२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाँकेका १३,२२७ घरधुरी बाढीको उच्च जोखिममा

जिल्लामा बाढीको इतिहास हेर्ने हो भने २०७१ र २०७४ सालमा अहिलेसम्मकै ठूलो र क्षति बढी भएको तथ्यांक छ। २०७१ साउन २८ र २९ गते गएको बाढीमा २० जनाको मृत्यु भएको थियो।

त्यतिबेलाको बाढीमा जिल्लाभरि ६९ हजार नौ सय ३४ जनसंख्या प्रभावित भयो। पूर्ण प्रभावित घर संख्या तीन हजार दुई सय १२ घर र नौ हजार एक सय २८ घर आंशिक प्रभावित भएका थिए। यस्तै १२ वटा विद्यालय र ६ हजार चार सय ७९ जना विद्यार्थी प्रभावित भए।

यस्तै जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकअनुसार आठ जनाको मृत्यु हुने गरी गएको २०७४ साउन २९ गतेको बाढीबाट १६ हजार आठ सय ५९ घर संख्या र जम्मा ९४ हजार दुई ६२ जनसंख्या प्रभावित भएको थियो। उक्त बाढीमा एक हजार एक सय २२ घर पूर्ण, १५ हजार सात सय ३७ घर आंशिक प्रभावित भएका थिए भने २१ विद्यालय र ११ हजार तीन सय ५० विद्यार्थी प्रभावित भएका थिए।

यति मात्र होइन, जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ (१५औं अद्यावधिक) अनुसार बाँकेका आठ पालिकाका ६५ हजार चार सय ४२ जनसंख्या बाढीको उच्च (विनाशकारी) अवस्थामा छ। उच्च जोखिम घरधुरीको संख्या १३ हजार दुई सय २७ वटा र दुई सय सातवटा बस्ती जुनसुकै बेलामा बाढी प्रभावित हुने अवस्थामा छन्।

गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार १० हजार जनाभन्दा बढी मानिस प्रभावित वा एक हजार जनाभन्दा बढी मानिस विस्थापित वा पाँच अर्बभन्दा बढी आर्थिक क्षति हुनु उच्च (विनाशकारी) अवस्था हो। बाँकेमा जनसंख्याका हिसाबले राप्तीसोनारी र डुडुवा गाउँपालिका बाढीको उच्च जोखिममा छन्।

यस्तै उच्च जोखिम रहेका घरधुरीलाई आधार मान्ने हो भने, बैजनाथ र खजुरा गाउँपालिका बाढीको विनाशकारी अवस्थामा छन्। वडागत जोखिमका आधारमा विश्लेषण गर्दा जानकीका चार, डुडुवा पाँच, खजुरा र बैजनाथका आठ/आठ (सबै), राप्तीसोनारीका नौ (सबै), नरैनापुरका ६ (सबै), कोहलपुर नगरपालिका १५ मध्ये वडा नम्बर १, ३, ४, १४ र १५ बाहेक १० वटा वडा र नेपालगन्जका २३ वटा वडामध्ये वडा नम्बर १९ र २० का केही बस्ती मात्रै उच्च जोखिममा छन्।

राप्तीसोनारीका सबैभन्दा धेरै ६५ बस्ती, डुडुवाका सबैभन्दा धेरै तीन हजार ६ सय ८२ घरधुरी र डुडुवाकै १९ हजार आठ सय ५२ जनसंख्या प्रभावित हुन सक्ने अवस्थामा छ। यसैगरी नेपालगन्जमा पाँच वटा बाढी प्रभावित बस्ती छन्। कुल पाँच सय १० घरधुरी बाढीको उच्च जोखिममा छन् भने दुई हजार पाँच सय ७० प्रभावित हुन सक्ने जनसंख्या छ।

यस्तै कोहलपुरमा ३१ बस्ती, दुई हजार ३४ घरधुरी र आठ हजार आठ सय ९२ जनसंख्या प्रभावित हुन सक्ने अवस्थामा छ। यसैगरी बैजनाथमा २२ बस्ती, एक हजार पाँच सय ४० घरधुरी उच्च जोखिम र ६ हजार नौ सय ४२ जनसंख्या बाढीको विनाशकारी अवस्थामा छन्। जानकीमा कुल १८ वटा बस्ती, तीन सय २६ घरधुरी उच्च जोखिम र दुई हजार तीन सय १८ जनसंख्या प्रभावित हुन सक्ने अवस्थामा छ।

यस्तै खजुरामा कुल १७ वटा बस्ती, एक हजार चार सय ६५ घरधुरी उच्च जोखिम र चार हजार सात सय ८० जनसंख्या प्रभावित हुन सक्ने अवस्थामा रहेको प्रतिकार्य योजनामा छ। नरैनापुरमा २४ वटा बस्ती, तीन सय ९१ घरधुरी उच्च जोखिम र दुई हजार तीन सय ९४ जनसंख्या बाढीबाट प्रभावित हुन सक्ने आकलन गरिएको छ।

बाँके बाढीको उच्च जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले जनाए। यदि १२ हजार पाँच सय परिवार विपद्बाट प्रभावित भए भने गर्न सकिने राहत वितरण, खोज तथा उद्धार, पुनर्लाभका लागि योजना बनेको उनले जनाए। उक्त योजना अनुसार नौवटा विषयगत क्षेत्र छन्।

बाढी गएको अवस्थामा ती समिति स्वतः सक्रिय हुन्छन्। यी समितिले उद्धार, राहत वितरणदेखि खोजतलास समेत गर्छ। यसपालि मौसम विज्ञान विभागले पनि औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको छ। यदि औसतभन्दा बढी वर्षा भयो भने बाँकेमा बाढीबाट प्रभावितको संख्या अझ बढ्न सक्ने आकलन गरिएको छ।

प्रकाशित: २५ वैशाख २०७९ ०४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App