२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उर्लियो कर्णाली: तटिय क्षेत्र डुबानमा, सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिदै

तस्बिर : प्रशान्त अर्यालको ट्विटर बाट ।

कर्णाली नदीमा पानीको सतह खतराको लेभल भन्दा निकै माथि पुगेको छ। अहिले १२ बजेको मापन अनुसार नदीमा पानीको सहत १२ दशमलव ४१ मिटर पुगेको छ। यो खतराको लेभल भन्दा निकै धेरै हो।  

पानीको सतह १० दशमवल ८० मिटर पुग्नु खतराको तह पार गरेको मानिन्छ। विगत पाँच दिनदेखी जारी वर्षा अझै रोकिएको छैन। अहिले पनि चिसापानी आसपास र पहाडी जिल्लामा निरन्तर वर्षा भैरहेको छ। चिसापानीस्तिथ जलमापन केन्द्रकी गेज रिडर पार्वती गुरुङले वर्षा निरन्तर जारी रहेकाले नदीमा पानीको सतह अझै बढ्ने सम्भावना रहेको बताईन।

नदीमा पानीको सतह बढेसँगै तटीय क्षेत्र डुबानमा परेका छन्। जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका केही स्थान डुबानमा परेका छन्। कर्णाली नदीका सहायक कुला जमरा र कुलरीयामा पानीको सतह बढेको छ। पानीको सहत बढेसँगै आसपासका बस्तीमा बाढी पसेको छ। जानकी गाउँपालिकाका पूर्व खैरीफाँटा, मुर्तिया लगायतका ठाउँमा केही घर डुबानमा परेका छन्।  

टीकापुर नगरपालिकाकाे जमरा र रानी कुलामा पानीको सतह बढेको छ। त्यहाँ समेत आसपासका बस्तीमा डुबान सुरु भएको छ। रानी कुलामा पानीको सतह बढेको छ। प्रेमनगर लगायतका बस्तीमा घर डुबेका छन्। कर्णाली नदीले शाहीपुर लगायतका ठाउँमा कटानी तिब्र पारेको छ। शाहीपुर नजिकै बाँध फुट्ने क्रममा छ। स्थानीय अनन्त खड्काले नदी आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भैरहेको बताए।  

उनले शाहीपुर नजिकै बाँध फुटे ठूलो समस्या निम्तिने बताए। गत वर्ष शाहिपुरमा बाँध फुट्दा कर्णाली नदी गाउँ पसेको थियो। नदीले सत्ती नजिकै हुलाकी राजमार्ग भत्काएको थियो। दर्जन बढी गाउँ डुबानमा परेका थिए। यो वर्ष समेत त्यस्तै अवस्था आउन सक्ने सम्भावना बढेको छ। स्थानीय सन्तोष चौधरीले कुनै पनि बेला कर्णाली गाउँ पस्ने खतरा रहेको बताए।  

कर्णाली नदीमा सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश नदी मिसिन्छन्। कर्णाली नदीमा पानीको सतह बढ्दा कैलालीको पूर्वी र बर्दियाको पश्चिमी क्षेत्रमा बाढीको जोखिम बढेको छ। कर्णादी नदीले कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका साथै बर्दियाको राजापुर नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका थुप्रै भेगमा क्षति पुर्याउने गरेको छ।

प्रकाशित: २३ आश्विन २०७९ १८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App