२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

हवाइ टिकट पाउन हारगुहार

टिकट नपाइ नेपालगन्ज विमानस्थलमा अलपत्र परेका जुम्लाका यात्रुहरु। तस्विरः गणेश/नागरिक

जुम्लाकी विष्णुमाया पाण्डे केही दिनयता नेपालगन्ज विमानस्थल धाइरहेकी छन्। १२ कक्षाको पुरक परीक्षाका लागि उनी छिटै जुम्ला पुग्नु पर्नेछ तर, टिकट भने अहिलेसम्म हातमा परेको छैन्। गाडीमा जानलाई विभिन्न ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध छ। उनी मात्र होइन, यतिबेला जुम्लालगायत कर्णालीका जिल्लामा जान हतार देखिने यात्रुले भरिभराउ छ। यात्रुको एउटै आशा छ, ‘टिकट पाइयोस्।’

नेपालगन्जमा अलपत्र परेका धेरैजसो यात्रु विद्यार्थी छन्। टिकट नपाइँदा उनीहरुको परीक्षा अन्यौलमा छ। चिनेजाने पहुँच हुनेले टिकट समयमै पाएका छन्, भने नहुनेको त हरिबिजोग नै छ। अविरल वर्षाले कर्णाली राजमार्ग ठाउँठाउँमा भासिएर पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा हवाईमा मान्छेको चाप बढेको छ। यात्रुको चाप बढ्नु र पर्यटक बोक्न पूर्वतिर गएका सबै विमान कम्पनीले पश्चिममा पहिला जसरी उडान नगर्दा यात्रुहरु मर्कामा परेका छन्। 

विमानस्थलमा आउँदा टिकट पाउन हम्मेहम्मे भएको यात्रु मानबहादुर विकले बताए। ‘सडक अवरुद्ध भएको बेला नेपालगन्ज विमानस्थल तथा कर्णालीका जिल्लामा उडान भर्ने जहाजहरुले मनपरी गर्ने गरेका छन्,’ उनले भने, ‘यो भनेको कर्णालीका नागरिकलाई अपमान गर्नु हो।’

नेपालगन्ज विमानस्थल प्रवेशद्वार रहेको र यस विमानस्थलबाट कर्णालीका मुगु, हुम्ला, जुम्ला र डोल्पालगायतका जिल्लामा जहाजले उडान भर्दै आएका छन्। तर, कर्णालीमा नियमित उडान नहुँदा यात्रु मर्कामा परेका छन्। चिनेजाने र पहुँच हुनेले टिकट पाउने र सर्वसाधारणलाई टिकट पाउनै मुस्किल भएको उनले जनाए। हप्ता दिनसम्म टिकटका लागि धाउँदा टिकट नपाएको उनी बताउँछन्। टिकटको आसमा विमानस्थलमा भौतारिनु परेको यात्रुहरु बताउँछन्।

जुम्ला तातोपानी गाउँपालिका–८ टोप्लाकी माया रावत कक्षा १२ को परीक्षा दिन गाउँ जानका लागि नेपालगन्ज विमानस्थालमा टिकटको लागि धाउन थालेको एक हप्ताभन्दा बढी भयो। परीक्षा दिने दिन नजिकै आउँदासम्म टिकट नपाएका कारण परीक्षा नै छुट्ने पो हो की भन्ने चिन्ताले सताउन थालेको उनको भनाइ छ। 

उनी मात्र होइन, नेपालगन्ज विमानस्थलमा दर्जनौ विद्यार्थीको परीक्षा छुट्ने देखिन्छ। कर्णालीका जिल्लामा परीक्षा दिन जाने दर्जनौ विद्यार्थी यतिबेला नेपालगन्ज विमानस्थलमा अलपत्र परेका छन्। सडक नखुल्दा तथा उडान नियमित नहुँदा विद्यार्थीका लागि कठिनाइ त छँदैछ। साथै, विभिन्न जिल्लामा रहेका कर्मचारी सर्वसाधारण, व्यापारीलाई गृह जिल्ला फर्कनसमेत समस्या भएको छ।  

जहाजहरु कमाउ धन्दामा पोखरा, लुक्लालगायतका स्थानमा उडान भर्ने गरेका र कर्णालीका जिल्लामा तालिका सार्वजनिक नगरी उडान रोक्दा यात्रु मर्कामा परेका यात्रुहरुको भनाइ छ।

प्रकाशित: ४ कार्तिक २०७९ १०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App