१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

औषधि खरिदमा हिनामिना गर्ने वडाध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

औषधि खरिदमा अनियमितता गरेको भन्दै हुम्लाको सर्केगाड गाउँपालिका–३ का वडाध्यक्ष गजबहादुर रावतसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। औषधि खरिदका लागि गाउँपालिकाबाट आएको रकम हिनामिना गरेको आरोपमा वडाध्यक्षसहित ४ जनाविरुद्ध ८ लाख रुपैयाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो।

औषधि खरिदका लागि आएको रकमको कम औषधि खरिद गरेको र बाँकी औषधि नकिनेर हिनामिना गरेको भन्ने उजुरी परेपछि आयोगले छानविन गरेको थियो। छानविनपछि व्यक्तिलाई लाभ हुने र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने बदनियतले औषधि खरिद तथा ढुवानीको नक्कली विल भरपाई तयार गरेको, विभिन्न व्यक्तिहरुले रकम बुझेको भरपाई बनाई, प्राप्त विल भरपाईको सत्यतथ्य जाँच नगरी भुक्तानीको लागि सिफारिस गर्नुले नेपाल सरकारलाई गैरकानुनी लाभ वा हानी पुर्‍याउने बदनियतले कागत तयार गरेको उल्लेख छ। औषधि खरिदमा प्रत्यक्ष जोडिएका वडाध्यक्ष रावतसहित गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी‚ गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञेश्वर पाण्डे र गाउँपालिकाका लेखापाल सुरतबहादुर रेश्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

चार जनालाई भ्रष्टाचार निवारण ऐन‚ २०५९ को दफा ८ को उपदफा (१) को (ङ) मा व्यवस्था भएबमोजिमको कसुरमा ८ लाख बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) मा उल्लेख भएबमोजिमको अधिकतम कैंद र खुल्न आएको विगो प्रतिवादीहरुबाट असुलउपर गरी विगोबमोजिम जरिवाना समेतको मागदावी गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले विज्ञप्तीमा उल्लेख गरेका छन्।

प्रकाशित: १२ चैत्र २०७८ १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App