१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश १ मा बढ्दो लागुऔषध कारोबार

विराटनगरमा लागुऔषधसहित पक्राउ परेका व्यक्तिहरू। फाइल तस्बिरः नागरिक

नेपाल–भारतबीच खुला सीमाको फाइदा उठाउँदै लागुऔषध कारोबारीले आफ्नो कारोबार बढाएका छन्। प्रत्येक वर्ष प्रदेश १ मा लागुऔषध कारोबार बढेको प्रहरीको तथ्यांकले देखाएको छ।  

प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुरका क्षेत्रबाट बढी मात्रामा लागुऔषधको कारोबार र लागुऔषध प्रयोगकर्ता भेटिएका छन्। खुला सीमा र दुई मुलुकबीच जोडिएको बस्तीको फाइदा उठाउँदै लागुऔषधको ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ। प्रहरीले प्रदेशका मुख्य नाकामा कडाइ गरे पनि खुला सीमाका कारण अन्य क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी परिचालन गर्न नसक्दा कारोबारी र प्रयोगकर्तालाई फाइदा पुग्ने गरेको हो।  

मोरङसँग ६३ किलोमिटर खुला सीमा र दुवैतर्फ जोडिएको बस्तीलाई लागुऔषध कारोबारीले प्रयोग गरेका छन्। लागूऔषधको कारोबारमा १५ देखि ३५ वर्ष उमेर समूहका युवायुवतीको संलग्न रहेको प्रहरीले जनाएको छ। पारिवारिक तनाव, बेरोजगारी, असफल प्रेम, साथीको लहैलहैमा लागेर, आर्थिक अवस्था कमजोर, छिटो पैसा कमाउनेलगायतका कारणले गर्दा लागुऔषधको कारोबार र प्रयोगकर्ता बढेको हो। कतिपय लागुऔषधको कारोबार मात्रै गर्ने भेटिएका छन् भने केही भारत गएर लागुऔषध सेवन गर्ने र आफूलाई खानका लागि बोकेर ल्याउने गरेका छन्।  

१५ देखि ३५ वर्षसम्मका युवायुवतीहरू बढी मात्रामा छन् भने अन्य उमेर समूहका महिला पुरुष लागु पदार्थ सेवन गर्ने र कारोबारसमेत गर्ने गरेका छन्। प्रदेश १ को झापाको काँकरभिट्टा, सुनसरीको भन्टाबारी र मोरङको जोगबनी, रंगेली नाकालगायत आसपासका क्षेत्रबाट लागुऔषध बढी कारोबार हुने गरेको छ। आर्थिक वर्ष २०७८/०७९ को जेष्ठ महिनासम्म ६ सय ९१ वटा लागुऔषध सम्बन्धीका मुद्दा दर्ता भएका छन्। ९ सय ३४ पुरुष र ४९ जना महिला पक्राउ परेका छन् भने १९ पुरुष र २ महिला फरार रहेका छन्। जेष्ठ महिनासम्म सबैभन्दा बढी मोरङमा २ सय ६५ मुद्दा दर्ता भएका छन् भने झापामा १ सय ८३ र सुनसरीमा १ सय ५९ वटा मुद्दा दर्ता भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

त्यस्तै, २०७७/०७८ मा ६ सय ८० मुद्दा दर्ता भए भने ९ सय ७२ पुरुष र ७३ महिला गरी १ हजार ४५ जनालाई पक्राउ परे। यस्तै २०७६/०७७ मा ५ सय ३० वटा मुद्दा दर्ता भए भने ७ सय ६१ पुरुष र ३५ महिला गरी ७ सय ९६ जना पक्राउ परे। आर्थिक वर्ष २०७५/०७६ मा ५ सय ८१ वटा मुद्दा दर्ता भए भने ८ सय २४ पुरुष र २४ महिला गरी ८ सय ४८ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालयका तथ्यांकमा उल्लेख छ।  

लागुऔषधको अन्तर्राष्ट्रिय बजारमा महँगोमा बिक्री हुने आइसलगायत चरेस, अफिम, गाँजा, डाइजेपाम, फेनारगन, नाइट्रोजन, फेन्सिडल, डाइजेक्स जस्ता लागुऔषध बढी कारोबार हुने गरेको छ।  

नेपालमा नियन्त्रित लागुऔषध भनिने औषधि सीमावर्ती भारतीय बजारका औषधि पसलमा बिक्री हुन्छ। १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले लागुऔषध कारोबार र प्रयोगकर्ता १८ देखि २४ वर्षसम्मका अधिकांश भेटिएका छन्। उनका अनुसार १८ वर्षमुनिका पनि केही संख्यामा प्रयोगकर्ता भेटिएको र उनीहरूले आफूले प्रयोग गर्नका लागि ल्याउने गरेको पाइएको छ। '२५ वर्षमाथिको विभिन्न उमेर समूहका व्यक्तिहरू लागुऔषध ओसारपसरा कारोबारमा बढी संलग्न भएको छन्। ५०/६० वर्षका व्यक्तिहरू पनि प्रयोयकर्ता फेला परेका छन्। उनीहरू पारिवारिक तनाव, आर्थिक समस्या र साथीहरूको संगतमा लागेर यसमा फस्ने गरेका छन्,' एसपी राईले भने। ‘लागुऔषध कारोबार र प्रयोगकर्तालाई नियन्त्रण गर्न विशेष प्रहरी परिचालन गरेका छौं,’ एसपी राईले भने, ‘सामाजिक अगुवाहरूसँगको समन्वयमा लागु पदार्थविरुद्ध जनचेतना मूलक कार्यक्रम, विद्यालय र कलेजमा गएर त्यसबाट हुने असरबारे विद्यार्थीहरूलाई जानकारी गराउनुका साथै बुझाउने गरिएको। ८ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीहरूलाई सचेतना मूलक कक्षा लिने गरेका छौं।’  

लागुऔषधमा फस्ने ८ देखि १२ कक्षाका बढी हुने भएकाले पनि यसमा विशेष जोड दिँदै आएको हो। विद्यालयका अन्य कक्षाका साना बालबालिकालाई पनि लागुऔषधविरुद्ध सचेना दिने काम निरन्तर गरिरहेको बताउँदै, एसपी राईले भने, ‘विद्यालयमा लागुऔषध मात्र नभई ट्राफिक सचेतना र समाजमा हुनसक्ने आपराधिक गतिविधिका घटनाबारेमा पनि सचेत हुन जरुरी छ।’  

नेपाल–भारत दुवै देशमा लागुपदार्थ ओसारपसार हुने गरेको छ। प्रदेश १ बाट भारततर्फ अत्याधिक गाँजा जाने गरेको पाइएको छ। भारतबाट विभिन्न किसिमका लागुपदार्थ यहाँ भित्रिने गरेको एसपी राईले बताए। लागुपदार्थ कारोबारीले भारतलाई ट्रान्जिट बनाएर नेपाल ल्याउने गरेका छन्। प्रदेश १ को विशेष गरी भोजपुर, धनकुटा र उदयपुरमा गाँजा खेती हुने गरेको छ। त्यस क्षेत्रका प्रहरीले बर्सेनि गाँजा फडानी गर्दै आए पनि उनीहरूले लुकाएर खेती गर्न छाडेका छैनन्।  

गाँजा कारोबारीले कोसी नदीलाई प्रयोग गरेर भोजपुरलगायत पहाडी क्षेत्रबाट सुनसरी र गाईघाट हुँदै ल्याउने गरेका छन्। गाईघाटबाट मधेस प्रदेश हुँदै र मोरङ तथा सुनसरीको नाकाबाट गाँजा भारत लैजाने गरेका छन्। लागुपदार्थ ओसारपसार र प्रयोग नियन्त्रणका लागि विशेष छुट्टै युनिट बनाएर काम भइरहेको छ एसपी राईले बताए।  

'छोराछोरी कुलतमा फस्न नदिन अभिभावको महत्वपूर्ण भूमिका हुन्छ। उनीहरू कहाँ जान्छन् ? के गर्दै छन् भन्ने कुरा अभिभावकले बुझ्नु पर्छ,' एसपी राईले भने।

प्रकाशित: २३ असार २०७९ ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App