कुनै जमाना थियो फाल्गुन १ गते बिहानै माओवादी कार्यकर्ताहरु हात हातमा टिका बोकेर बजारदेखि बसपार्क पुगेका यात्रुसम्मको निधारमा टिका लगाउँथे। सहर गाउँ उल्लास पूर्ण हुन्थे। टोल टोलमा विभिन्न कार्यक्रम हुन्थे। सहिदका तस्बिर र सालिकमा अबिर माला झुण्डिएका हुन्थे।
माओवादीले भन्ने गरेको जनयुद्ध दिवस २६ वर्ष पार गर्दा औपचारीकतामा सिमित हुने गरेको छ। माओवादी द्वन्द्वको उद्गम थलो रोल्पाको होलेरी जस्तै सदरमुकाम लिवाङ पनि सुनसान रह्यो। सहिदको नामावलीसहित टुँडिखेलमा ठडिएको शान्ती स्मारकले फुलको थुङ्गा समेत पाएन।
त्यसो त रोल्पाको होलेरीमा रहेको अर्को शान्ती स्मारकमा पनि कुनै चहल पहल देखिएन। ९ सय ६९ सहिद रहेको रोल्पामा द्वन्द्वपीडितका घरमा आजको दिवसले कुनै प्रभाव पारेन। ‘जनयुद्धले नेपालमा सर्बाहाराको मुक्तिका लागि ढोका खोल्यो। दिवस बिर्सेको हैन। गाउँतिर कार्यक्रम भईरहेको छ।’ माओवादी लडाकुका पूर्व कमाण्डर राजबहादुर बुढा 'अबिनास' भन्छन्।
माओवादी केन्द्रका रोल्पा अध्यक्ष सुरेन्द्र थापा घर्तीका अनुसार पार्टी कार्यालयमा शुभकामना आदान प्रदान गरेर जनयुद्ध दिवस मनाईएको छ। जिल्ला स्तरका एक माओवादी नेताका अनुसार ‘माओवाद भुलेका माओवादीले जनयुद्ध दिवस भुल्नु ठुलो कुरा होईन।’ उनि भन्छन् ‘पद र स्वार्थले माओवादी नेतृत्वमा बिचलन आईसकेको छ।’
लामो समय छापामारका रुपमा युद्ध लडेका एक लडाकु भन्छन् ‘जनयुद्ध दिवस रोल्पालीका लागि कागलाई बेल’ जस्तै भएको छ। उनका अनुसार ‘नेतृत्वमा आएको बिचलनसंगै स्थानीय स्तरका नेता कार्यकर्तामा पनि स्वार्थले जरा गाडिसकेको छ। कोहि कसैको सहिद, बेपत्ता परिवार र घाईते अपाङ्ग संग सामिप्यता छैन।’
प्रकाशित: १ फाल्गुन २०७८ ११:३२ आइतबार