२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

अध्यक्ष र असन्तुष्ट युवाबीच समस्या समाधान गर्ने सहमति

मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवाद गाउँ कार्यपालिका बैठक बोलाएर समाधान गर्ने सहमति भएको छ। गाउँपालिका अध्यक्ष र असन्तुष्ट युवाबीच जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा आउँदो १८ गतेभित्र बैठक गरी आन्दोलनरत युवाको माग सम्बोधन गर्ने विषयमा सहमति भएको हो।

गाउँपालिकामै थप छलफल र कार्यपालिका बैठकसमेत गरी समस्या समाधान गर्ने सहमति भएको सिडिओ माधवप्रसाद ढुंगानाले बताए। ‘अध्यक्ष र असन्तुष्ट युवाबीचको छलफलले गाउँपालिकामा देखिएको विवाद करिब अन्त्य गरेको छ,’ उनले भने, ‘अब गाउँपालिकामै छलफल गरेर र कार्यपालिका बैठक गरी समाधान खोज्न दुवै पक्षको सहमति जुटेको छ।’

प्रशासनमा भएको छलफलमा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले कामदारहरू छनोट नै नगरिएको दाबी गरेको सिडिओ ढुंगानाले बताए। ‘छलफलक्रममा अध्यक्षज्यूले कामदार छनोट नै नगरिएको बताउनुभयो,’ ढुंगानाले भने, ‘तर, साढे ३ सय जनाको मेडिकल जाँच चाँही भइसकेको रहेछ।’

कामदार छनोट प्रक्रियामा असन्तुष्ट युवामध्येका दीपक योङहाङले गाउँपालिका अध्यक्षले कामदार छनोटलाई प्रक्रियामा लैजाने प्रतिवद्धता गरेपछि सहमति भएको बताए। ‘अध्यक्षज्यूले आउँदो १८ गतेसम्ममा कामदार छनोटप्रक्रियामा जाने भन्नुभएको छ,’ योङहाङले भने, ‘त्यतिबेलासम्ममा हाम्रो माग पूरा हुन्छ भन्ने आशा गरेका छौं। हाम्रो माग नै छनोटप्रक्रिया पारदर्शी होस् भन्ने हो।’

फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा सम्झौता भइ यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो। गाउँपालिकाले गत फागुन १६ मा सूचना निकालेर मौसमी कामदारका रूपमा कोरिया जान चाहने युवाबाट आवेदन आह्वान गरेको थियो।

कोरिया जान चाहने चार सय ७७ युवाले गाउँपालिकामा आवेदन दिएका थिए। तिनीहरूमध्ये १ सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो। तर, त्योभन्दा बढी संख्याका युवालाई सुटुक्क फोन गर्दै मेडिकल जाँचमा बोलाइएको भन्दै अन्य युवा आन्दोलित बनेका थिए। आक्रोशित युवाले अघिल्लो सोमबार गाउँपालिकाको कार्यालयमा तोडफोड गर्दै तालाबन्दीसमेत गरेका थिए।

तर, सिडिओ ढुंगानाले अध्यक्षलाई जिल्ला प्रशासनमै बोलाएर छलफल गर्ने आश्वासन दिएपछि गाउँपालिकाको तालाबन्दी गत १३ गते खुलाइएको थियो। त्यहीअनुसार जिल्ला प्रशासन कार्यालयमा छलफल हुँदा आउँदो १८ गतेभित्रमा सहमति जुटाउने निष्कर्ष निस्किएको हो। ‘भरसक यो प्रक्रिया खारेज नगर्ने, बरु प्रक्रिया पुर्‍याएर कामदार छान्नेगरी समाधान खोज्ने सहमति भएको छ,’ सिडिओ ढुंगानाले भने।

प्रकाशित: १६ चैत्र २०७८ १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App