हेटौँडा क्याम्पसमा परीक्षा दिन पुगेका दुई छात्रालाई चिट लुकाएको भन्दै दुर्व्यवहार गरेको आरोप लागेका कार्यालय सहयोगीलाई क्याम्पस प्रशासनले निलम्बन गरेकाे छ। प्रशासनले सर्वपक्षीय बैठक राखेर दुईजना कार्यालय सहयोगीलाई निलम्बन गरेको हो।
मकवानपुरमा क्रियाशील विद्यार्थी संगठनका प्रतिनिधि, अविभावक तथा क्याम्पस प्रमुख रहेको सर्वपक्षीय बैठकले दुई कर्मचारीलाई अब कुनैपनि परीक्षा सञ्चालनमा सहभागी हुन नपाउने गरी निलम्बन गर्ने सहमति गरेको हो। बैठकले चार बुँदे सहमतिसहित ३ दिनभित्र प्रतिवेदन पेस गर्नेगरी छानबिन समिति पनि बनाएको छ।
विद्यार्थीहरूले दोषीलाई कारबाहीको माग गर्दै आज क्याम्पस परिसरमा नाराबाजी र तोडफोड गरेका थिए। विद्यार्थीले गरेको ढुंगा प्रहारबाट क्याम्पसको सिसा फुटेको छ भने अन्य क्षति भएको छ। मकवानपुर बहुमुखी क्याम्पसका पीडित विद्यार्थीले आफू महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’ मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको आराेप लगाएका छन्।
प्रकाशित: ४ श्रावण २०७९ ०८:०१ बुधबार