१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खोलियो गण्डक ब्यारेजका २२ वटा ढोका

अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ। रातिदेखि नै नारायणी नदीको जलसतह बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीको ख्याल गर्दै गण्डक ब्यारेजका ३६ ढोकामध्ये २२ ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले बताए।

अविरल वर्षाको कारण नारायणी नदीमा पानीको बहाव बढ्दा यसले क्षति पुर्‍याउने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको हो। उनका अनुसार बिहान ७ बजे ब्यारेजमा पानीको सतह दुई लाख चालिस हजार क्युसेक पुगेको छ।

गण्डक ब्यारेजमा पानीका सतह बढ्दो क्रममा रहेको र हुनसक्ने जोखिमीको ख्याल गरी आफूहरूले समन्वय गरिरहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए। गण्डक ब्यारेजमा नारायणी नदीको जलसतह हेरेर आवश्यकता अनुसार ढोका खोलिने उनको भनाइ थियो। पानी पर्ने क्रम जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन समेत उनले आग्रह गरे।

गण्डक ब्यारेजमा दुई लाख ५० हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ। पानीको सतहले चेतावनीको तह पार गर्नुअघि नै ब्यारेजका २२ वटा ढोका खोलिएको हो। बाढी सूचना केन्द्रले नारायणी नदीको जलाधार क्षेत्रमा थप वर्षा हुने अनुमान गर्दैै नवलपरासी र चितवनका तटीय क्षेत्रमा हुने आज साँझसम्म सतर्कतासाथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। रासस

प्रकाशित: २० आश्विन २०७९ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App