१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

खुम्चिँदो खच्चड व्यवसाय

कर्णाली राजमार्ग सञ्चालन आउनु अघि जुम्लामा खच्चड व्यवसाय नै ढुवानीको एक मात्र माध्यम थियो। खच्चडलाई कतै हिमाली ट्रक त कतै कच्चीसडकको ट्याक्टर भनिन्थ्यो। बजारदेखि गाउँसम्म सामान ढुवानी गर्ने साधन थिए। पछिल्लो समयमा गाउँ-गाउँमा सडक पुगेपछि खच्चड व्यवसाय खुँम्चिएको छ।  

साघुँरो बाटोमा दुई तिर बोरा बोकाएर घण्टी बजाउँदै गाउँ सम्म सामान ढुवानी गर्ने गरेको तिला ९ का खच्चड व्यवसायी मुनबहादुर थापाले विर्षेका छैनन्। उनले अहिले पनि चारपाँच घर पालेर नजिकैको सीतानगर बजारदेखि सामान लैजान्छन्। उनले भने,‘पहिले खच्चड व्यवसाय निकै राम्रो थियो। तर अहिले सडक सञ्जालको विस्तार संगै खच्चड लोभ हुने अवस्थामा पुगिसकेका छन्।’

ढुवानीका लागि उत्कृष्ट र भरपर्दो माध्यम भए खच्चड नै थिए। सवारी साधनहरुको प्रयोग र गाडी गुड्ने सडक बनेपछि खच्चडमा ढुवानी गर्दा निकै महंगो पर्न गयो। जसकारण किसानले खच्चड पाल्न छाडे। गुठिचौर गाउँपालिका १ गडिगाउँका राजकुमार थापाले २०५९ देखि २०६६ सम्म खच्चडमा सामान ढुवानी गर्ने व्यवासय थाले। उनको कमाई पनि राम्रै भएको थियो। उनले कमाईसंगै सेवा पनि दिइरहेका थिए। तर पछि सडक सञ्जाल विस्तार सँगै ढुवानीका लागि खच्चडको माग कम हुन थाल्यो।

अहिले त्यो व्यवसायबाट उनी अलग्गीए। उनले भने, ‘अहिले जब म खच्चड देख्छु। तब विगतको याद आउँछ। मलाई व्यवसायमा लाग्न प्रेरित गर्ने साधन नै खच्चड थिए।’ खच्चड व्यवसायले गरेको फाइदा उनका लागि भविष्य निर्माण गर्ने आधार बन्यो। अहिले उनले आफ्नो घरको सामान ढुवानी गर्नको लागि मात्रै खच्चड पालन गरेका छन्। पहिले कर्णालीका विभिन्न हाट बजारबाट भारी बोकिन्थ्यो तर अहिले गाउँमा मोटरबाटो पुगेपछि ढुवानीसमेत पाँउदैनन्।

सबै ट्क्याक्टर, जीपले नै घरघरमा सामान पुर्‍याउँछ। यसले गर्दा खच्चड पाल्न समेत धौ धौ भएको छ, गुठिचौर गाउँपालिका २ कुडी गाउँका खच्चड व्यवसायी राजवहादुर बोहोराले खच्चड व्यवसाय निकै संकटमा छ। अहिले गाउँमा खच्चडलाई घाँस दाउरा बोकाउने,मोटर बाटो नपुगेको वस्तीसम्म सामान ओसार्न प्रयोग गर्ने, घर निर्माण गर्ने क्षेत्रमा ढुंगा खच्चडबाट बोकाउने कार्य गरिदैं आएको छ। कतै-कतै जडिबुटी, मल, सिमी आलु, मकै, दाउरा बोकाउने गरिन्छ।

सस्तो र छिटो हुने भएपछि गाउँका व्यवसायीहरु समेत यातायातका साधन प्रति आकर्षित हुन थालेपछि खच्चड विस्थापित हुन थालेका हुन्। खच्चड बिक्री गर्न खोज्दा बिक्री हुँदैन। लामो समय पालेर राखेको खच्चडको माया लाग्छ। गाउँमा नै घाँस दाउरा बोकाउने काम गर्ने गरेका छौं, राजबहादुरले भने, ‘खच्चड व्यवसाय धरापमा पर्दा निकै मर्का त छ। तर खच्चड पाल्न छोडिएको छैन।’ संघीय व्यवस्था कार्यन्वयन संगै गाउँमा पुगेका सिंहदरबारले पाँच बर्ष सडकलाई नै प्राथमिकता दिए।

जिल्लाको ८ पालिकामा रहेका ६० वडामा सडक जोडिएको छ। गुठिचौर ३ का गंगाराम गिरीले भने,‘ सडक सञ्जालको पँहुच पुगेका क्षेत्रमा खच्चडको प्रयोग हुने कुरो भएन। अहिले त खच्चड व्यवसायबाट जीविकोपार्जन गर्नेहरु नैे विस्थापीत हुनुपर्ने अवस्था आइपुग्यो।’ सामान बोकेर हिडेको खच्चड नदेखेको पनि धेरै भयो, गंगारामले थपे, ‘पुरानो समयको निकै महत्वपूर्ण ढुवानीको साधन खच्चड अहिले आएर एकादेशको कथा जस्तै बनेको जस्तो लाग्छ।'

बस्नेतले आफ्नो व्यापार व्यवासय सञ्चालन गर्नका लागि दर्जन बढि खच्चड पाल्ने गर्थे। खच्चड पाल्ने नै गाउँका हुने खाने कहलिन्थे। सडक सञ्जाल विस्तार हुँदै गएपछि खच्चडको व्यवसाय खुँम्चिदै गयो। २०७० पछि यहाँ पालिका खच्चड विकाउन थाले। अहिले खच्चड चलेको बिरलै पाइन्छ।    

प्रकाशित: ४ फाल्गुन २०७८ ११:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App