३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कर्णाली किनारमा बाढीको त्रास

कर्णाली नदी। तस्विर: योगेश रावल

जब आकाशमा कालो बादल मडारिन्छ तब कर्णाली नदी किनारका बासिन्दालाई निद्रा पर्दैन। उनीहरु कतिबेला बस्तीतिर कर्णाली फर्किन्छ भन्ने त्रासमा रात बिताउँछन। यो नदी किनारका बासिन्दाको वर्षेनीको समस्या हो। उनीहरु हरेक वर्षायाममा यसरी नै रात बिताउन वाध्य छन।  

कर्णाली नदीले कैलालीको पूर्वी भेगमा हरेक वर्ष बितण्डा मच्चाउछ। टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका केही बस्ती नदीको बितण्डाका सिकार हुने गरेका छन। बितण्डामा कतिले ज्यान गुमाउँछन कतिले खाद्यान्न, लत्ताकपडा, चौपाया लगायत गुमाउँछन। कैयौं विगाह खेतीयोग्य जमिन वर्षेनी बगरमा परिणत भैरहेको छ।

हरेक वर्ष कर्णाली नदीको बहाव बस्तीतर्फ बढिरहेको छ। कतिपय बस्ती बाढीको उच्च जोखिममा छन। खासगरी टीकापुर नगरपालिकाका शाहीपुर, सिमरेनी, सत्ती, सूर्यपुर, बटनपुर, वनगाउँ, फाँटा लगायतका बस्ती उच्च जोखिममा छन। त्यहाँका सयौं घरपरिवार बाढीको त्रासमा बाँच्न विवश छन।  

‘प्राय हरेक रात त्रासमै बित्छन’ टीकापुर नगरपालिका–८ वनगाउँका आशाराम चौधरीले भने,‘बाढीसँगै बाँच्नु हाम्रा लागि नियती नै भैसक्यो ।’

गतवर्ष टीकापुर नगरपालिका–५ शाहीपुर नजिकै कर्णाली नदीले बाँध भत्कायो। नदीले वडा नं. ५, ६, ७ र ८ का केही बस्तीमा क्षति पुर्‍यायो। केही घर भत्किए। सयौं विगाह धान खेती नष्ट भयो। किसानले खेतमा काटेर राखेको धान समेत स्याहार्ने मौका पाएनन्।  

यसवर्ष नदीले भत्काएको ठाउँमा रोकथामको प्रयास गरिएको छ। तर त्यो प्रभावकारी नभएको स्थानीयको गुनासो छ। उनीहरु फेरी पनि नदीले सोही ठाउँमा भत्काउने खतरा रहेको बताउँछन। नदीमा पानीको सहत बढ्दै गर्दा शाहीपुरको बाँध फेरी भत्किने त्रास स्थानीयमा छ।  

‘त्यहाँ भरपर्दो रोकथाम भएकै छैन’ टीकापुर नगरपालिका–७ सत्तीका आकाश विकले भने,‘यो वर्ष पनि फेरी उस्तै दुःख पाईने निश्चित छ।’

शाहीपुरको भन्दा ठूलो खतरा सनकट्टीमा देखिएको छ। नदीको पूर्वतर्फ बर्दियाको भूभागमा तटबन्ध गरिएको छ। सो तटबन्ध निर्माणका क्रममा नदीको बहावलाई पश्चिमतर्फ फर्काइयो। तटबन्ध निर्माणको काम सम्पन्न भएपछि नदीको बहावलाई यथावत रुपमा फर्काउनु पर्ने हो। तर त्यसो गरिएन। अहिले नदी पश्चिम तर्फ बगिरहेको छ। नदीको बहावलाई यथावत रुपमा फर्काउन स्थानीयले दवाव समेत दिएका थिए। निर्माण पक्षले स्थानीयको दवावलाई वेवास्ता गर्यो।  

‘हाम्रो कुरा कसैले सुन्दै सुनेन। जबरजस्ती नदी पश्चिम तर्फ फर्काईयो’ टीकापुर नगरपालिका–२ राजीपुरका रणबहादुर धामीले भने–‘यसले हामीलाई ठूलो संकट निम्त्याउने देखिन्छ।’

चिसापानी पुगेपछि कर्णाली नदी मुख्य गरी दुई भागमा बाँडिएको छ। एउटा बर्दियाको कोठियाघाट हुँदै र अर्को बर्दिया र कैलालीको सिमाना हुँदै बग्छ। त्यस बाहेक अन्य थुप्रै स–साना भँगलाहरु पनि छन।

२०६४ साल अघिसम्म नदीको अधिकांश बहाव कोठियाघाट तर्फ थियो। सो वर्ष आएको बाढीले नदीको बहावलाई पश्चिमतर्फ फर्कायो। कुनैबेला वर्षको ३ महिना मात्रै डुङ्गा चल्ने बर्दिया र कैलालीको सिमानामा त्यसपछि बाह्रै महिना डुङ्गा चल्ने गरेको छ।  

यसरी नदीको बहाव एकाएक पश्चिमतर्फ मोडिनुको मुख्य कारण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन हो। पूर्वतर्फ बर्दिया राष्ट्रिय निकुञ्जले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ भने पश्चिमतर्फ अनियन्त्रित रुपमा उत्खनन भैरहेको छ। जसका कारण नदीको बहाव वर्षेनी पश्चिमतर्फ बढिरहेको छ।

प्रकाशित: १६ श्रावण २०७९ ०७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App