२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

बर्खाअघि नै बाढी र पहिरोले पुलपुलेसा, बाटो र चौपाया बगायो

लगातारको वर्षापछि आएको बाढी र पहिरोले ताप्लेजुङका अधिकांश क्षेत्रमा जोखिम बढेको छ। शुक्रबार राति फक्ताङलुङ गाउँपालिका २ खेजेनिम चावाखु टोलका जीवन बाराकोटीको घर पहिरोले बगाएको छ। घर माथिबाट झरेको पहिरोले बाराकोटीको घर बगाएको छ नै, बस्ती नै जोखिममा परेको वडाध्यक्ष भूपेन्द्र चौंलागाईले जानकारी दिए।

पहिरो जान सक्ने जोखिम देखेपछि ६ जना सदस्य रहेको बाराकोटीका सबै सदस्य सुरक्षित स्थानमा सरेकाले मानवीय क्षति भने हुन पाएन। चौंलागाईका अनुसार बाढी र पहिरोले पालिका उपाध्यक्षसमेत रहेका जीवन साम्रा लिम्बुको गोठका २१ वटा बाख्रा बगाएको छ। पहिरोले फक्ताङलुङ गाउँपालिका १ सावादिन तेम्रुङका टेकबहादुर श्रेष्ठको एउटा भैसी, एउटा गोरु र ११ वटा बाख्रा बगाएको छ।

पहिरोका कारण चावाखु बस्ती नै पूरै जोखिममा परेको छ। बस्ती नै जोखिममा परेपछि त्यहाँ बसोबास गर्दै आएका परिवारलाई सुरक्षित ठाउँमा सार्ने तयारी भइरहेको वडाध्यक्ष चौंलागाईले बताए। यस्तै माथिपट्टि पहरो रहेको क्षेत्रनजिक रहेको सिँवा बजारका स्थानीयसमेत रातको समयमा सुरक्षित स्थानमा सरेर सुत्ने गरेको सिँवा माविका प्रधानाध्यापक ओमनाथ गौतमले जानकारी दिए।  

खोलामा पानीको सतह र कच्ची सडक जताततै बिग्रिएको र पहिरोले क्षति पुर्‍याएका कारण ताप्लेजुङका अधिकांश ग्रामीण बस्तीतर्फ जाने सवारी आवागमन रोकिएको छ। उता पहिरोले दुईजनाको मृत्यु र एकजना सख्त घाइते भएको सिरिजङ्गा गाउँपालिका ७ खेवाङको तेम्फु क्षेत्रमा जोखिम कायम रहेको छ।

स्थानीय सन्तोष पुर्कुटीले त्यहाँ सय परिवार हाराहारी विस्थापित भएको बताएका छन्। सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्र मावाले भने विस्थापित र क्षतिको लगत संकलन भइरहेको र आइतबार बिहानसम्ममा मात्र सबै विवरण आउने बताए। खेवाङका वडाध्यक्ष बुद्धि दाहालका अनुसार सम्भावित जोखिम आकलन गरी जोखिम क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको छ। पहिरोले सिरिजङ्गा गाउँपालिका ६ मामाङ्खे, वडा न ५ पेदाङ, वडा नं ४ तेल्लोक, वडा नं २ आम्बेगुदिन र वडा नं १ सिनामसमेत प्रभावित भएको छ।

सिरिजङ्गा गाउँपालिका ६ मामाङ्खेमा रहेको ७० किलोवाट क्षमतको खाक्सेवाखोला लघु जलविद्युत् केन्द्र पहिरोले बगाएपछि मामाङ्खे र सिरिजङ्गा गापा ५ पेदाङ बस्ती अन्धकार भएको छ। पहिरोले सडक र खोलामा रहेका पक्की पुलमा समेत असर गरेको छ। पहिरोले जोखिम बढाएपछि सिदिङ्वा गाउँपालिकाले जोखिम कम नभएसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सिरिजङ्गा गाउँपालिका उपाध्यक्ष डा. चित्र मावोले जोखिम आकलन गरी जोखिम कम नहुँदासम्मको अवस्थामा विद्यालय बन्द गर्ने अधिकार स्थानीय विद्यालय व्यवस्थापन समितिलाई दिएको बताएका छन्। बाढी र पहिरोको जोखिमका कारण फक्ताङ्लुङ गाउँपालिका ३ लिङखिमका सबै विद्यालय जोखिम कम नहुँदासम्मको अवधिका लागि बन्द गरिएका छन्। पहिरोले पाथिभरा याङ्वरक गाउँपालिकाको भित्री क्षेत्र प्रवेश गर्ने सडकमा समेत क्षति गरेसँगै कच्ची सडकमा यातायात सेवामा अवरोध पुगेको छ।  

घाइतेको उपचार

पहिरोमा परी घाइते भएका सिरिजङ्गा गाउँपालिका ७ खेवाङका विष्णु अधिकारी उपचारपछि अस्पतालबाट घर फर्किएका छन्। उनलाई समयमै उद्धार गरेर उपचारार्थ अस्पताल पुर्‍याइएको थियो। बिहीबार राति पहिरो आएपछि घरबाट भाग्ने क्रममा उनी सख्त घाइते भएका थिए। घाइते भएपछि उनलाई जिल्ला विपद् व्यवस्थापन समितिको आग्रहमा गृह मन्त्रालयले पठाएको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर पुर्‍याएको थियो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) कैलाश राईले घाइते अधिकारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिए। पहिरोले घर बगाएपछि विष्णुकी आमा तुलसा र श्रीमती यशोदाको मृत्यु भएको थियो भने उनी भागेर बाँचेका थिए।

जोखिम क्षेत्रका विद्यालय बन्द गराउने

बाढी र पहिरोको जोखिम बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम प्रभावित क्षेत्रका विद्यालय जोखिम कम नहुँदासम्मका लागि बन्द गर्ने तयारी गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले पानी पर्ने क्रम नरोकिएको र बाढी र पहिरोको जोखिम उत्तिकै रहेको भन्दै सम्बन्धित स्थानीय तहसँगको समन्वयमा जोखिम प्रभावित क्षेत्रका विद्यालय जोखिम कम नहुँदासम्मका लागि बन्द गर्ने/गराउनेबारे छलफल भइरहेको जानकारी दिए।

प्रकाशित: ५ असार २०७९ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App