८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

दुर्गममा आउनै मान्दैनन् कर्मचारी

दुर्गममा जिल्लामा कर्मचारी आउन नमान्ने गरेको पाइएको छ। दुर्गम जिल्लाका सरुवा भएको भएता पनि उनीहरुले आउन नमान्ने गरेका छन्।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको संगठनात्मक ढाँचा तथा दरबन्दी अनुसार राज पत्राकिंत द्धितीय श्रेणी उपसचिव १०औं तहको कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था भएको भएपनि अहिले कालिकोटका स्थानीय तहहरुमा निमित्तले चलाउने गरेका छन्।

कालिकोट जिल्लाका सबै स्थानीय तह निमित्तकै भरमा जसोतसो सञ्चालन भइरहेका छन्। जिल्लाका तीन नगरपालिका र छ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्। सबैमा निमित्तले प्रमुख प्रशासकीय अधिकृतको कामकाज गरिरहेका छन्।

उपसचिवको दरबन्दी भएका तीन वटा नगरपालिकामा प्रशासन तर्फका समेत कर्मचारी नभएर कुनैमा पशुसेवाका प्राविधिक त कुनैमा शिक्षा र स्वास्थ्य क्षेत्रका कर्मचारीलाई नगरपालिका सञ्चालनको जिम्मेवारी तोकिएको छ।

रास्कोट नगरपालिकामा पशुसेवाका आठौँ तह प्राविधिक तहका कर्मचारी जवानसिहं बमले लामो समयदेखि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समाली रहेका छन्।

यस्तै खाँडाचक्र नगरपालिकामा शिक्षा शाखाका प्रमुख जसिप्रसाद चौलागाईं र तिलागुफा नगरपालिकामा स्वास्थ्य क्षेत्रका सातौ तहका अधिकृत लक्ष्मणप्रसाद चौलागाईंले प्रमुख प्रशासकीय अधिकृत चलाएका छन्।

पलाँता गाउँपालिकामा पशुसेवाकै प्राविधिक छैटौ तहका कर्मसिहं बमले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएका छन्। एमाले निकट कर्मचारीमा आस्था राख्ने बमलाई गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले माओवादी केन्द्रको पार्टी सदस्यताको रसिद काट्न लगाएर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएका हुन्।

यस्तै शान्नीत्रिवेणी गाउँपालिकामा पनि पशु प्राविधिक छैटौ तह नेत्रबहादुर शाही प्रमुख प्रशासकीय अधिकृत छन् भने नरहरीनाथ गाउँपालिकामा पनि छैटौ तहका कबिराज न्यौपानेलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ। शुभकालिकामा केन्द्रबहादुर शाही छैटौ तहका छन्।

गाउँपालिका अध्यक्ष खाडानन्द चौलागाईंले सुगममा बस्न बानी परेका कर्मचारी दुर्गममा आउन नमान्ने भएकाले निमित्तकै भरमा स्थानीय तह चलाउनु परेको बताए। यस्तै महावै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिहं छैटौ तहका कर्मचारी छन्।

पचालझरना गाउँपालिकामा पनि पशुसेवा तर्फका छैटौ तहका अधिकृत विरेन्द्रबहादुर बमलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ। रास्कोट नगरपालिका, पलाँता, सान्नीत्रिवेणी, पचालझरना गाउँपालिका गरी चार स्थानीय तह पशुसेवा तर्फका प्राविधिकले चलाइरहेका छन् भने बाँकीमा छैटौ तहका कर्मचारीले स्थातानीय तह हाकिरहेका छन्।

विगत एक वर्षदेखि कालिकोटका स्थानीय तह निमित्तको भरमा छन्। नगरपालिकामा उपसचिव र गाउँपालिकामा अधिकृत त्यो पनि प्रशासन तर्फकाले प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्ने व्यवस्था छ।

शिक्षा कार्यालयमा पनि निमित्तकै भरमा

कालिकोट जिल्लाको शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालय पनि अहिले निमित्त कार्यालय प्रमुखको भरमा चलिरहेको छ। कार्यालय प्रमुखको एक महिनाअघि बर्दिया सरुवा भएपछी कार्यालय निमित्तकै भरमा चलिरहेको हो।

कर्मचारी आउनै नमान्दा आफूले अफिस चलाउनु परेको निमित्त कार्यालय प्रमुख प्रकाश चन्द्र धितालले बताए। दुर्गममा कर्मचारीलाई  दुर्गम भत्ताको व्यवस्था गरेको भएता पनि कर्मचारी नआउने गरेको उनको भनाइ छ।

प्रकाशित: १९ चैत्र २०७८ ०७:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App