४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

नेपालगञ्जको तातो हावाबारे अध्ययन हुँदै

नेपालगञ्जको तापक्रम र तातो हावा (लु) बारे यहाँ अध्ययन सुरु भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले बढ्दो तापक्रम (लु) न्यूनीकरणका लागि आवश्यक कदम चाल्न र त्यसको असरबारे अध्ययन थालेको हो।

जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीको आयोजनामा तातो हावासम्बन्धी कार्यशालामा उपमहानगर प्रमुख प्रशान्त विष्टले नेपालको सबैभन्दा बढी गर्मी हुने सहरमा  ‘हिटवेभ’सम्बन्धी अध्ययन भइरहेको र अध्ययन प्रतिवेदनको आधारमा योजनाबद्ध तरिकाले काम अगाडि बढ्ने बताए।

उहाँले तातो हावा कम गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै यसमा सरोकारवाला व्यक्तिको सहयोग आवश्यक पर्ने जानकारी दिए। कार्यशालामा नरेडक्रसले नेपालगञ्जलाई केन्द्रित गरी तातो हावाका सम्बन्धमा गत वर्ष गरेको अनुसन्धानात्मक अध्ययनको निष्कर्ष प्रस्तुत गरिएको थियो। अनुसन्धानमा नेपालगञ्जमा उच्च तापक्रम भएका वडाहरु, तातो हावाका  कारण सङ्कटासन्न वडा एवं समूह, यसले पारेको असर न्यूनीकरणका लागि गरिएका गतिविधि र आगामी दिनमा गर्न सकिने पहलबारे प्रस्तुती  गरिएको थियो।

कार्यशालामा सहभागी अधिकांशले ‘हिटवेभ’को असरलाई कम गर्न स्थानीय तहले सक्रियता देखाउनुपर्ने, जलसञ्चय हुने पोखरी तथा तालहरु संरक्षण गर्नुपर्ने र खुला स्थानमा वृक्षरोपण गरी हरियाली गर्नुपर्नेमा जोड दिएका थिए।  रेडक्रसका सभापति गोवद्र्धन सिंहले ‘हिटवेभ’का बारेमा  बारेमा चर्चा गर्दै समुदायको क्षमता विकासमा रेडक्रसले सहयोग गर्ने बताए। रेडक्रसका विपद् तथा सङ्कट व्यस्थापन विभाग निर्देशक विपुल न्यौपानेले ‘हिटवेभ’सम्बन्धी छलफल र नेपाल सरकारको निकायले दिएको तथ्याङ्कको आधारमा ‘हिटवेभ’को रिपोर्ट तयार गरिएको जानकारी गराए।  

रेडक्रसले नमूनाका रुपमा नेपालगञ्जमा सञ्चालन गरिरहेको ‘हिटवेभ’ प्रतिकार्य कार्यक्रमबाट जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको जनाएको  छ। कार्यक्रममा परामर्शदाता  आश्मा सुवेदीले अध्ययन प्रतिवेदन र युनिसेफका नरेश निदालले सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनामा समुदायस्तरको अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रकाशित: ६ श्रावण २०७९ ०७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App