१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सत्यनारायण महतो 'आलोक'लाई नागरिक नायक २०७९ सम्मान

फालिएका शिशुलाई जीवन दिन्छन् ‘आलोक’

सामाजिक अभियन्ता सत्यनारायण महतो ‘आलोकलाई नगारिक नायक २०७९ को रुपमा सम्मानित गरिएको छ।

फालिएका शिशुहरुलाई जीवन दिँदै आएका आलोकलाई नागरिक नायकका रुपमा प्रबन्धक निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली र समाजसेवी मनाेज नेवा: खड्गीले संयुक्त रुपमा ताम्रपत्र र फूलमालाले सम्मान गरेका छन्।

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४औँ वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनलाई सम्मान गरेको हो।

कार्यक्रममा सहजकर्ताको रुपमा सामाजिक अभियन्ता हिमा विष्टले नागरिक नायक ‘आलोक'लाई नागरिककातर्फबाट आफ्नो जिज्ञासा राखेकी थिइन्। उनले नायक ‘आलोक'लाई अहिलेको अवस्थासम्म आइपुग्न के कस्ता चुनौतीको सामना गर्नुपर्यो? र, तपाईले आफूले गरिरहेको कर्मलाई कसरी हेरिरहनु भएको छ भन्दै प्रश्न राखेकी थिइन्। ‘ढिलो विवाह, वैदेशिक रोजगार र अवैधानिक सम्बन्धका कारण समाजमा टुहुरा बालबालिकाहरुको संख्या बढिरहेको छ। यस्तो संख्या बढ्नु दुःखद् कुरा हो। मैले आफ्नो कामबाट दुःखी छु की खुसी म भन्न सक्ने अवस्थामा छैन,’ नायक आलोकले गम्भीर हुँदै भने। नायक ‘आलोक' र विष्टबीचको संवाद दर्शक र स्रोताहरुले चाखपूर्वक सुनेका थिए। 

फालिएका शिशुलाई जीवन दिन्छन् ‘आलोक’

अनिच्छामा जन्मिएका शिशुलाई बेवारिसे फाल्ने घटना मधेसमा बढ्दो छ। अशिक्षाका कारण छोरी जन्मिदा परिवार खुसी नहुने, दाइजो दिनुपर्ने, भागी बिहे गर्दा प्रतिष्ठा गुम्ने डरले यस्ता घटना बढ्दाे छन्। कुरितीको यो अँध्यारोमा आशाका किरण पनि भेटिन्छन्।  

यी किरण हुन् ५० वर्षीय सत्यनारायण महतो ‘आलोक’। अविवाहित उनी विगत १२ वर्षदेखि मृत्युको मुखमा फालिएका शिशुहरुलाई उद्धार गर्दे आएका छन्। उनले कसैलाई फोहोरको थुप्रोबाट त कतिलाई नालीबाट उद्धार गरेका छन्। उनी यी १४ सन्तानका ‘बुवा’ हुन्।

उनको घर अहिले ‘कबीर अनाथ बालाश्रम’ नामले चिनिन्छ। प्रहरीले उद्धार गरेका यस्ता शिशुहरु पनि उनकै आश्रममा ल्याएर राखिन्छ। जनकपुरको निजी कलेजमा अंग्रेजी पढाउने महतोको जनकपुरधाम-८ वाल्मीकिनगरको एक कठ्ठा जग्गामा आश्रम छ।  

शिशुहरुको पालनपोषण र शिक्षामा लाग्ने खर्च जुटाउन उनी धार्मिक प्रवचन दिन्छन्। मनकारीले आफ्नो विवाह उत्सव, जन्मोत्सवमा सहयोग गर्छन्। यसैबाट उनले १४ जना बच्चा हुर्काइरहेका छन्। बच्चाहरू बिहानै उठेर योगा गर्छन्। आश्रममै ट्युसन पढ्छन्। खाना खाएर स्कुल जान्छन्। बाँकी बच्चा आश्रममै लडिबुडी गर्छन्।  

अपरान्ह ४ बजे पुन: आश्रममै बच्चालाई ट्युसन पढाउन शिक्षक आउँछन्। ५ बजे संगीत कक्षामा रमाउँछन्। त्यसपछि गृहकार्य गर्छन् अनि खाना खाएर सुत्छन्। बच्चा फ्याँक्ने विकृति रोक्ने दायित्वबाट विमुख समाज र सरकारलाई चुपचाप ऐना देखाइरहेका महतोलाई सबैले ‘टुहुराका अभिभावक’ भनेर इज्जत गर्छन्। जीवनको सबैभन्दा ठूलो खुसी यसैलाई ठान्छन्, महतो। 

त्रेता युगका जनकले माटोमुनी भेटिएको भनिएकी सीतालाई हुर्काएर पुजनीय बने। सीतालाई जानकी नामले पुजिन्छ। सत्यनाराण पनि माटो र पानीमा भेटिएका १४ जना छोराछोरीलाई हुर्काइरहेका छन्। रोएका नानीहरुलाई जीवन्त खुसी दिने सत्यनारायणलाई नागरिक नायक घोषणा गर्न पाउँदा हामी खुसी छौं।

प्रकाशित: ११ वैशाख २०७९ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App