२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

शरणार्थी गुरुङको हत्यामा संलग्न नौ जना पक्राउ

घटनामा संलग्न आरोपीलाई सार्वजनिक गर्दै प्रहरी। तस्बिर: भीम÷नागरिक

झापाको बेलडाँगी शिविरका भुटानी शरणार्थीको हत्यामा संलग्न आरोपमा प्रहरीले ९ जनालाई पक्रेको छ। पक्राउ परेकाहरूलाई इलाम प्रहरीले आज (शुक्रबार) बिहान सार्वजनिक गरेको छ।

असोज ५ गते साँझ ४ बजे इलामको चुलाचुली गाउँपालिका–५, बुकुवामा एलबी भनिने ४४ वर्षे लालबहादुर गुरुङको एक समूहले हत्या गरेको थियो। झापा र इलामको सीमा रतुवा खोलाको झोलुङ्गे पुलनजिक बोलाएर गुरुङमाथि कुटपिट र खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए। १०/१२ जनाको समूहले गुरुङलाई खुकुरी, ढुङ्गा प्रहार गर्दै खुट्टाको छेपारी, घुँडा र कुममा काटी गम्भीर घाइते बनाएर फरार थियो।  

घटनामा संलग्न आरोपमा प्रहरीले इलामकै चुलाचुली गाउँपालिका ४ का २५ वर्षे शिव हिङहाङ भनिने नरेन्द्र दर्जी, त्यहींका २९ वर्षे झ्याम्ले भनिने नरेशकुमार याक्खा,२१ वर्षे अभिषेक केरुङ, २० वर्षे सेसे भनिने सेसेयाङ याक्खा, ३३ वर्षे सन्तु भनिने चन्द्रकुमार यवा, ३५ वर्षे डम्बर यवा, ३० वर्षे टीका भनिने नरेन्द्र तुम्रोक, २६ वर्षे विक्रम हिङमाङ (नेपाली) र २९ वर्षे पर्शु राईलाई पक्राउ गरेको हो। उनीहरूलाई विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार असोज २ गते गुरुङले टीका भनिने नरेन्द्र तुम्रोकका भाइ सुजनलाई कुटपिट गरी नगद २ हजार रुपैयाँ खोसेका थिए। त्यसैको बदला दिन स्थानीय युवाको समूहले गुरुङको हत्या गरेको एसपी घिमिरेले जानकारी दिए। ‘स्थानीय चोर दावा भनिने दावा तामाङसँग गुरुङको पहिलादेखि नै रिसइबी रहेछ, गुरुङले तामाङलाई खोजिरहेको अवस्थामा यो समूहले दावालाई हामीले पक्राउ गरेका छौं, आउनू भनी बोलाए,’ एसपी घिमिरेले भने, ‘मृतक गुरुङकी पत्नीको मोबाइलमा सम्पर्क गरी घटनास्थलमा गुरुङलाई बोलाएको देखिन्छ।’मृतक गुरुङको पृष्ठभूमि पनि आपराधिक नै देखिएको प्रहरीको भनाइ छ। मृतक गुरुङ विभिन्न अपराधमा संलग्न भइ जेल सजाय सकेर भर्खरै छुटेका हुन्।  

गुरुङले टोलभर ‘दादागिरी’ गरी आफूहरूलाई निकै दुःख दिनेगरेको स्थानीयले पनि बताएको प्रहरी भनाइ छ।  समूहको आक्रमणपछि गम्भीर घाइते गुरुङलाई उपचारका लागी झापाको लाइफलाइन अस्पतालमा लगिएकामा त्यहाँ उपचार हुन नसक्दा बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको थियो। अस्पतालले उनलाई असोज ५ गते साँझ ६ बजे मृत घोषणा गरेको थियो।

प्रकाशित: ७ आश्विन २०७९ ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App