८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङ अस्पतालमा प्रवेश गरेको भालुलाई सुरक्षित बासस्थान छाडियो

ताप्लेजुङस्थित डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको भालुलाई सुरक्षित बासस्थानमा छोडिएको छ। नियन्त्रणमा रहेको पाँच दिनपछि डिभिजन वन कार्यालयले हिमाली कालो भालुलाई सुरक्षित बासस्थान (जङ्गल) मा छोडेको हो।

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख सहायक वन अधिकृत ललितकुमार यादवले नियन्त्रणमा रहेको भालुलाई सोमबार बिहान सबेरै सुरक्षित बासस्थानमा छोडिएको जानकारी दिए। सहायक वन अधिकृत यादवका अनुसार भालुलाई सुरक्षित बासस्थानका लागि जिल्लाकै एक जङ्गल (वन) मा पुर्‍याएर सकुशल छोडिएको छ।

गएको बिहीबार राति उक्त भालु सदरमुकाम फुङ्लिङस्थित जिल्ला अस्पतालमा प्रवेश गरेको थियो। जिल्ला अस्पतालको प्रसूति भवनमा अचानक पसेको सो भालुलाई प्रहरी र अस्पतालका कर्मचारीले प्रसूति कक्षकै एक कोठामा थुनिदिएका थिए।

अस्पतालमा थुनिएको भालुलाई आइतबार मात्रै राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीको उपस्थितिमा लठ्याउने (बेहोस बनाउने) सुई लगाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय लगिएको थियो। राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु भेटेरिनरी प्राविधिक किरणराज रिजाल नेतृत्वको टोलीले भालुलाई लठ्याएर अर्थात बेहोस बनाएको थियो।

बेहोस बनाई फलामे खोरमा लगाएर डिभिजन वन कार्यालयमा राखिएको भालुलाई चितवनबाट आएको प्राविधिक टोलीकोसमेत परामर्श लिएर सुरक्षित जङ्गलमा छोडिएको सहायक वन अधिकृत यादवले बताए। बासस्थानमा छोड्नुअघि रिजाल नेतृत्वको प्राविधिक टोलीले पनि उक्त भालको गतिविधि र व्यवहारबारे अध्ययन गरेको थियो।

यस्तै जिल्ला अस्पतालमा थुनेर राखिएको समयमा पनि ३ दिनसम्म कञ्चनजङ्घा संक्षरण क्षेत्र कार्यालयका संरक्षण अधिकृत रमेशकुमार यादव लगायतबाट भालुको व्यवहारको निगरानी साथै अध्ययन भएको थियो।

भालुको व्यवहारअनुसार उद्दारका लागि सुरक्षित बासस्थानमा छोड्नु नै उचित भएको संरक्षण केन्द्रका वन्यजन्तु भेटेरिनरी प्राविधिक रिजालको भनाइ छ। यसरी छोडिएको वयस्क पोथी हिमाली कालो भालु रहेको छ। भालुको तौल अन्दाजी ७० किलोग्राम र लम्बाई पाँच फिट लम्बाइ रहेको थियो।

प्रकाशित: २३ फाल्गुन २०७८ १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App