा अध्ययनका लागि पहल गर्ने  र महासंघको अगुवाईमा ‘पत्रकारिता अध्ययन तथा अनुसन्धान केन्द्र’ स्थापनाका लागि स्थानीय सरकारसँग समन्वय गरि जग्गा व्यवस्थापन गर्ने लगायतका प्रस्ताव साधरणसभाले पारित गरेको छ। अमृता अनमोल, रेखा भुसाल र सरु राना रहेको ३ सदस्यीय प्रस्ताव लेखन समितिले सभामा पेस गरेको प्रस्ताव बन्दसत्रले पास गरेको हो।  साधारण सभाकै अवसर पारेर जिल्लामा क्रियाशिल ९ जना पत्रकारलाई विभिन्न विधाका पुरस्कारबाट पुरस्कृत पनि गरीएको थियो।  

प्रकाशित: ७ कार्तिक २०७९ ०५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App