सप्तकोशी नदीमा निरन्तर पानीको वहाव बढ्दो छ। मंगलबार दिउँसो १ बजेको मापन अनुसार पानीको बहाव दुई लाख ३७ हजार ४४५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ।
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये ३४ वटा खुल्ला गरिएको छ। दुई दिनयता निरन्तर रुपमा कोशी नदीमा पानीको वहाव बढ्दो छ। पानीको वहाव बढेसँगै बराहक्षेत्रका विभिन्न स्थानमा कटान समेत गर्न थालेको छ।
यतिबेला पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ। कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने वितिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। दुई लाख काटनेवितिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव तीन लाख काटनासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ। खासगरी पहाडी जिल्लामा वर्षा भएसँगै कोशीमा पानीको वहाव बढ्ने गर्छ।
कोशी व्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ। तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिनु र पछिल्ला बर्षमा पानीको वहाव चार लाखभन्दा मुनी नै रहेकाले गर्दा कुनै अनुमान लगाउन सक्ने अवस्था छैन।
२०६५ भदौ–२ गते सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यतिबेला कोसी गाउँपालिकाका चारवटा वस्ती डुब्दा ७ हजार ५ सय ६३ परिवार विस्थापीत भएका थिए।
प्रकाशित: १७ श्रावण २०७९ ०९:१३ मंगलबार