४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

‘कुकुर कामी’बाट कविराम

सच्याइएको नागरिकताको प्रमाणपत्र पाएपछि कविराम कामी र कर्णबहादुर कामी। तस्बिर: नागरिक

‘अहिलेसम्म पशुतुल्य थिएँ, आजदेखि मानव भएँ, नामकै कारण मलाई र मेरा सन्तानलाई अब कसैले पनि होच्याएर बोलाउने छैनन्, गिज्याउने छैनन्, निर्धक्क भएर छोराछोरीले नागरिकताको प्रमाणपत्र बनाएर समाजका सामु देखाउन पाउनेछन्,’ नागरिकतामा लेखिएको ‘कुकुर कामी’का कारण अपहेलित हुँदै आएका कविरामले आइतबार सच्याइएको नागरिकता पाएपछि यसरी खुसी व्यक्त गरे।  

‘कुकुर कामी’का कारण कविराम मात्रै अपहेलित भएनन्, उनका सात छोराछोरीले समाजका अगाडि बुवाको नाम उच्चारण गर्न पनि सकेनन्। बुवाको नागरिकतामा लेखिएको नामका आधारमा सातमध्ये तीन सन्तानले मात्रै नागरिकता बनाए। अन्यले बुवाको अपहेलित नामकै कारण नागरिकता बनाएका छैनन्। नागरिकता बनाएका एक छोरी र दुई छोराले पनि सरकारी तथा अन्य कार्यालयमा बुवा र आफ्नो नागरिकता पेस गर्न सकेनन्। कतिसम्म भने माइलो छोरा सन्तरामले त वर्षौंसम्म बुवा र आफ्नो नागरिकता घरभित्रै लुकाएर राखे।

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको हातबाट कविराम भनेर सच्याइएको नागरिकता पाउँदा उनको अनुहारमा छुट्टै चमक थियो। ‘विभिन्न जिल्लामा धेरैलाई मैले नागरिकताको प्रमाणपत्र वितरण गरेको छु। कविरामको अनुहारमा देखिएको यो खुसी मेरा लागि सधैं स्मरणयोग्य हुनेछ,’ नागरिकता हस्तान्तरणपछि प्रजिअ प्याकुरेलले भने, ‘नामकै कारण समाजमा अपहेलित धेरैको अनुहारमा खुसी ल्याउन अझै बाँकी छ।’

२०१७ पुस २५ गते जन्मिएका कविरामले २०४६ जेठ ७ मा तत्कालीन मेहेलतोली गाउँ पञ्चायतबाट नागरिकताको सिफारिस पाएका थिए। प्रधानपञ्च बखतबहादुर खड्काले नागरिकता सिफारिसमा कविरामको नाम ‘कुकुर’ राखिदिए। त्यही नामबाट सरकारी अधिकारी दुर्गाप्रसाद गिरीले नागरिकताको प्रमाणपत्र दिए उनलाई।  

खासमा उनको राशिको नाम कविराम थियो। यो कुरा आमाले उनलाई भनेकी थिइन्। निरक्षर कविरामले आफ्नो नागरिकताको प्रमाणपत्रमा अपमानजनक नाम लेखिएको कुरा धेरै पछि थाहा पाए। ‘आमाले राशिको नाम कविराम हो भन्नुहुन्थ्यो, सिफारिस लिन जाँदा पनि कविराम नै भनेको थिएँ,’ उनले भने, ‘सिफारिस गर्ने र नागरिकता दिने दुवैले मेरो नाम फेरेर कुकुर राखिदिएछन्।’

कविरामले नागरिकता बनाउन बाँकी रहेका सन्तानको पनि चाँडै नागरिकता बनाउने बताए। ‘मेरो नागरिकता प्रमाणपत्रमा लेखिएको नामका कारण एक छोरी र दुई छोराबाहेक अरूले नागरिकता पनि बनाउन मानेनन्,’ उनले भने, ‘मेरो नाम सच्चियो, अब बाँकी छोराछोरीको पनि चाँडै नागरिकता बनाउँछु।’ ‘कुकुर कामी’का नाममा भएका उनका अन्य प्रमाणपत्र खारेज हुनेछन्।  

कविरामसँगै नागरिकताको प्रमाणपत्रमा ‘ठगे कामी’ लेखिएका कर्णबहादुरले पनि नागरिकताको नयाँ प्रमाणपत्र पाएका छन्। साबिक कट्टी गाविस–६, हाल भगवतीमाइ गाउँपालिका–५ का उनले नागरिकता महलमा कर्णबहादुर कामी लेखिएको नयाँ नागरिकताको प्रतिलिपि पाएका हुन्। नामकै कारण अपमानित हुँदै आएका कर्णबहादुरले साउन २९ गते जिल्ला प्रशासन कार्यालयमा नाम सच्याउन निवेदन दिएका थिए।

फेरि अर्का ‘कुकुर कामी’

दैलेखमा नागरिकतामा अपहेलित नाम राखिएका कविराम मात्रै एक्ला होइनन्, यस्ताखाले नाम राखेर धेरैलाई नागरिकता दिइएको छ। गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनापछि आइतबारसम्म २५ जनाले नाम सच्याइदिन लिखित र मौखिक रूपमा प्रशासनलाई आग्रह गरेका छन्।  

भगवतीमाई गाउँपालिकामै अर्का एकजनाको नागरिकतामा नाम ‘कुकुर’ लेखिएको भेटिएको छ। प्रजिअ प्याकुरेलका अनुसार ती व्यक्तिलाई वडाको सिफारिससहित नाम सच्याउन जिल्ला प्रशासन कार्यालयमा आउन भनिएको छ। उनका अनुसार दैलेखमा हालसम्म नागरिकतामा अपमानित नाम २५ जनाभन्दा धेरै भेटिएका छन्। ‘स्थानीय तहलाई अपमानित नाम राखिएकाको तथ्यांक संकलन गर्न र सिफारिससहित पठाउन आग्रह गरिएको छ,’ प्रजिअ प्याकुरेलले भने, ‘नागरिकतामा अपमानित नाम राखिएका अझै धेरै हुन सक्ने अनुमान गरेका छौं।’

प्रजिअ प्याकुरेलले स्थानीय तहले नागरिकताको सिफारिस दिँदा पनि ध्यान पुर्‍याउनुपर्ने बताए। ‘अपमान जनाउने खालका नाम भए सच्याएर सिफारिस गर्न सबै स्थानीय तहलाई आग्रह गरेका छौं, उनले भने।

प्रकाशित: ६ भाद्र २०७९ ०१:२३ सोमबार

नागरिकता