५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जिल्लाभर अवैध मदिरा बरामद

मदिरा बरामदपछि नष्ट गर्दै दैलेख प्रहरी। तस्बिरः गोविन्द/नागरिक

दैलेख प्रहरीले ब्यापक रुपमा जिल्लाभर अवैध घरेलु मदिरा बरामद गर्न थाले संगै मुद्दाहरुको संख्या पनि घटेको छ। मदिरा सेवनबाट हुने झै झगडाहरु कम देखिन थालेको दैलेख प्रहरीले जानकारी दिएको हो।

यसअघि घरेलु मदिरा उत्पादन नगर्न प्रहरीले जिल्लाभर सूचना जारी गरेर हिँडेको थियो। अटेर गरेर मदिरा उत्पादन गर्ने र बिक्री गर्नेहरुमाथि जिल्लाभर रहेका अस्थाई प्रहरी चौकी, प्रहरी चौकी र ईलाका प्रहरी कार्यालयबाट ब्यापक रुपमा प्रहरी खटिएर छापा मार्ने गरेको हुन्। प्रहरीले मदिरा उत्पादन गर्ने भाँडाहरुदेखि उत्पादन गर्दा प्रयोग गरिने सामानहरु समेत बरामद गरेको छन्।

विगतमा मदिरा सेवन गरि घरपरिवारका सदस्यहरुलाई कुट्ने तथा गाली बेइजती गर्ने मुद्दाहरु बढी आउने गरेकोमा प्रहरी मदिरा नियन्त्रण अभियान थाले संगै गाउँघरहरु शान्त हुन थालेको प्रहरीको भनाइ छ। विशेष गरी मदिरा सेवनबाट महिलाहरुमा घरेलु हिंसाका घटना बढी हुने गर्दथ्यो।

‘अवैध मदिरा बरामद गर्न प्रहरी जिल्लाभर सक्रिय भएर लागेको छ’, दैलेखका प्रहरी प्रमुख (डिएसपी) भवनेश्वर साहले भने, ‘मदिरा नियन्त्रण अभियानसंगै मदिराकै कारण हुने घरेलु हिंसामा समेत कमी आएको छ।’ दैलेख सदरमुकाम आसपासदेखि गुराँस, भैरवी, ठाटीकाध, डुंगेश्वर, महावु गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका लगायत ११ वटै स्थानीय तहमा मदिरा नियन्त्रण र सचेतनाका कार्यक्रमहरु प्रहरी सक्रिय भएर गरेको छ। प्रहरीले स्थानीय जनप्रतिनिधिसंग समन्वय गरेर अवैध मदिरा उत्पादन र बिक्री गर्ने पसल तथा घरहरुमा छापा मार्ने गरेका छन्।

स्थानीय जनप्रतिनिधिको सहयोगमा प्रहरीले अवैध मदिरा बरामद गरेर नष्ट गर्ने गरेको हो। घरेलु मदिरा उत्पादन गरेर जिविकोपार्जन गर्ने परिवारलाई वैकल्पिक आयआर्जनका लागि पालिका तथा वडाबाट कार्यक्रम बनाएर दिने जनप्रतिनिधिहरुले बताएका छन्।

प्रकाशित: २४ फाल्गुन २०७८ १३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App