नेपाल प्रहरीका एआइजी धिरजप्रताप सिंह वरीयतामा आफूभन्दा अगाडि रहेका दुई प्रतिस्पर्धीलाई उछिन्दै प्रमुख बन्न सफल भएका छन्। एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापालाई पछि पार्दै सिंह आइतबार नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) भएका हुन्।
नेपाल प्रहरीका आइजी शैलेश थापाले ३० वर्षे सेवा अवधिका कारण वैशाख १८ गतेबाट अनिवार्य अवकाश पाएपछि सरकारले सिंहलाई प्रमुख तोकेको हो। त्यस्तै सशस्त्र प्रहरीमा एआइजी राजु अर्याल आइजी बनेका छन्। सशस्त्रका आइजी पुष्पराम केसीले पनि ३० वर्षे सेवा अवधिका कारण वैशाख १८ गतेबाट अनिवार्य अवकाश पाएका छन्। सशस्त्रमा अर्यालको नियुक्तिलाई स्वाभाविक रूपमा लिइए पनि नेपाल प्रहरीमा सिंहको नियुक्ति भने वरीयताका कारण विवादित बनेको छ।
प्रहरी नियमावली, २०७१ को नियम ४१ मा प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ भन्ने व्यवस्था छ। सोही अनुसार सिंहलाई नेपाल प्रहरीको आइजी नियुक्त गरेको सरकारले जनाएको छ।
नेपाल प्रहरीको आइजीका लागि एआइजीहरू पोखरेल, थापा र रवीन्द्र धानुक पनि प्रतिस्पर्धामा थिए। उनीहरू २०४९ साल चैत १२ गते एकै दिन प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। आइजी शैलेश थापाकै ब्याचका वैकल्पिक समूहका उनीहरू फरकफरक समयमा एआइजीमा बढुवा भएका थिए। आफू अनुकूल समयमा चारैजना एकले अर्कोलाई उछिन्दै बढुवा भएका हुन्।
त्यसैगरी सशस्त्र प्रहरी ऐनअनुसार अर्याललाई नियुक्त गरिएको सरकारले जनाएको छ। सशस्त्र प्रहरी ऐनमा पनि एआइजीहरूमध्येबाट आइजी नियुक्ति गर्न सकिने व्यवस्था छ। सशस्त्र प्रहरीका अर्का एआइजी रामशरण पौडेल पनि वैशाख १८ गतेबाट अनिवार्य अवकाशमा जाने भएपछि अर्यालको आइजी पद यसअघि नै सुरक्षित भएको थियो।
डिआइजीहरू नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम एआइजी बन्ने प्रतिस्पर्धामा भए पनि सरकारले पाँच दिनअघि अर्याललाई एआइजीमा बढुवा गरेको थियो। एआइजीमा बढुवा गरेको पाँच दिनमै सरकारले उनलाई आइजीमा नियुक्त गरेको हो। नेपाल प्रहरीमा पनि सिंह एक महिनाअघि मात्रै एआइजीमा बढुवा भएका थिए।
तीन चरणमा एआइजी
गत चैत १ गते सरकारले प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआइजी) का थप ३ दरबन्दी सिर्जना गरी सिंहलाई एइआइजी बनाएको थियो।त्यसको १६ दिनपछि चैत १७ गते सिंहले एआइजीको दज्र्यानी चिह्न (फुली) आइजी शैलेश थापा र एआइजी विश्वराज पोखरेलबाटै लगाएका थिए। उनीहरूको ब्याचमा तीन चरणमा एआइजी बढुवा गरिएको थियो।
पहिलो चरणमा २०७७ मंसिर २४ गते पोखरेललाई, दोस्रो चरणमा २०७८ असार २१ मा सहकुलबहादुर थापालाई र तेस्रो चरणमा २०७८ चैत १७ गते धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआइजीमा बढुवा गरिएको थियो। यसअघि एकै मितिमा बढुवा भएका एआइजीहरूबीच प्रतिस्पर्धा हुँदै आएकोमा यसपटक भने तीन फरकफरक मितिमा बढुवा भएका एआइजीबीच आइजी बन्न प्रतिस्पर्धा भए पनि तेस्रो चरणमा बढुवा भएका सिंहले बाजी मारेका हुन्।
आइजी सिंहको एआइजीमा भएको बढुवाविरुद्ध नै सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। सिंह र रवीन्द्र धानुकको एआइजी बढुवाको निर्णयविरुद्ध डिआइजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन्। आफूभन्दा जुनियरलाई बढुवा गरेको दाबीसहित उक्त बढुवा खारेजको माग गर्दै उनीहरूले रिट दायर गरेका थिए।
को हुन् नवनियुक्त आइजी सिंह
२०२४ मा कर्णाली प्रदेशको दैलेखमा जन्मिएका सिंहले १२ चैत २०४९ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन्। उनी तालिममा उत्कृष्ट भएका थिए। २०६१ मा प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा हुँदा पनि सिंह एक नम्बरमा थिए। डिएसपी भएपछि सिंहले गोरखा, दोलखा र नुवाकोट जिल्लाको कमान्ड सम्हालेका थिए।
उनी २०६९ सालमा डिएसपीबाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका थिए। एसपी हुँदा सिंहले दाङ र पर्सा जिल्ला प्रमुख भएर काम गरेका थिए। २०७४ मा उनी दाङ प्रहरी प्रमुख हुँदा तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठ र घोराहीका युवा रणबहादुर घर्तीको अपहरण तथा हत्याकाण्डमा संलग्न अभियुक्तलाई पक्राउ गरेका थिए।
एसएसपी बढुवामा भने सिंह पछि परे। एसएसपी हुँदा सिंहले वाग्मती तालिम केन्द्र र तत्कालीन महानगरीय अपराध महाशाखा (हाल उपत्यका अनुसन्धान कार्यालय) को प्रमुखको जिम्मेवारी थिए। २०७६ मा डिआइजी भएका सिंहले मधेस प्रदेश प्रहरी प्रमु्ख र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को नेतृत्व गरेका थिए।
एआइजीमा बढुवा हुँदा पनि उनले सिआइबीकै प्रमुख भएर काम गरे। पूर्वएसएसपी योगेश्वर रोमखानीले सिंह सक्षम र पेसाप्रति प्रतिबद्ध प्रहरी अधिकृत भएको बताए। ‘प्रहरीमा संगठन प्रवेशको सुरुआतदेखि नै उनी अनुसन्धानमा पोख्त रहे। मलाई त्यति बेलादेखि नै उनी आइजी हुन्छन् जस्तो लागेको थियो। डाइनामिक प्रहरी अधिकृत थिए, उनको मेहनत र कामप्रतिको लगावले नै उनलाई आइजी बन्ने बाटो खुलायो’, पूर्वएसएसपी रोमखानीले भने।
को हुन् अर्याल?
सशस्त्र प्रहरीका नवनियुक्त आइजी राजु अर्याल २०५४ चैत १८ गते नेपाल प्रहरीको निरीक्षक पदबाट सेवा प्रवेश गरेका थिए। २०५८ सालमा सशस्त्र प्रहरी बल गठन भएपछि उनी त्यता स्थानान्तरण भएका हुन्। सोही वर्ष सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका उनी २०६३ सालमा सशस्त्र प्रहरी उपरीक्षक, २०७० सालमा सालमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक र २०७५ सालमा सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा भएका थिए।
चारचार पटकसम्म संयुक्त राष्ट्रसंघीय झन्डामुनि मिसनमा रहेको अनुभव हासिल गरेका एआइजी अर्यालसँग विभिन्न १० भन्दा बढी एकाइमा प्रमुख भई कार्य गरेको अनुभव पनि रहेको छ। उनले त्रिभुवन विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा ग्रामीण विकास, प्रथम श्रेणीमा समाजशास्त्र र राजनीतिशास्त्रका साथै अन्तर्राष्ट्रिय मानवीय कानुनसमेत गरी ४ विषयमा स्नातकोत्तर उतीर्ण गरेका छन्।
एकै पटक १९ जना अवकाशमा
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च अधिकारीले आइतबार मध्यरातिबाट अनिवार्य अवकाश पाएका छन्। १९ वैशाख २०४९ मा प्रहरी सेवा सुरु गरेका आइजी क्षेत्रीसहित १९ जना अधिकारीको ३० वर्षे सेवाअवधि सकिएको हो। अवकाश पाउनेमा अतिरिक्त महानिरीक्षक (एआइजी) हरू हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्त छन्। त्यस्तै ११ जना डिआइजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, शौरभ राणा, राजेन्द्रप्रसाद चौधरी, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रञ्जितकार र प्रकाश अधिकारीले अनिवार्य अवकाश पाएका छन्। तीनजना एसएसपी वीरेन्द्र बस्याल, प्रदीपकुमार श्रेष्ठ र नवराज भट्टले पनि अवकाश पाएका छन्।
संगठनमा अन्याय महसुस हुन दिने छैनः सिंह
प्रहरीको नयाँ कार्ययोजना के छ?
पहिलो त वैशाख ३० मा हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण तरीकाले सम्पन्न गर्नेछु। निर्वाचन सकिएपछि नेपाल प्रहरीलाई जनताको प्रहरीको रूपमा स्थापित गराउनेछु। म आक्रामक पुलिसिङ गर्न रुचाउँछु।
तर त्यो कसरी?
कानुन उल्लंघन गर्ने जोकोहीलाई पक्राउ गर्न कुनै पनि तहका प्रहरी कर्मचारीले माथिको आदेश भन्दै कुर्नुपर्दैन। मानवअधिकारको सम्मान गर्दै कानुन उल्लंघन गर्ने तत्वहरूलाई कानुनी दायरामा ल्याइनेछ। त्यसका लागि जो कोही प्रहरी अधिकारीहरूअलमलमा पर्नेछैनन्।
प्रहरी संगठनमा देखिएको उत्तारचढावलाई कसरी व्यवस्थापन गर्नुहुन्छ?
यसमा दुईवटा कुरा छन्। पहिलो, नेपाल प्रहरीका हरेक कर्मचारीले आफू प्रहरी भएको महसुस गर्नेछन्। त्यसका लागि प्रहरी संगठनको बेग्लै भिजन आउनेछ। अर्को, संगठनभित्रको वृत्तिविकासलाई जोड दिँदै हरेक प्रहरी कर्मचारीले संगठनभित्र अन्याय भएको महसुस गर्ने छैनन्।
तर तपाईंको कार्यकाल छोटो छ नि?
छोटो समयमै प्रहरी संगठनमा काम गर्ने हो। प्रहरीलाई आसलाग्दो र भरलाग्दो संगठन बनाउने हो। अहिले देखिएका सबै प्रकारका विकृत्ति निर्र्मूल पार्ने कोसिस गर्ने हो। नीतिगत जग बसाएपछि त्यसमा टेकेर प्रहरी संगठनलाई बलियो बनाउनुपर्छ मेरो जोड त्यसैमा हुन्छ।
वरीयता मिचियो भन्ने विषयमा के भन्नुहुन्छ?
हामी एउटै ब्याचका प्रहरी अधिकारी हौं भन्ने जो कोहीले बुझ्न जरुरी छ। साथै प्रहरी नियमावली पनि हेर्न आग्रह गर्दछु।
प्रकाशित: १९ वैशाख २०७९ ००:४२ सोमबार