८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

फाइल तस्बिर।

विराटनगरमा एक जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ। रंगेलीमा खोला किनारमा शव भेटिएको छ भने सुन्दरहैँचामा एक जनाको खेतमा घोप्टी परेको अवस्था शव फेला परेको हो। मृत्यु भएका ३ जना पुरुष रहेका छन्।

रंगेली नगरपालिका–१ स्थित केसलिया खोलाको किनारमा शनिबार बिहान एक जना पुरुषको शव फेला परेको छ। खोलामा आएको बाढीले लडाएको जेरीको रुखमा अड्किरहेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।  

सडेर दुर्गन्धित भएको अवस्थामा शव भेटिएको छ। खोला किनारमा भेटिएको शवको पहिचान भएको छैन्। ‘शव कुहिएका कारण घटना भएको निक्कै लामो समय भइसकेको हुनुपर्छ,’ डिएसपी श्रेष्ठले भने, ‘बाढी आएका बेला मानिसलाई खोलाले बगाएर ल्याइ शव रुखमा अड्किएर रहेको हुन सक्छ।’ घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालेको जनाएको छ।  

त्यस्तै, शुक्रबार साँझमा कोसी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–१३ रोडशेष चोकमा भारतीय ट्रकले ठक्कर दिँदा साइकलयात्री सुनसरीको बर्जु गाउँपालिका–२ अमडुवाका ४५ वर्षीय सनेन्दर रायको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  

दुर्घटनामा विराटनगर–६ सरोचियाका २३ वर्षीय शम्शेर आलम सामान्य घाइते भएका छन्। उत्तरबाट दक्षिणतर्फ तीव्र गतिमा जाँदै गरेको डब्लु बि २३ बि ४९६१ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रकका चालक भारतीय नागरिक ५० वर्षीय सञ्जयकुमार यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।  

यसैगरी, सुन्दरहरैँचा नगरपालिका–८ मा पूर्वाञ्चल विश्वविद्यालय नजिकको बाँझो खेतमा खोप्टो परेको अवस्थामा अन्दाजी ३५/३६ वर्षीय पुरुषको शव शुक्रबार भेटिएको थियो। 

प्रकाशित: २५ असार २०७९ ०८:०६ शनिबार

दुर्घटना