१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सिकाइ आदानप्रदान गर्दै स्थानीय सरकार

फाइल तस्बिर।

एउटा स्थानीय तहले गरेका राम्रा कामलाई अर्को स्थानीय तहले लागू गर्न सहज हुने भन्दै बैतडीका स्थानीय तह सिकाइ आदानप्रदानमा लागेका छन्। अन्तरपालिका समन्वयात्मक बैठकमार्फत् पालिकाहरुले अनुभव र सिकाइहरु आदानप्रदान गर्न थालेका हुन्।

स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएसँगै पालिकाहरुका कामलाई प्रभावकारी बनाउन अन्तरपालिका समन्वयात्मक बैठकमार्फत पहल सुरु भएको पुर्चौडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए। उनले भने ‘हामीले पहिलो पटक अन्तरपालिका समन्वयात्मक बैठक गरेका छौं। यसबाट धेरै कुराको सिकाइ भएको छ। जसले गर्दा भोलिका दिनमा सरकार सञ्चालन गर्न हामीलाई सहज हुनेछ।’

आइतबार दशरथचन्द नगरपालिकामा आयोजना गरिएको अन्तरपालिका समन्वयात्मक बैठकमा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो। बैठकले सुशासन, विकास र सेवा प्रवाहका विषयमा पालिकाहरुबीच साझेदारी गर्ने र असल अभ्यास आदानप्रदान गर्ने निर्णय गरेको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताए।

स्थानीय तहहरुबीच असल अभ्यासका विषयमा सिकाइ आदानप्रदान गर्न अन्तरपालिका समन्वयात्मक बैठकले सहज भएको छ। विपद् व्यवस्थापनका लागि समेत एकआपसमा सहयोग आदानप्रदान गर्ने सहमति जनाएका छन्। सीमा जोडिएका पालिकाहरुले विपद् व्यवस्थापनका लागि निरन्तर समन्वय र सहकार्य गर्ने निर्णय भएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए।  अन्तरपालिका समन्वयात्मक बैठकलाई निरन्तरता दिँदै अर्को बैठक आगामी भदौ १५ गते पाटन नगरपालिकामा आयोजना गरिने समेत मेयर रावलले बताए।

प्रकाशित: १६ श्रावण २०७९ ०९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App