३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

सिरहाका युवकको विराटनगरमा हत्या: फिरौती रकम झिक्न जाँदा पक्राउ

सिरहाबाट अपहरण गरी विराटनगर ल्याएर हत्या गरिएको आरोपमा मोरङ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई फिरौती वापतको रकम झिक्न विराटनगर–९ स्थित माछापुच्छ्रे बैंकबाट २ जना र एक जनालाई गेष्ट हाउसबाट पक्राउ परेका हुन्।

अपहरणमा परेका सिरहाको गोलबजार नगरपालिका–३ का १७ वर्षीय अंशु सदालाई विराटनगर ल्याएर हत्या गरिएको खुलेको छ। हत्या गरिएको अवस्थामा विराटनगर–११ बसपार्कस्थित न्यू अप्सरा गेष्ट हाउसको पहिलो तलामा रहेको कोठामा सदाको शव शुक्रबार दिउँसो फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।

सदाको अपरहरण गरी हत्या गरेको आरोपमा धनुषाको कमला नगरपालिका–६ का १९ वर्षीय प्रशान्तकुमार मण्डल, राकेश ठाकुर र मोरङको रतुवामाई नगरपालिका–५ का ३६ वर्षीय मनोज कार्कीलाई पक्राउ गरिएको डिएसपी कार्कीले बताए।  

हत्या गरेर शवलाई तन्नामा पोको पारी कोठाको लोबेडभित्र राखिएको बताउँदै, डिएसपी कार्कीले भने, ‘नाकबाट रगत बगिरहेको अवस्थामा शव भेटिएका सदाको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट रहेको छ। हत्या गरिएको कोठाभित्र रगत लतपतिएको कपडाहरु समेत फेला परेको छ ।’ असोज २३ गतेदेखि हराएका सदाको खोजतलासका लागि परिवारका सदस्यले बिहीबार सिरहाको इलाका प्रहरी कार्यालय गोल बजारमा निवेदन दिएका थिए ।

असोज २६ गते बुधबार राति ८ बजेतिर कोठा खोज्दै आएका ४ जनाले बुधबार र बिहीबारका लागि १ नम्बर कोठा बुक गरे। शुक्रबार बिहान एक साताका लागि थप अर्को कोठा बुक खोजेका थिए। कोठा बुक गर्न पैसा लिएर आउँछौं भन्दै २ जना बाहिर निस्किएका थिए। गेष्ट हाउसमा बस्नुअघि २४ र २५ गते नजिकैको धनकुटे लजमा बसेको थिए।  

सदाका परिवारसँग फिरौती रकम माग गरिएपछि उनी अपहरणमा परेका थिए। अपहरणकारीले विराटनगर ल्याएर बिहीबार राति हत्या गरी लोबेडभित्र हालिदिएको अनुमान गरेको छ। अपहरण परेका सदाका परिवारसँग १ लाख रुपैयाँ फिरौती रकम माग गरेको र फिरौती वापतको रकम झिक्न माछापुच्छ्रे बैंकमा कार्की र मण्डल पक्राउ परे। 

उनीहरुलाई पक्राउ गरेपछि गेष्ट हाउस पुगेको प्रहरी टोलीले सदालाई हत्या गरेर राखिएको लोबेडमाथि सुतिरहेको अवस्थामा ठाकुरलाई पक्राउ गरिएको डिएसपी कार्कीले बताए। पक्राउ परेका ३ जनाविरुद्ध अपहरण तथा कर्तज्य ज्यान मुद्दामा म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २८ आश्विन २०७९ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App