जुम्लाको गुठिचौर गाउँपालिका ४ की ४८ वर्षीया देउली जैसी घरको काम सकाएर बचेको समयमा गिटी फोड्छिन्। उनी दैनिक एक हजार रुपैयाँ कमाउँछिन्। उनी घरको काम पनि छुटाउँदिनन्। बचेको समय पनि सदुपयोग गरेर गिटी फोड्छिन्। अहिले रुपैयाँ कमाउनकै लागि अधिकांशका छोरा,श्रीमान कालापहाडमा छन्। उनले भनिन्,’म घरमै बसेर उनीहरु भन्दा बढि कमाउँछु। परिवार संगै रमाउँछु।’
दुई वर्षदेखि उनले गिटी फोड्न थालेकी हुन। देउलीलाई ५१ वर्षिय श्रीमान पुर्ण जैसीले साथ दिने गरेका छन्। घरको काम सकाएर उनी गुठिचौर गाउँपालिका नजिकै गिटी फोडिरहेको अवस्थामा भेटिन्छिन्। ती छोरी,दुई छोराको लत्ताकपडा र पढाइ खर्च पनि गिटी बेचेर कमाएको रकमले धानेको अनुभव उनको छ।
जैसी दम्पतीले गिटी फोडेर बार्षिक दुई लाख रुपैयाँसम्म कमाउँछन्। कमाएको पैसा छोराछोरीको पढाइ तथा घर खर्चमा लगानी गछौँ, पुर्णले भने,‘बचेको रकम बैंकमा जग्गा गर्छौ।’उनका दम्पतीसँगै दर्जनभन्दा बढी महिला गिटी फोडेर जीविकोपार्जन गरिरहेका छन्। उनीहरु सबैको कमाई राम्रै हुने गरेको छ।
अर्की हरिमाया सार्की दूधे बालक च्यापेर गिट्टी फोड्न व्यस्त छिन्। बच्चाको हेरचाह गर्दै काम गर्दा पनि दैनिक ७ सयदेखि एक हजार रुपैयाँसम्म कमाइ हुन्छ। निरन्तर चार दिन गिटी फोड्दा एक ट्याक्टरको टर्लि भरिन्छ। ठेकेदारले एक ट्याक्टर टर्लिको तीन हजार पाँच सय रुपैयाँदेखि चार हजार रुपैयाँसम्म दिन्छन्।
उनीहरुले फोडेको गिटी जुम्लाको प्रमुख व्यापारिक केन्द्र मानिने खलंगा र तथा गुठिचौर गाउँपालिका भित्रमा खपत हुन्छ। बजारमा भन्दा गाउँमै अहिले धमाधम पक्की घर तथा सरकारी भवन निर्माण भइरहेकाले उनीहरुले तयार पारेको गिटीले राम्रो मूल्य पाएको छ।
झट्ट हेर्दा यो क्षेत्र गिटीउत्पादन गर्ने उद्योगजस्तै देखिन्छ। यहाँ लस्करै लागेर महिलाले गिटी फोडिरहेका हुन्छन्। दिनभर सरकारी कार्यालय तथा अन्य काममा व्यस्त रहने पुरुषले बिहान बेलुका उनीहरुका लागि खानीबाट ढुङ्गा निकाली दिने गरेका छन्। गिट्टी कुटेर कमाएको पैसा विशेषगरी छोराछोरीको पढाइमा लगानी गर्ने गरेको गुठिचौर ४ का वडाध्यक्ष जग्गी प्रसाद जैशीले बताए।
गिटी कुट्ने अधिकांश महिलाको श्रीमान्,छोराहरु विदेशमा छन्। उनले भने,‘उनीहरुले कमाएको पैसाले घर खर्च गर्छन्। श्रीमानले कमाएको पैसा बचत गर्छन्। गिटी कुट्ने महिला सबैको घर जस्तापाताले छाएको छन्। कतिपयले अनेत्र घरघडेरीसमेत जोडेको स्थानीयवासी बताउँछन्। गिटी कुट्ने महिला आफूले गरेको काम प्रति गर्व गर्छन्। उनीहरु लजाउँदैनन्। उनले भनिन्, ‘आफ्नो खाएर काम गर्नु पर्छ, किन लजाउनु? आफू त सानैदेखि दुख गरेको मान्छे। समयको सदुपयोग पनि हुने कमाइ पनि हुने भएपछिनिकै राम्रो मानेकी छु।’
धन कमाउन विदेश नै जानुपर्छ भन्ने सोच बनाएका युवापुस्ताको लागि यी महिला उदाहरणीय बनेका छन्। उनीहरुले बिना लगानी विदेशमा १२ घण्टा खट्ने पुरुष भन्दा बढी आमदानी गर्दै आएका छन्। यहाँ फोडिने गिटी अन्य क्षेत्रमा उत्पादन हुने गिट्टी भन्दा गुणस्तरीय भएकाले पनि अधिक मात्रामा खपत हुने गरेको छ।
एक दिन गिटी नफोड्दा परिवारको रोजीरोटी नै संकटमा पर्ने अवस्था भएपनि ५७ वर्षीया गोइली नेपाली गिटी फोर्न निकै सक्रिय छिन्। उनले ढुंगा संग खेल्ने काम रहर नभएर बाध्यता भएको सुनाईन। घरमै बसेर रमाउने इच्छा त थियो। भोको पेटले मान्दैन। काम नगरेर खान पुग्दैन। उनले भनिन्,‘छोराछोरी भोक लाग्यो भन्दा कहाँ गएर माग्ने? अहिले गिटी फोड्न थालेपछि निकै सहज बनेको छ।
प्रकाशित: १५ फाल्गुन २०७८ ०९:५१ आइतबार