४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

वातावरण अभियन्ता दिलीपको हत्या प्रकरणः सरकार! पीडितको पीडाले पोल्दैन?

२०७६ पुस २५ गते बिहान ४ बजे धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलामा ओमप्रकाश महतो ‘दिलीप’ को हत्या भयो। त्यो सम्झिँदा अहिले पनि यहाँका स्थानीयको मन सिरिंग हुन्छ।

घरनजिकैको औरही खोलामा बर्सेनि आउने बाढी र त्यसले मच्चाउने पीडादायी वितण्डाबाट आफ्नो गाउँसमाजलाई जोगाउन संघर्षरत थिए, दिलीप। मेकानिकल इन्जिनियरिङमा स्नातक गरिरहेका उनी प्रकृति संरक्षणप्रति अत्यन्तै संवेदनशील थिए। अनियन्त्रित दोहन र कानुनविपरीत सञ्चालित क्रसरलाई रोकेर गाउँलाई सम्भावित प्राकृतिक विपद्बाट जोगाउन संगठित अभियान चलाएका थिए उनले।

जसका कारण समाजको आँखाका ज्योति बनिसकेका थिए उनी। तर खोला दोहन गर्ने र क्रसर माफियाको आँखाका लागि भने उनी कसिंगर बनेका थिए। ज्यान मार्ने धम्की तथा मुख बन्द राख्न देखाइएका लोभलालचको कत्ति पनि प्रभावमा नपरी अवैध धन्दा रोक्ने अभियानलाई निरन्तरता दिएका दिलीपको हठी स्वाभावले खोला तथा क्रसर माफियाहरू आक्रोशित बनिसकेका थिए।

माफियाहरूबाट भइरहेको अवैध उत्खननलाई निरीह दर्शक बनेर हेरिरहेका राज्य निकायलाई समेत दिलीपको अभियानले ऐना देखाउँदै थियो।

माफियाले आफ्नो बाटो छेक्ने दिलीपलाई नसल्टाई धन्दा नफस्टाउने सोची उनको हत्याको योजना बनाएको बताउने गाउँमा प्रशस्त छन्। औरही खोलामा अवैध उत्खनन हुँदैछ भन्ने सूचना दिई बोलाउन लगाएर २०७६ पुस २५ गते बिहान ४ बजे दिलीपको हत्या गरिएको थियो। सूचना पाएर दिलीप औरही खोलामा भइरहेको अवैध दोहन रोक्न पुगेका थिए। तर त्यो दिन उनले दोहन रोक्न सकेनन्, दोहनकारीले घेरा हालेर उनको आवाज र अभियानलाई सधैंका लागि रोकिदिए।

जुन अवैध उत्खनन र गैरकानुनी रूपमा सञ्चालित क्रसरलाई रोक्न संघर्ष गर्दा दिलीप मारिए, त्यो क्रसर र अवैध उत्खनन आजसम्म बन्द भएको छैन। औरही खोलाको डिलमा चुरियामाई बालुवा प्रशोधन उद्योग (क्रसर) र औरही खोलामा उपकरण प्रयोग गरेर अवैध उत्खनन अझै चलिरहेको छ। ‘यो अवैध धन्दा चलिरहँदा यस्तो लाग्छ, राज्यसत्ता र शक्ति केन्द्रको हातबाट दिलीपको दिनहुँ हत्या भइरहेको छ,’ दिलीपका बुवा रामजीवनले नागरिकसँग भने, ‘सरकारी तह इमानदार नहुँदाको अमिट पीडा मैले छोरा गुमाएर भोग्दैछु। राज्यका खातिर हाँसीहाँसी ज्यान फाल्ने दिलीपलाई न्याय दिलाउन राज्यको उदासीनता देख्दा लाग्छ, राज्य सञ्चालनको चाबी धन हुने माफियाकै मुठीमा छ।’

‘पीडित हामी हौं। छोरा हाम्रो मारिए। राज्यबाट न्याय हामीले पाउनुपर्ने हो। तर यहाँ उल्टो छ,’ रामजीवन भन्छन्, ‘उल्टै हामीमाथि मुद्दा हालेर पीडा थपिएको छ। अभियुक्तहरू निष्फिक्री घुम्दैछन्, हामी भने डराउन बाध्य छौं। कारण, अभियुक्तहरू तारेख र धरौटीमा छुटेपछि घरअगाडिबाटै ओहोरदोहोर गर्छन्।’

एक महिनाको अनुसन्धानपछि २०७६ माघ २२ गते जिल्ला अदालतमा मुद्दा दर्ता भयो। अभियोग पत्रमा दिलीपलाई यातना दिई क्रूरतापूर्वक मारेको भन्दै सातजनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म कैद सजाय माग गरिएको छ। तर जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेले उद्योग सञ्चालक विपिन तथा उनका कर्मचारी मुनीन्द्र र रञ्जितलाई मात्रै मुद्दाको फैसला नहुन्जेल थुनामा राख्न आदेश दिए। रोशनकुमार, सत्यनारायण र शत्रुधन भने २५ हजार रुपैयाँ धरौटीमा छुटे।

एक वर्ष फरार रहेर अदालतमा हाजिर भएका उद्योगका अर्का सञ्चालक विनोदले साधारण तारेखमा बसे हुनेगरी २०७७ असोज २६ मा जिल्ला अदालतबाटै अनुमति पाए। मुख्य अभियुक्त नै धरौटी र तारेखमा बसे पुग्ने भन्दै आएको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालय जनकपुर उच्च अदालत पुग्यो। यसअघि नै थुनामा बसिरहेका तीनजनाले पनि साधारण तारेखमा बस्न पाउनुपर्ने मागसहित उच्च अदालतमा  निवेदन दिए। उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रमेश ढकालले २०७७ पुस २ गते जिल्ला अदालतका सबै आदेशलाई सदर गरिदिए।

पेसी सरेको सर्‍यै

दिलीपको हत्यासम्बन्धी मुद्दामा धनुषा जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले सुनुवाइ सुरु गरे। जिल्ला अदालत धनुषाको अभिलेखमा उक्त मुद्दा २०७७ चैत ३१ गते पेसीमा चढेको थियो। तर सुनुवाइ नभई स्थगित भयो। कारण थियो, न्यायाधीश बिदामा बस्नु। त्यसपछि त्यो मुद्दा २०७९ जेठ ९ गतेसम्म नौपटक पेसीमा चढेको छ।

जसमा दुईपटक मात्रै सुनुवाइ भएको छ। सुनुवाइ भएको २०७७ असोज ७ गते न्यायाधीश धु्रवराज कार्कीले साक्षी बुझ्ने आदेश गरेका थिए। दोस्रो पटक २०७८ फागुन १५ गते न्यायाधीश तीर्थराज केसीले साक्षी बस्ने आदेश गरेका थिए। मुद्दाको प्रक्रिया त्यहाँभन्दा अगाडि बढ्न सकेको छैन।

दिलीपको मनशायपूर्वक हत्यासम्बन्धी मुद्दा ६ पटक न्यायाधीश कार्कीको इजलासमा चढेको अभिलेखबाट देखिन्छ। जसमा एकपटक बार एकाइको पत्रले हटेको बाहेक इजलास नबस्दा र न्यायाधीश बिदामा बस्दा सुनवाइ नभएको देखिन्छ। २०७९ जेठ ९ गते न्यायाधीश भीष्मराज प्रसाईंको इजलासमा मुद्दाको पेसी चढ्यो। जसमा पक्षबाट स्थगित भएको देखिन्छ। अर्को पेसी जेठ २४ गते तोकिएको छ।

‘न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/८१)’ ले जिल्ला अदालतमा दर्ता भएका मुद्दा दुई वर्षमा टुंगो लगाउने लक्ष्य राखेको छ। अदालतले नै निर्धारण गरेको मितिमा सुनुवाइ भएको भए चुरिया माई बालुवा प्रशोधन उद्योग सञ्चालक मिथिला नगरपालिका–५ का विपीनकुमार महतो, उनका दाइ विनोद महतो, उद्योगमा कार्यरत मिथिला–९ का मुनीन्द्र महतो, महोत्तरी बर्दिबास नगरपालिका–२ का जितेन्द्रकुमार महतो, गणेशमान चारनाथ नगरपालिका–२ का सत्यनारायण महतो, सर्लाही लालबन्दी नगरपालिका–१७ का शत्रुधन महतो तथा दिलीपका साथी मिथिला–५ का रोशनकुमार यादवविरुद्धको मुद्दा टुंगो लागिसकेको हुने थियो।

धनुषा जिल्ला अदालतको अभिलेखअनुसार दिलीपको मनशायपूर्वक हत्यासम्बन्धी मुद्दा २०७६ माघ २३ गते दर्ता भएको हो।

दुःख दिने मनशाय

साधारण तारेखमा बसे हुने भनी अदालतको आदेशपछि दिलीप हत्याका प्रतिवादी विनोद महतोले २०७७ चैत २० गते जनकपुर उच्च अदालतमा दिलीपका बुवा रामजीवन, आमा चन्द्रकला, दुई बहिनी संगमकुमारी र लक्ष्मीलाई विपक्षी बनाएर मुद्दा दर्ता गराए। मुद्दामा उनले दिलीपका परिवारमाथि आफ्नो चुरिया माई बालुवा प्रशोधन उद्योगमा हस्तक्षेप गरेको अभियोग लगाए।

घरेलु तथा साना उद्योग कार्यालय धनुषामा विनोदका भाइ विपीनका नाममा दर्ता छ। दिलीप हत्या अभियोगमा विपीन जेल परेका थिए भने विनोद फरार भएपछि उद्योग बन्द थियो।

यता मुद्दा दर्ता भएलगत्तै न्यायाधीश उज्ज्वल शुक्लले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरे। उनले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई २०७७ चैत ३१ गते बोलाए।

छोरा हत्याका आरोपितले हालेको मुद्दाले रामजीवनलाई आपत् थपिदियो। ‘छोराको न्यायका लागि धाउने कि आफ्नो बचाउमा प्रमाण पेस गर्ने?’ रामजीवन भन्छन्, ‘लिखित जबाफ पेस गर्न वकिल नै खोज्नुपर्‍यो ।’  ‘छोराको मुद्दामा न्याय पाउन भौंतारिँदै थिएँ,’ उनले थपे, ‘उता छोराको हत्या आरोपितले परिवारका सबैलाई मुद्दा लगाएर दुःख दिए।’

अदालतले लिखित जबाफका लागि उपलब्ध गराएको १५ दिनभित्र वकिल खोजेर रामजीवनले उच्च अदालतलाई जवाफ पठाए, ‘निवेदक विनोदकुमार महतो एक वर्षदेखि फरार थिए। हालै उपस्थित भएर तारेखमा छुटेपछि मुद्दा हालेर हामीलाई दुःख दिएका हुन्। उनीहरू आफैंले उद्योग बन्द गरी लुक्दैभाग्दै हिँडेका हुन्। हामीले कुनै बाधाविरोध गरेका छैनौं। सञ्चालन गर्न रोकेका छैनौं।’

जबकि उक्त बालुवा प्रशोधन उद्योग सरकारले तोकेको कर नतिरी, सम्बन्धित निकायको अनुमति नलिई खोलामा उत्खनन र ढुंगा, गिटी र बालुवा निकासी गर्दै आएको थियो। उद्योगले सर्वसाधारणको स्वास्थ्य, जनजीवन र पर्यावरणमा पार्ने नकारात्मक प्रभावको हिसाब गरेकै थिएन।’

दिलीपको हत्याविरुद्ध दायर भएको अभियोगपत्रमा अपराधमा प्रयोग गरिएको साधन तथा कसुरजन्य सम्पत्ति रोक्का राख्न तथा नियन्त्रण गरी जफत गर्न माग गरिएको छ। गैरकानुनी रूपमा उत्खनन गरिरहेको उद्योग परिसरमै दिलीपको हत्या भएकाले उक्त सम्पत्ति पनि रोक्का राख्न मुद्दामा माग गरिएको हो।

न्यायाधीशद्वय लेखनाथ घिमिरे र रमेश ढकालले २०७७ चैत ३१ गते दिलीपको परिवारका नाममा अन्तरिम आदेश जारी गरे। आदेशमा भनिएको छ, ‘कानुनले नदिएको अधिकार प्रयोग गरी उद्योग सञ्चालनमा अनधिकृत हस्तक्षेप नगर्नू नगराउनू।’

दिलीप हत्याका प्रतिवादीको तर्फबाट दायर मुद्दा सुनुवाइमा अदालतबाट ११ दिनमै आदेश आयो। तर दिलीपको मनसायपूर्ण हत्या मुद्दाको सुनुवाइ निरन्तर स्थगित हुँदै आएकोप्रति उनको परिवार दुःखित छ ।

डनको डर

स्थानीय तहको सम्पन्न निर्वाचनबाट मिथिला नगरपालिकाको मेयरमा महेन्द्र महतो निर्वाचित भएका छन्। नगरपालिकामा प्रमुखसहित प्रतिनिधि नयाँ भए पनि औरही खोलाको बेहाल उस्तै छ। दर्जनौं एक्साभेटर र डोजर खोलामा अनियन्त्रित रूपमा गहिरो खाल्डो खनेर खोलाजन्य पदार्थ निकासी गरिहेका छन्। खोलाको डिलमा क्रसरहरू निर्बाध रूपमा सञ्चालन भइरहेका छन्।

दिलीपको हत्यापछि गाउँका बासिन्दा डराएका छन्। उनीहरूले अवैध दोहन रोक्ने आँट जुटाउन सकिरहेका छैनन्। कारण दिलीप मारिँदा पनि उत्खनन र क्रसरको सञ्चालन रोकिएको छैन र दिलीपको परिवारले न्याय पाएको छैन। प्रहरी प्रशासन र नगरपालिका अनियमित र अनियन्त्रित धन्दाको निरीह दर्शक बनेका छन्।

राज्य नै निरीह बनेको देखेपछि हतपती सामान्यजनमा विरोध गर्ने आँट कसरी आउँछ? रामजीवन भन्छन्,’ दिलीप हुँदा गाउँवासीमा आँट पलाएको थियो, उनी मारिएपछि डर पलाएको छ।’ दिलीपको हत्या प्रकरण सामान्य हत्या मात्रै होइन, यस घटनाले गलत कामको प्रतिवाद गर्ने समूहको आँट मारिदिएको छ भने गलत गर्नेको मनोबल बढाइदिएको स्थानीय बताउँछन्।

औरही ओखामा भइरहेको अनियमित उत्खननबारे नवनिर्वाचित मेयर महतो अनविज्ञ भने छैनन्। उनी खोला उत्खनन र क्रसरबारे जानकार छन्। तर उनमा पनि नियन्त्रणकारी कार्य गर्ने आँट पलाउन सकिरहेको छैन। खोला तथा क्रसर डनको डर स्थानीयमा मात्र सीमित छैन, स्थानीय तहका प्रमुख पनि डनसँग डराउँछन्।

औरही खोलामा जारी अनियन्त्रित उत्खनन र कानुनविपरीत सञ्चालित क्रसरबारे नगरप्रमुख महेन्द्र महतोले भने, ‘गैरकानुनी काम रोक्ने जिम्मा प्रहरी प्रशासनको कि मेरो ? गैरकानुनी धन्दा रोक्न म खोलामा जाऊँ? म फेरि अर्को दिलीप महतो भैहालौं, हँ? यो काम मबाट हुँदैन, म गर्दिनँ,’ उनले भने।

मुद्दा लड्दा ऋण चढ्यो

छोरा हत्याविरुद्ध मुद्दा लड्दा एक लाख रूपैयाँभन्दा बढी ऋण चढेको दिलीपका बुवा रामजीवनले बताए। कमाउने कोही छैन, खर्च मात्र भइरहेको छ। सम्पत्ति नै सकिए पनि न्यायको लडाइँ बीचमै छोडेर घर बस्ने पक्षमा छैनन् रामजीवन। ‘पाँच/दस कट्ठा जग्गा नै बेच्नु परे पनि न्यायको लडाइँबाट पछि हट्दिनँ। मैले मिलापत्रको पक्षमा जाने सोचेकै छैन,’ उनले भने, ‘प्रतिवादीले त ठुलै रकमको लोभ देखाउँछन्। म छोराको न्यायलाई पैसासँग साट्दिनँ, अन्तिमसम्म लड्छु। ढिलै भए पनि सत्यको जित हुन्छ। म मुद्दा हार्दिनँ जित्छु। ’

मृत्युपछि परिणाम

अन्तिम सेमेस्टरको अन्तिम परीक्षा दिएर घर आएको ११औं दिन (२०७६ पुस २५) मा दिलीपको हत्या गरिएको थियो। भारतको भोपालमा मेकानिकल इन्जिनियरिङमा स्नातक अध्ययनरत थिए, दिलीप। उनको हत्यापछि अन्तिम सेमेस्टरको परिणाम आयो। दिलीपका साथीले उनको घरमा फोन गरेर पास भएको जानकारी दिएका थिए। ‘छोरा दुनियाँबाट गएपछि पास भएको खबर आयो,’ चन्द्रकला भक्कानिँदै भन्छिन्, ‘बाबु सब किछमे आगा छेलै (छोरा सबै कुरामा अब्बल थिए)। बाबुमाइके साहारा बनबै कहैछेलै (हाम्रो बुढेसकालको भरपर्दो सहारा बन्छु भन्थे)। सब सपना छिन लेलकै बैमनमा (दुष्टहरूले सबै सपना खोसिदिए) ।’

नागरिककर्मी महतो निवासमा रहुन्जेल चन्द्रकलादेवीको आँसु एक छिन पनि रोकिएन। उनले सरकारलाई प्रश्न गरिन्, ‘आखिर के थियो र मेरा छोराको गल्ती? गल्ती नै गरेको भए हामीलाई भन्नुपथ्र्यो। समाज बसाएर सम्झाउन सकिन्थ्यो, ज्यान नै लिने? बाढीबाट गाउँसमाजलाई जोगाउनु, हरियाली जोगाउनु छोराको गल्ती थियो त? गलत तरिकाले खोला खन्नु, क्रसर चलाउनु गल्ती हो कि रोक्नु गल्ती हो ? हाम्रो पीडाले पोल्छ कि पोल्दैन, सरकार?’

प्रकाशित: २१ जेष्ठ २०७९ ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App