२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

विद्यालयमा तोडफोड गर्नेमाथि कारबाहीको माग

रौतहटको सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा भएको तोडफोडमा संलग्नमाथि कारबाहीको माग गरिएको छ। समाजवादी विद्यार्थी युनियन रौतहट र जुद्ध माध्यमिक विद्यालयले विद्यालयमा तोडफोड गरी महत्वपूर्ण कागजपत्र नष्ठ गर्नेमाथि कडा कारबाहीको माग गरेका हुन्।

युनियनले जिल्ला प्रशासन कार्यालय रौतहटलाई आइतबार ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग गरेको हो। साथै गौर नगरपालिका, नेपाल पत्रकार महासंघ, जिल्ला प्रहरी कार्यालय रौतहट र नेपाल शिक्षक महासंघलाई पनि ज्ञापनपत्र बुझाउँदै युनियनले विद्यालयको भौतिक संरचनालाई तोडफोड गर्नेमाथि कारबाही हुनुपर्ने माग गरेको हो। गत शुक्रबार दिउँसो विद्यालयमा तोडफोड भएको थियो।  

विद्यालय कक्षा संचालन भइरहेको समयमा विद्यार्थी नेता आशिश झा तथा नेपाल विद्युत प्राधिकरण गौरमा कार्यरत कर्मचारी रवि मिश्रा भन्ने दिनबन्धु मिश्राले विद्यालयको द्वारपाललाई नियन्त्रणमा लिएर विद्यालयमा प्रवेश गरी विद्यार्थीलाई उचालेर विद्यालयमा तोडफोड र आगजनी गरेको विद्यालयले जनाएको छ। विद्यालयको प्रशासन कोठा, बालबालिकाको कक्षा कोठा र लाइब्रेरी कोठाका साथै विद्यालयमा रहेका सम्पूर्ण किताब विद्यार्थीबाट लुट्न लगाएको विद्यालयले जनाएको छ।

यसै गरी हुलहुज्जत गर्ने समूहले स्टोर रुपमा रहेका अभिलेखहरु, दराज, फर्निचर, कुर्सी, टिभी, टेबुल, धारा, पानी ट्यांकी, जिन्दी, विद्यालय व्यवस्थापन समितिको कक्ष, सिसिटिभी, कम्प्युटर, झ्याल, ढोका, पंखालगायतका सामानहरु तोडफोड गर्नुका साथै अभिलेख कोठामा आगो लगाई, प्रधानाध्यापकदेखि शिक्षकहरुसमेतमाथि हातपात र अन्य दुव्र्यवहार गरेको विद्यालयले जनाएको छ। विद्यालयको कार्यालय सहयोगीसित हुलहुज्जत गर्ने समूहले विद्यालयको साँचो पनि खोसेर लगेको जनाउँदै विद्यालयले अनिश्चितकालको लागि पठनपाठन बन्द भएको सूचना नै जारी गरेको छ।  

विद्यालयका शिक्षकमाथि बारम्बार दुव्र्यवहार हुन थालेपछि शिक्षक तथा कर्मचारीहरुले दीर्घकालीन समाधान खोजेका छन् र तत्काल घटनामा संलग्नमाथि कडाभन्दा कडा कारबाही नहुँदासम्म विद्यालयमा उपस्थित नहुने सार्वजनिक सूचना नै जारी गरेका छन्।

देशकै पुराना विद्यालयमा पर्ने जुद्ध मावि गौरमा अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीसित शुल्क असुल गरेको भन्दै विगत केही वर्षदेखि विवाद हुँदै आएको छ। गौर नगरपालिकाले विद्यालयका कुनै किसिमको शुल्क लिन नपाउने निर्देशन जारी गरिसकेको छ।

विद्यालयमा अंग्रेजी माध्यममा पढाउने केही शिक्षकहरु विद्यार्थीबाट उठ्ने शुल्कबाट नै तलब खाँदै आएका थिए। विद्यालयमा शुल्क उठाउन बन्द भएपछि शिक्षकको अभाव देखिएको छ। गौर नगरपालिकाले जुद्ध माविमा शिक्षकको व्यवस्थापन गर्न नसक्दा र विद्यालयको समस्या समाधानमा असफल भइरहँदा निरन्तर विवाद भइरहेको छ।

प्रकाशित: २२ फाल्गुन २०७८ १२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App