१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सडकमा टिपर र ट्याङ्करको दादागिरी

काठमाडौं- राजधानीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ। बिहीबार बिहान राजधानीको दक्षिणढोका र नयाँबानेश्वरमा पानी ट्यांकर र टिपरले स्कुटर र पैदलयात्रीलाई ठक्कर दिएका थिए।तीव्र रफ्तारमा गुडेको पानी ट्यांकरले स्कुटरको पछाडि ठक्कर दिँदा दक्षिणढोकामा स्कुटरपछाडि बसेकी ३७ वर्षीया विमला खनालको घटनास्थलमै र नयाँबानेश्वरमा टिपरको ठक्करबाट पैदलयात्री ७१ वर्षीया लक्ष्मी रेग्मीको मृत्यु भएको हो।

महानगरीय प्रहरी वृत्त बौद्धका असई गणेश श्रेष्ठका अनुसार गोकर्णेश्वर नगरपालिका–१४, दक्षिणढोकामा ना४ख १००६ नम्वरको पानी ट्यांकरले बा३८प ६०८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार कागेश्वरी मनहरा नगरपालिका–१०, मूलपानी घर भएकी खनालको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा स्कुटर चालक मृतक खनालका श्रीमान ४६ वर्षीय गोपाल खनाल घाइते भएकाले उपचारका लागि शंखरापुर अस्पताल लगिएको उनले जानकारी दिए।

दुर्घटनामा चालकको लापरबाही भन्दै स्थानीयले विरोध प्रदर्शन गर्दै ट्यांकरमाथि तोडफोड गरेका थिए। स्थानीयले चालकमाथि हातपातसमेत गरेका छन्। बिहान १० बजे दुर्घटना भएपछि स्थानीयले घटनाको छानबिन गर्न र दोषीलाई कडा कारबाहीको माग राख्दै सडक नै अवरुद्ध हुने गरी प्रदर्शन गरेका थिए। सवारी आवागमन नै ठप्प हुने गरी स्थानीयले प्रदर्शन गरेपछि प्रहरीले सडक खुलाउने प्रयास गरेका थिए। तर, स्थानीयले घरका छतबाट समेत ढुंगामुढा गर्न थालेपछि प्रहरीले टियर ग्यास नै हान्नुपरेको थियो।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्दा १६ जना प्रहरी घाइते भएको असई श्रेष्ठले जानकारी दिए। घाइते प्रहरीको शंखरापुर अस्पतालमा उपचार भइरहेको छ। उनका अनुसार बिहान १० बजे भएको दुर्घटनापछि बन्द भएको सडक ४ बजेपछि मात्र खुला गर्न सकिएको थियो।

'प्रदर्शनकारीले हानेको ढुंगा लाग्दा प्रहरी घाइते हुनुका साथै प्रहरीको बा१झ ७८७५ नम्बरको गाडीका साइडलाइटका सिसा तथा बडिप्रोटेक्ट सिल २ थान फुटेर क्षति भएको छ,' उनले भने, 'स्थानीयले लास उठाउन नमान्दा तनाव उत्पन्न भएको थियो। बल्ल ४ बजेपछि मात्र सडक खुलाउन सफल भयौं।' उनका अनुसार ट्यांकरका चालक श्यामकुमार तामाङलाई सवारी ऐनअनुसार कारबाही अगाडि बढाइनेछ।

यसैगरी, बिहीबार नै नयाँ बानेश्वर सडकमा तीव्र रफ्तारकै कारण टिपरले पैदल हिँडिरहेकी ७१ वर्षीया लक्ष्मी रेग्मीलाई ठक्कर दिएको थियो। तीनकुनेबाट बबरमहलतर्फ जाँदै गरेको ना५ख २६१८ नम्बर टिपरले ठक्कर दिँदा शंखमुल निवासी रेग्मी गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी नारायण चिमोरियाले जानकारी दिए। चिमोरियाका अनुसार दुर्घटनालगत्तै सवारी चालक विजय तामाङलाई नियन्त्रणमा लिई सवारी ज्यानमा अनुसन्धान अगाडि बढाइएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका सडकमा टिपर र ट्यांकरको लापरबाही बढ्दै गएको छ। उपत्यकामा मात्र महिनामा औसतमा ६० भन्दा बढी टिपर तथा ट्यांकर दुर्घटना हुने गरेको तथ्यांकले देखाएको छ।

महाशाखाका अनुसार अधिकांश टिपर र ट्यांकर दुर्घटनाका कारण चालकको छाडा कुदाइ नै हो। चालकको तीव्र रफ्तारका कारण अधिकांश टिपरले अन्य सवारीलाई ठक्कर दिने घटना बढी हुने गर्दछ। टिपरले धेरैजसो मोटरसाइकल, साना सवारी र पैदलयात्रीलाई ठक्कर दिने गरेको महाशाखाको तथ्यांकले देखाएको छ। उपत्यकामा हुने दुर्घटनामा टिपर र ट्यांकरले झन्डै ३० प्रतिशत हिस्सा ओगट्छन्।

प्रकाशित: २३ वैशाख २०७३ २०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App