१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

सरकारी हात्तीलाई मात्र वनभोज खुवाएको भन्दै विवाद

सौराहामा हात्तीलाई वनभोज। तस्बिर: नागरिक

चितवनको पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको विषय पेचिलो बन्दै गएको छ। पर्यटन प्रर्वद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले बिहीबार सौराहामा रहेका हात्ती व्यवसायीसँग समन्वय नगरि केही निजी र सरकारी हात्तीलाई मात्र वनभोज खुवाएको भन्दै विवाद उत्पन्न भएको हो।  

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, क्षेत्रीय होटल संघ चितवन, रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहा, नेचर गाइड एसोसिएसन र साना पर्यटन व्यवसायी समूहले हात्ती वनभोजको विरोध गरेका छन्।  

ती संस्थाहरुले शुक्रबार नै सौराहामा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन प्रर्वद्धनका लागि विनियोजन गरिएको बजेट दुरूपयोग गर्ने नियतले संघसंस्थासँग सहकार्य नगरी हात्ती वनभोज कार्यक्रमको आयोजना गरिएको बताएका थिए।  

युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले प्रदेश सरकारले बजेट सक्ने गरि निजि व्यक्तिलाई पोस्नका लागि बजेट ल्याएको आरोप लगाए। ‘हाम्रो सहकारी अन्तर्गत ३२ वटा हात्ती छन्। प्राइभेटमा ओम रिजालका ६ र सपना भिलेजका ७ वटा छन्,’ उनले भने, ‘प्रदेश सरकारले ओम रिजालका ६ वटा हात्ती र सरकारले पाल्दै आएको १२ वटा हात्तीलाई खुवाएर मात्र बजेट सक्न मिल्छ?’  उनका अनुसार सरकारी र निजी गरेर २ सयको हाराहारीमा चितवनमा हात्ती छन्। चितवनमा हात्ती प्रजनन् केन्द्र, राष्ट्रिय प्रकृति संरक्षण केन्द्र लगायतले हात्ती पाल्दै आएका छन्। उनले हात्तीलाई वनभोज खुवाएकोमा आफ्नो संस्था खुशी भएपनि सम्बन्धीत व्यक्तिलाई समन्वय नगरि केही व्यक्तिलाई फाईदा हुनेगरि काम गरेकोमा विरोध गर्नुपरेको बताए।  

‘हात्तीले खाए राम्रै भयो। तर, सबैका हात्तीलाई खुवाउनुपर्दथ्यो' उनले भने ‘यो हाम्रो विरोध भन्दापनि मिसयूज भयो भन्ने हो।,’ उनका अनुसार, प्रदेश सरकारले ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। स्थानीय सरकार, प्रदेश सरकार तथा नेपाल सरकारसमक्ष यस्ता गतिविधिको आवश्यक छानबिन तथा नियन्त्रण गर्न उनले माग समेत गरेका छन्।  

पर्यटन प्रर्वद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले दुई वटा सरकारी हात्तीसार र व्यवसायी ओम रिजालले पालेका हात्तीलाई वनभोजका रुपमा केरा, चना, भूइकटर, स्याउ, उखु, सखर, खर्बुजा र खिर खुवाएको थियो।  

हात्ती बनभोजको नाममा आर्थिक हिनामिना गरेको आरोप लागेपछि आयोजक संस्था पर्यटन प्रर्वद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले शनिबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी आरोपको खण्डन गरिसकेको छ। समितिले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिइएको थियो। ‘वागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आग्रहका आधारमा हात्ती वनभोज कार्यक्रम गरेको हो,’ समितिका कार्यबहाक अध्यक्ष टीकाप्रसाद कँडेलले भने, ‘वनभोजमा भएको खर्चको बिल र भर्पाइका आधारमा मन्त्रालयबाट बजेट निकासा हुन्छ। आर्थिक हिनामिनाको आरोपमा सत्यता छैन।’ पैसा हिनामिना गर्ने उदेश्यले कार्यक्रम नगरेको उनको भनाई छ। खर्चको मन्त्रालयबाट बजेट निकासा गरेको छैन्।  

हात्ती वनभोजमा २ लाख २२ हजार २१४ रुपैया खर्च भएको समितिले जनाएको छ। ओम रिजालको ९ वटा,बछौली स्थिति सरकारी हात्तीसारका ९ वटा,राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका ८ वटा,खोरसोर हात्ती प्रजनन् केन्द्रका ३५ गरी ६१ वटा हात्तीलाई वनभोज खुवाइएको दाबी उनीहरुको छ। पर्यटन मन्त्रालयले भेला महोत्सव शिर्षकमा विनियोजन गरेको बजेट फ्रिज हुने अबस्था आएपछि मन्त्रालयकै आग्रहमा वनभोज कार्यक्रम आयोजना गरिएको कँडेले बताए। 

प्रकाशित: १९ असार २०७९ १०:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App