१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

६ दिनदेखिको वर्षाले चार हजार नागरिक विस्थापित

अविरल वर्षाका कारण बाँकेमा करिब चार हजार सर्वसाधारण विस्थापित भएका छन्। पाँच दिनसम्म लगातार परेको वर्षाले बाँकेमा बाढी तथा डुबान समस्या निम्तिएको छ। विस्थापित सर्वसाधारणलाई उद्धार गरी नजिकैको विद्यालय तथा अन्य सुरक्षित स्थानमा राखिएको छ।

राप्ती नदीमा पानीको बहाब खतराको तहभन्दा निकै माथि पुगेर बस्तीमा छिरेको छ। नदीतटीय क्षेत्रमा व्यापक कटान भएको विपत् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले जानकारी दिए। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेले शनिबार साँझ उपलब्ध गराएको क्षति विवरणअनुसार बाढी र डुबान समस्या सबैभन्दा बढी राप्तीसोनारी, डुडुवा गाउँपालिकामा देखिएको छ। मानवीय क्षति हुनबाट भने जोगिएको छ। दुईजना घाइते भएका छन्। खजुरा गाउँपालिका ७ मा घर भत्किँदा स्थानीय ७० वर्षीया जैकुना खाँ र जानकी गाउँपालिका ५ का चादिन खानका ५ वर्षीय छोरा सल्मान खान घाइते भएका छन्।

वर्षाका कारण बाढी र डुबानको समस्या निम्तिएको छ। डुडुवा १ चौफेरीस्थित बस्तीमा ७५÷८० घर डुबानमा परेका र दुई सयजनालाई सुरक्षित स्थानमा राखिएको छ। नेपालगन्ज २० स्थित गायत्री टोलमा ८२ घरमा पानी पसेपछि दुई सय ५० जनालाई सुरक्षित स्थानमा सारियो भने राप्तीसोनारी १ बाखखोर गाउँमा राप्ती नदीको पानी पसेर ४०÷४५ घर डुबानमा पर्दा ८१ जना मानिस उद्धार गरी लालीगुराँस सामुदायिक भवनमा राखिएको आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। राप्तीसोनारी २ टिकुलीपुर गाउँमा दुई सय ५० घर डुबानमा परेर यहाँ रहेका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

डुबानका कारण नरैनापुरका दुई सय घर भत्केका छन्। त्यहाँका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन्। डुबानले करिब ६ हजार स्थानीय प्रभावित भएको पालिकाका सूचना अधिकारी एवम् विपत् शाखाका प्रमुख लक्ष्मीकान्त मिश्राले जानकारी दिए। पालिकाका ६ वटै वडाका अधिकांश गाउँ जलमग्न भई धेरैका घरमा खाना पकाउन र बस्न नसक्ने स्थिति रहेको मिश्राले बताए।बाढी तथा डुबान भएका ठाउँमा झाडापखाला तथा रुघाखोकीका बिरामी देखिन थालेको विपत् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताएका छन्।

बाढीपीडितको बास विद्यालयमा

शुक्रबार झिसमिसे साँझ हुँदै थियो। नेपालगन्ज उपमहानगरपालिका २० गायत्री टोलका शंकर कुसवन्दिया ढोकासम्मै पुगेको पानी तर्काउँदै थिए। लगातार वर्षासँगै आएको बाढी साँझपख घरभित्रै पस्यो। उनले रोकेर रोकिने स्थिति भएन। पानी खाटसम्मै पुग्यो। भएका लत्ताकपडा, अन्नपानी सबथोक भिज्यो। एकतले कच्ची घरबाट उनलाई शुक्रबार साँझ उद्धार गरी नजिकैको विद्यालयमा सारियो। शंकर २६ जनाको परिवारसहित विद्यालयमा आश्रित छन्। सोही गाउँकी रमता तामाङको घरभरि पानी छ। पालेका कुखुरासमेत मरेका छन् भने खाद्यान्न र लत्ताकपडा हिलाम्मे भएका छन्।

‘भुइँतले घर हुँदा घरभरि पानी छ। घरसम्म पुग्न सक्ने अवस्था नै छैन’, उनले भनिन्, ‘पानीले भिजाएर एक दाना अन्न पनि बचेको छैन।’ उनी परिवारसहित विद्यालयमा आश्रय लिएकी छन्। उनको टोलका करिब ४०÷५० परिवारलाई नजिकैको विद्यालयमा राखिएको छ। एउटै कोठामा २५÷३० जना बसिरहेका छन्। चिसो भुइँमा कष्टकरपूर्ण ढंगले उनीहरू रात कटाउन बाध्य छन्। ‘चिसै भए पनि ओढ्ने–ओछ्याउने ल्याउन लागेको थिएँ’, शंकरले भने, ‘ल्याउँदै गर्दा बाढीले बगाइदियो। अहिले ओढ्ने–ओछ्याउने नै छैन।’ खुदिया कुसवन्दिया पनि २० जनाको परिवारसहित एउटै कोठामा बस्न बाध्य छिन्। बाढीले घरवार लथालिंग पारेपछि विद्यालयमा बस्नुपरेको छ। ‘के गर्ने हजुर ! बाढीले घरवारै डुबायो’, उनले भनिन्, ‘पैसा नहुँदा ठूलो घर बनाउन सकिएनँ। जेनतेन बनाएको एकतले कच्ची घर पनि डुबायो।’

गाउँमा अहिलेसम्मकै ठूलो बाढी आएको रमताले बताइन्। ‘यसभन्दा पहिला यस्तो बाढी आएको थिएन’, उनले भनिन्, ‘यस वर्ष त ठूलो बाढी आयो।’ सिंगो गाउँ बाढीको चपेटामा परेको उनले बताइन्। भनिन्, ‘घरमा खाने अन्नसमेत छैन। लगाउने लत्ताकपडा छैन।’ लगातारको वर्षाले डुबान भएपछि यहाँका बाढीपीडितलाई उद्धार गरी नजिकैको विद्यालयमा राखिएको छ। यहाँ उनीहरूलाई खाद्यान्न तथा लत्ताकपडाको समस्या छ।

प्रकाशित: २४ आश्विन २०७९ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App