'उड्डयन क्षेत्रमा पनि केही नक्कली प्रमाणपत्रधारी रहेको सूचना आएकाले अनुसन्धान अघि बढाउँदै छौं,' ब्युरोका एक अधिकारीले भने, 'अहिले अनुसन्धानको प्रारम्भिक चरणमा छौं।'
यसअघि ब्युरोले चिकित्सा र इन्जिनियरिङ क्षेत्रका नक्कली प्रमाणपत्रधारीमाथि अनुसन्धान गरेको थियो। यस क्रममा १७ नक्कली चिकित्सक पक्राउ गरेका छन्।
१० नक्कली इन्जिनियर पक्राउ
पछिल्लो समय महानगरीय प्रहरी अपराध महाशाखाले इन्जिनियरको शैक्षिक योग्यता छानबिन गरिरहेको छ। यस क्रममा नक्कली प्रमाणपत्र र सरकारी कागजात पेस गरी नेपाल इन्जिनियरिङ परिषद्बाट लाइसेन्स लिएका १० जना पक्राउ परिसकेका छन्।
प्रहरीले वैशाख १४ गते नक्कली कागजपत्र बनाउन संलग्न अभियोगमा ललितपुरबाट सुवित र अंकित खड्कासँगै नक्कली इन्जिनियर हितेश सिंह, पूजनकुमार खत्री र सनत श्रेष्ठलाई पक्राउ गरेको थियो। उनीहरूले बिई फेल भए पनि पास भएको नक्कली शैक्षिक प्रमाणपत्र बनाई परिषद्बाट सिभिल इन्जिनियरको लाइसेन्स लिएको खुलेको छ। त्यसपछि अनुसन्धान कसिलो पारेको प्रहरीले थप सात जनालाई नियन्त्रणमा लिएको छ। वैशाख १६ गते मनीषकुमार यादव, कृष्णकुमार झा, पुष्पराज शर्मा, शेखर पन्जियार र सन्तोष लामालाई पक्राउ परे। पक्राउ परेकाहरूको बयानका आधारमा महाशाखाले शुक्रबार थप गोरखाका सन्देश घिमिरे र श्रीराम आचार्यलाई नक्कली प्रमाणपत्र देखाएर लाइसेन्स लिएको अभियोगमा पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
पक्राउ परेका सबै नेपाल इन्जिनियरिङ कलेज, दुवाकोटका सन् २०१४ का बिईका विद्यार्थी हुन्। यीमध्ये परिषद्बाट इलेक्ट्रोनिक इन्जिनियरको लाइसेन्स लिएका पन्जियार सुबिसुमा कार्यरत थिए। अन्य सबैले सिभिल इन्जिनियरको लाइसेन्स लिएको पाइएको छ।
परिषद्बाट हालसम्म ३ हजारभन्दा बढीले लाइसेन्स लिइसकेका छन्। लाइसेन्स लिएकाहरूको शैक्षिक प्रमाणपत्र नै नक्कली देखिएपछि परिषद्सँग समन्वयमा छानबिन अघि बढाइएको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए।
पक्राउ परेकामध्ये अधिकांशले विभिन्न इन्जिनियरिङ कलेजमा भर्ना भए पनि उत्तीर्ण हुन नसकेपछि अनुत्तीर्ण प्रमाणपत्रमै किर्ते गरी त्यसैको आधारमा परिषद्बाट लाइसेन्स लिएको महाशाखाको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
इन्जिनियरिङ परिषदले कलेजबाट लिएको शैक्षिक प्रमाणपत्रकै आधारमा बिनापरीक्षा लाइसेन्स दिने गरेको छ। परिषद्को सोही कमजोरीको फाइदा उठाउँदै उनीहरूले खड्काद्वयलाई पाँच लाख रुपैयाँसम्म दिएर नक्कली शैक्षिक प्रमाणपत्र र आवश्यक सरकारी कागजपत्र तयार पारी लाइसेन्स लिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए।
महाशाखाप्रमुख खनालका अनुसार नक्कली प्रमाणपत्रका भरमा नेपाल इन्जिनियरिङ परिषदमा दर्ता गराई केही व्यक्ति इन्जिनियरका रूपमा कार्यरत रहेको सूचना पाएपछि अनुसन्धान थालिएको हो। 'अहिले आएका थप सूचनाको पुनःपुष्टि, पक्राउ परेकासँग बयानमा केन्द्रित छौं,' उनले भने, 'प्रारम्भिक अनुसन्धानले नक्कली प्रमाणपत्रका आधारमा इन्जिनियर प्रमाणपत्र लिनेको संख्या बढ्ने देखाएको छ।'
नक्कली चिकित्सक खोजी जारी
नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएपछि मात्रै चिकित्सकका रूपमा काम गर्न पाइने कानुनी प्रावधान रहे पनि नक्कली चिकित्सकको संख्या उच्च रहेको सूचना पाएपछि ब्युरोले काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्सँग समन्वयमा २५ नक्कली चिकित्सकको नाम पहिल्याएको थियो।
नक्कली प्रमाणपत्रका आधारमा भारत, बंगलादेश, चीनलगायत देशको शैक्षिक प्रमाणपत्र ल्याएर काउन्सिल परीक्षा उत्तीर्ण वा त्यसबिनै चिकित्सकका रूपमा काम गर्ने १७ जनालाई ब्युरोले पक्राउ गरिसकेको छ। अधिकांश निजी र सरकारी अस्पतालमा कार्यरत उनीहरूमध्ये केही अनुसन्धानक्रममा हिरासतमा छन् भने केही अदालतबाट धरौटीमा छुटेका छन्।
पक्राउ परेकाहरूलाई काउन्सिलले निलम्बन गरेको छ। नक्कली चिकित्सक पक्राउपछि ब्युरोमा उजुरीको संख्या बढेको थियो। उजुरी र दर्ता चिकित्सकको प्रमाणपत्र अनुसन्धान प्रक्रिया जारी राखिएको ब्युरोका एक अधिकारीले जानकारी दिए।
प्रकाशित: १८ वैशाख २०७३ २१:०४ शनिबार


-600x400.jpg)


