४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कारागारमा आत्महत्याः मृत भनिएका कैदी नै फरक

रोल्पास्थित जिल्ला कारागारमा एक कैदीले आत्महत्या गरेको घटनाले फरक मोड लिएको छ।

बुधबार साझ कारागारमा एक कैदीले शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएर आत्महत्या गरेपछि प्रहरीले सुर्खेत बराहताल गाउँपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह मरेको सूचना दियो। तर प्रहरी त्यतिबेला झस्कियो जब शाहकी आमाले आफ्ना छोरा केही महिनाअघि नै जेलबाट छुटेको र अर्की श्रीमती बिहे गरेर गएको बताइन्।

प्रहरीले यताबाट शवको फोटो पठायो। शाहकी आमाले छोरो नभएको बताइन्। उताबाट मरेको भनिएको कैदीको फोटो मगाएर अन्य कैदीसँग बुझ्दा पहिल्यै छुटेको तर उनी सन्तोष हरिजन भएको बताए।

अलमलमा रहेको सुरक्षा निकायले सुन्दर हरिजनको परिवारलाई बोलाएर सनाखत गराएपछि मात्र मर्ने कैदी फरक नाममा जेलमा रहेको पत्ता पायो। एक वर्ष कैद र ५० हजार जरिवाना सजाय पाएका हरिजनका नाममा शाह जेलमुक्त भएका हुन्। तीन वर्ष कैद र ५० हजार जरिवाना तोकिएका शाहको कैद हरिजनले भुक्तान गर्दै थिए।

२०७७ मंसिरमा नेपालगन्जबाट सरुवा भएर आएका सुर्खेतका विजयविक्रम शाह र नेपालगन्जका सुन्दर हरिजनले उतैबाट साटिने योजना बनाएर आएको हुन सक्ने सुरक्षा निकायको अनुमान छ। कैद भुक्तान गर्न थोरै समय मात्र बाँकी रहेका कैदी हरिजनलाई शाहसँगै सरुवा गरेर रोल्पा पठाउनुमा नेपालगन्ज कारागारको पनि सेटिङ हुन सक्ने देखिन्छ। कैदीको फोटो नहुने हँुदा रोल्पा कारागारले उनीहरूको फेरिने योजना भएको पत्तो पाएन। रोल्पा प्रहरीले अनुसन्धान भइरहेको बताएको छ।

जेलर विशाल खनालले यसबारे आफूलाई खासै थाहा नभएको बताए। ‘केही भएको होइन, हावाका भरमा समाचार नलेखौं,’ जेलरले घटना लुकाउँदै भने, ‘भर्खरै चुनाबबाट आएको हुँ।’ उनले छानबिन समिति गठन भएको भने बताए। केही नभएको भए समिति किन भन्दा उनी नाजवाफ भएका थिए।

कारागार व्यवस्थापन विभागका महानिर्देशक वासुदेव घिमिरेले पनि आफूलाई विस्तृत जानकारी नभएको बताए। ‘केही भएको हो। छानबिन समिति गठन गरेर रोल्पा पठाएको छु। संवेदनशील कुरो भएकाले अहिले यत्ति मात्र भन्न सक्छु ,’ उनले भने, ‘कारागार हामिले भन्दा कारागार व्यवस्थापन विभागले हेर्छ। १० दिनभित्र प्रतिवेदन दिनेछ।’

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले थपे, ‘शाहको परिवारलाई खोज्न पठाउँदा आमाले हैन भनेपछि फोटा र फोन डिटेल हेरेर अलि सजिलै पत्ता लाग्यो।’ सापकोटाका अनुसार पोस्टमार्टमपछि परिवार लास बुझेका छन्।

प्रकाशित: ७ जेष्ठ २०७९ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App