१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

चोरेर विदेश पुर्‍याइएका मूर्ति फिर्ता ल्याउनेक्रम तीव्र

भदौ ८ गते न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र न्युयोर्कस्थित मनहाटन सरकारी वकिलको कार्यालयबीच सन् १९६० को दशकमा काठमाडाैंबाट हराएको दुर्गा भवानीको पुरातात्विक मूर्ति नेपाल फिर्ता गर्ने सहमति भयो।  

१४ औँ देखि १८ औँ शताब्दी आसपासको यो मूर्ति एक कार्यक्रमबीच मनहाटनका जिल्ला सरकारी वकिल अलभिन एल ब्रागले कायममुकायम महावाणिज्यदूत विष्णु गौतमलाई हस्तान्तरण गरेका थिए। गैरकानुनी रूपमा स्वामित्वमा लिइएको उक्त मूर्ति गत मार्चमा १२ हजारदेखि १८ हजार अमेरिकी डलर मूल्यमा बिक्रीका लागि लिलाममा राखिएको थियो। उक्त मूर्तिलाई पुरातात्विक विभागसँगको सहकार्यमा छिटै नेपाल फर्काउने तयारी भइरहेको छ।  

गत वैशाख २३ गते न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र अमेरिकाको येल युनिभर्सिटी आर्ट ग्यालेरिबीच नेपालका बौद्धदेवी तारा पार्वतीको प्रस्तर मूर्ति नेपाल फिर्ता गर्ने सहमति भएको थियो। नवौँ वा दशौँ शदाब्दीतिर बनेको उक्त मूर्ति वि.सं. २०३२ सालसम्म भक्तपुरको गोलमाडीस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्र रहेको थियो। उक्त मूर्ति सन् २०१५ मा येल युनिभर्सिटी ग्यालेरीले एक दाताबाट प्राप्त गरेको थियो। हालै मात्र लण्डनबाट फिर्ता गरिएका १६ आँै वा १७ औँ शदाब्दी आसपासका दुई पुरातात्विक मूर्ति पुरातत्व विभागमा आइपुगेका छन्। सन् १९८०–९० को दशकमा चोरी भएका दुई पुरातात्विक कलाकृतिमा काठमाडौं महानगरपालिका २३ को मञ्जुश्री मन्दिर नजिक ओम बहालमा रहेको प्रस्तरबाट बनेको मूर्ति र काठमाडौंकै कुमारी बहालमा रहेको तोरण लन्डनस्थित नेपाली दूतावास, लन्डन मेट्रो पुलिसको सहयोग तथा पर्यटन मन्त्रालय र अर्थमन्त्रालयको समन्वयनमा नेपाल ल्याइएको हो। ती मूर्ति गत मार्चमा लन्डन मेट्रो पुलिसले नेपाली दूतावासलाई हस्तान्त्रण गरेको थियो।  

पछिल्लो समय विभिन्न समयमा नेपालबाट चोरी भएका ऐतिहासिक तथा पुरातात्विक महत्वका मूर्ति नेपाल फर्काउने प्रक्रिया तीव्रताका साथ भइरहेको छ। त्यसक्रममा हालसम्म नेपालबाट चोरी भएका ९३ वटा पुरातात्विक महत्वका मूर्ति नेपाल फिर्ता आइसकेको पुरातत्व विभागकी सूचना अधिकारी सुभद्रा भट्टराईले जानकारी दिइन्। गत वैशाखदेखि यो भदौसम्म १९ वटा मूर्ति नेपाल फिर्ता ल्याइएको उनले जानकारी गराइन्। यसरी फिर्ता गरिएका मूर्तिमध्ये अधिकांश अमेरिकाबाट फिर्ता भएका र त्यसबाहेक बेलायतलगायतका मुलुकहरूबाट पनि फिर्ता भइरहेको उनले जानकारी दिइन्। सन् १९८० को दशकमा हराएको मूर्ति दश दश हजार पाउन्डको अन्तर्राष्ट्रिय मूल्य बजार कायम गरेर बेच्न राखिएको थियो।

विभागले थप करिब एक सय पुरातात्विक महत्वका मूर्ति फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको उनले बताइन्। हाल जर्मनीबाट पनि ३० वटा मूर्ति फिर्ता ल्याउने क्रममा रहेको विभागले जनाएको छ। त्यस्तै फान्स, बेलायतलगायतका मुलुकहरूबाट पनि मूर्ति फिर्ताका लागि प्रयास भइरहेको छ। 

प्रकाशित: २२ भाद्र २०७९ ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App